२०८२ असार ३ गते मङ्गलवार / Jun 17 , 2025 , Tuesday
२०८२ असार ३ गते मङ्गलवार
Ads

मिडियाविरुद्धका गतिविधि रोक्न मिडिया अलाइन्स नेपालको ऐक्यबद्धता

shivam cement
मध्यान्ह
२०८२ असार २ गते २१:४७
मिडियाविरुद्धका गतिविधि रोक्न मिडिया अलाइन्स नेपालको ऐक्यबद्धता

काठमाडौं : नेपालका प्रमुख सञ्चार माध्यमका सञ्चालकहरूको साझा संस्था मिडिया अलाइन्स नेपालले मिडियाविरुद्ध भइरहेका गतिविधि रोक्न ऐक्यबद्धता जनाएको छ । 

अलाइन्सका प्रतिनिधिमण्डलले नेपाल रिपब्लिक मिडिया नेतृत्वसँग सोमबार छलफल गरी मिडियाविरुद्धका भइरहेका गतिविधि रोक्न ऐक्यबद्धता जनाएको हो ।  

नेपाल रिपब्लिक मिडियाका निर्देशक शोभा ज्ञवालीलाई परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले सञ्चार संस्था र यसका सञ्चालकलाई धरासायी गराइदिने भनी धम्की दिएको घटनाबारे बुझ्न र ऐक्यबद्धता जनाउन अलाइन्स टोली रिपब्लिकको कार्यालयमा पुगेको थियो । 

अलाइन्स अध्यक्ष भाष्करराज राजकर्णिकार, आर्थिक दैनिकका प्रकाशक प्रह्लाद रिजाल र राजधानी दैनिकको प्रकाशन संस्था राजधानी न्युज पब्लिकेसन्सका अध्यक्ष सचिन सेरचन संस्थाको प्रतिनिधित्व गर्दै नेपाल रिपब्लिक मिडियाको सुन्धारास्थित मुख्यालयमा पुगेको थियो । 

छलफलका क्रममा उनीहरूले पछिल्लो समय आम सञ्चार माध्यममाथि भइरहेको प्रहारविरुद्ध ऐक्यबद्धता जनाएका छन् । पत्रकार दिलभूषण पाठकमाथि भएको गिरफ्तारी वारेन्ट जारी, दुई अनलाइन माध्यम नेपालखबर र बिजमाण्डूविरुद्ध भएको समाचार हटाउने अदालती आदेशलगायतका घटनाक्रम समग्रमा प्रेसमाथि भइरहेका आक्रमणको विषयमा समेत सो क्रममा छलफल भएको थियो । 

छलफलका क्रममा समग्र सञ्चार जगतमा देखिएका समस्या, यसमाथि भइरहेका प्रहारविरुद्ध भावी रणनीति बनाउन सबैबीच छलफल आयोजना गर्नुपर्ने आवश्यकतासमेत औंल्याइएको छ । 

मुलुकको लोकतान्त्रिक आन्दोलनमा प्रेसजगतले गरेको योगदानलाई बेवास्ता गर्दै यसविरुद्ध योजनावद्ध ढंगले भइरहेका आक्रमणप्रति सतर्क हुनुपर्ने अवस्थाबारे पनि छलफल भएको छ । रिपब्लिक मिडियाका अध्यक्ष विनोदराज ज्ञवाली, निर्देशक शोभा ज्ञवालीले घटनाबारे जानकारी गराएका थिए । 

ADV

सम्बन्धित खबर

Advertise