२०८२ जेठ २२ गते बिहिवार / Jun 05 , 2025 , Thursday
२०८२ जेठ २२ गते बिहिवार
Ads

जनताले राजा खोजेका होइनन्

२०८२ जेठ २० गते ०६:००
जनताले राजा खोजेका होइनन्

–नरेन्द्रमान श्रेष्ठ

हाम्रो समाजमा एउटा उखान छ भनाइ छ– मर्ने बेलामा हरियो काँक्रो । हाम्रा पुर्खाले देश काल परिस्थिति र भविष्यमा हुनसक्ने विषयलाई ध्यानमा राखेर उखानहरू बनाएको हो भन्दा पनि फरक नपर्ला । ‘मर्ने बेलामा हरियो काँक्रो’ भन्ने उखान पछिल्लो समयमा राजनीतिकर्मीहरूलाई लक्षित गरेर बनाएको हो जस्तो लाग्छ । अहिले ७८ वर्षको वृद्धलाई पनि प्रधानमन्त्री बन्न रहर छ । ५ पल्ट प्रधानमन्त्री भइसके पनि ६ पल्ट प्रधानमन्त्री बन्न पालो कुरेर बसिरहेका छन् । त्यसैगरी, ७३ वर्षको अर्का अस्वस्थ वृद्धलाई पनि प्रधानमन्त्री बनिरहनु पर्ने रहर छ । उनलाई पार्टी अध्यक्ष पनि अहिले मात्रै होइन, अझै २० वर्ष बन्ने रहर छ । उमेर वृद्ध भत्ता लिएर आफ्ना नाति नातिनीहरूसँग खेलेर बस्न पर्ने हो । तर, यो उमेर सकी नसकी नेताहरू प्रधानमन्त्रीको कुर्सीमा बस्न दौडमा छन् । सायद, यही र यस्तै दौड देखेर होला केही राजा फर्काउनुपर्छ भन्दै छन् । 

त्यसो त देशमा विकास भएन, विकास निर्माणका कामहरू भएनन्, उद्योगहरू बेचियो, भ्रष्टाचार बढ्यो, नातावाद, कृपावाद बढे, सत्ताको लागि चलखेलहरू भए, राजनीतिक दलहरू सत्ताको वरिपरि नै घुमिरहे जस्ता आरोपहरू नाजायज देखिन्नन् । विगत राजसंस्था निकटस्थले यसैगरी दोहन गर्थे भने अहिले निश्चित नेता र तिनका निकटस्थले दोहन गरेका छन् । तर, राजा आउँदैमा फेरि विसङ्गति हट्ने भन्ने चाहिँ कदापि होइन । स्पष्ट हुँदा हुन्छ, यदि राजा आए भने विसङ्गति थपिने हो । किनकि विसंगतिको अर्को ठूलो पहाड त्यही राजसंस्थाभित्र छ । 

देश हाँक्ने त यी राजनीतिक दलहरू र यी नेताहरू नै हुन् । यसमा दुबिधा छैन । तर, के नेताहरू नयाँ राजा हुन् त ? कि राजाको विकल्प हुन् ? जनताले राजसंस्थाको विकल्पको रूपमा उस्तै नेताहरू जन्माउन खोजेका पक्कै होइनन् । ज्ञानेन्द्र शाहको विकल्पमा अर्को श्री ३ खोजेका होइनन् । जनताले खोजेको जनताको नेता हो । जुन नेता जनताको लागि बफादार भएर काम गर्छ । इमानदार भएर काम गर्छ । देश र जनताको कल्याणका निम्ति मात्रै काम गर्छ । 

अहिले मुख्यगरी भ्रष्टाचार, कुशासन, बेथितिलाई अन्त्य होस् भन्ने चाहना जनताको छ । जनताले सुसंस्कृत परिपाटी र नेता खोजेका छन् । विगतमा पनि कुनै अमुक नेताका निम्ति यो व्यवस्था रचिएको थिएन । ती सहिदहरूले कुनै नेता विशेषका निम्ति आफ्नो ज्यान हत्केलामा राखेर लडेका थिएनन् । प्रत्येक चरणको आन्दोलनमार्फत जनताले आफ्नो आकांक्षा मनैदेखि व्यक्त गरेका छन् । जुन आकांक्षा हालसम्म पनि सम्बोधन हुन सकेको छैन । जसप्रति जनता असन्तुष्ट छन् । 

तर, यतिबेला व्यवस्थाकै विकल्प खोज्ने गरी देखिएको असन्तुष्टिले समग्र जनताको प्रतिनिधित्व गर्दैन । यी असन्तुष्टि व्यक्त गर्ने समूह निश्चित स्वार्थ समूह र निश्चित पात्रद्वारा परिचालित छ । जसले नेता होइन, विगतको राजा खोजेको छ । जसले अग्रगमन होइन, प्रतिगमन खोजेको छ । त्यसकारण बगेको खोला फर्किँदैन भनेजस्तै इतिहास बनिसकेको कुरालाई कोट्याउनु सही होइन । नेपाली जनताले सबैभन्दा उन्नत र उत्तम विकल्पको रूपमा गणतन्त्र खोजिसकेका छन्, अब विकल्प थप उन्नत गणतन्त्र हो । जनता पछाडि फर्किन्नन्, कसैले फर्किन्छन् भन्ने सोच्छ भने त्यो मूर्खता सिवाय अरू केही होइन । 

ADV

सम्बन्धित खबर