२०८२ असार २ गते सोमवार / Jun 16 , 2025 , Monday
२०८२ असार २ गते सोमवार
Ads

रहेनन् पूर्वमन्त्री शास्त्री

shivam cement
मध्यान्ह
२०८२ असार २ गते १७:०८
रहेनन् पूर्वमन्त्री शास्त्री

कठमाडौं :नेपाली कांग्रेसका पुराना नेता एवं पूर्वमन्त्री ढुण्डिराज शास्त्री (पौड्याल)को निधन भएको छ । सोमबार बिहान काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा उनको निधन भएको हो ।

वि.सं. १९९३ सालमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–८, निमडाँडामा जन्मिएका शास्त्री २०४८ र २०५१ सालको आमनिर्वाचनमा कांग्रेसबाट अर्घाखाँची निर्वाचन क्षेत्र नं. २ बाट विजयी भएका थिए । उनी उद्योग तथा श्रममन्त्री भएका थिए । शास्त्रीले २०१० सालतिर बनारसमा पढ्दादेखि नै कांग्रेस राजनीतिमा सक्रियता जनाएका थिए । भूमिगत अवस्थामा रहेर उनले राजनीतिक कमान्ड सम्हालेका थिए ।

शास्त्रीले गत वर्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदान गर्ने बीपी कोइराला राष्ट्रिय पुरस्कार प्राप्त गरेका थिए । 
शास्त्री अर्घाखाँचीका लोकप्रिय नेता थिए । बीपी कोइरालाका अनुयायीका रूपमा उनी समाजवादका व्याख्याता तथा समाजवादी चिन्तक मानिन्थे । २०४६ पछिको कांग्रेस राजनीतिमा गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहका समकक्षी नेता शास्त्री नै थिए । त्यतिबेला कांग्रेसका प्रभावशाली नेता शास्त्रीका निकट र भरपर्दा कार्यकर्ता शेरबहादुर देउवा थिए ।

२०५० सालमा शास्त्रीले नेपालका पाँच विकास क्षेत्रलाई आधार मानेर संघीयता घोषणा गर्ने प्रस्ताव ल्याएका थिए । तर २०५६ सालको आमनिर्वाचनमा अर्घाखाँचीबाट टिकट खोसिएको थियो । कांग्रेसको अर्घाखाँची संगठनमा लोकप्रिय नेताका रूपमा चिनिएका शास्त्री ११औँ कांग्रेस जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए ।

शास्त्रीका श्रीमती, दुई छोरा र दुई छोरी छन् । उनका दुई छोरा विदेशमा रहेका कारण उनीहरू आएपछि मात्रै दाहसंस्कार गरिने छ ।

ADV

सम्बन्धित खबर

Advertise