२०८२ जेठ १४ गते बुधवार / May 28 , 2025 , Wednesday
२०८२ जेठ १४ गते बुधवार
Ads

जुम्लाका असिना पीडित स्याउ किसानलाई राहत दिन माग

दिलमाया शाही
२०८२ जेठ १३ गते २१:३०
जुम्लाका असिना पीडित स्याउ किसानलाई राहत दिन माग

जुम्ला : जुम्लामा असिना पीडित स्याउ किसानलाई राहत दिन नेपाली कांग्रेस जिल्ला कार्य समितिले माग गरेको छ । वैशाख र जेठ महिनामा परेको असिनाले  स्याउ खेतीमा पु¥याएको क्षतिबाट किसान पीडित भएको भन्दै उनीहरुलाई राहत उपलब्ध गराउन माग गरेको हो ।

नेपाली कांग्रेसले मंगलबार जिल्ला प्रशासन कार्यालय जुम्लामार्फत प्रधानमन्त्री कार्यालय र मुख्यमन्त्री कार्यालय सुर्खेतमा ध्यानाकर्षण पत्र बुझाउँदै कांग्रेसले असिनाले ८० प्रतिशत उत्पादन नष्ट गरेको बताएको छ ।

उनीहरुका अनुसार ठूलो असिना परी जुम्ली किसानहरुको खेतबारीमा भएको स्याउ लगायतका फलफूलहरु ८० प्रतिशत र भित्र्याउन लागिएको जौ, गहुँसमेत नस्ट भएको छ । 

ध्यानाकर्षण पत्रमा भनिएको छ,‘किसानहरुको मुख्य आम्दानीको स्रोतहरूमा नष्ट भएकोले किसान मर्कामा छन् । सरकारले प्रभावकारी अनुगमन गरेर राहतको व्यवस्थापन होस् ।’

कांग्रेस जुम्लाले स्याउ बीमाको राहत रकमसमेत किसानले पाउन नसकेको बताएको छ । ‘गत वर्षको बीमा रकम किसानले पाएका छैनन्,’कांग्रेस जुम्लाका कार्यवाहक सभापति कार्मा बुढाले भने, ‘यो वर्ष पनि बीमा गरिएको छैन । जसले किसान मर्कामा छन् । सरकारको यसमा ध्यानाकर्षण  गराएका छौं ।’ बीमा कम्पनीहरूले के, कति, कारणले फलफूल बीमाको रकम नदिएका हुन् र बीमा के कति कारणले नगरेका हुन्, यस्ता बीमा कम्पनीहरुलाई कारबाहीको दायरामा ल्याउनसमेत माग गरिएको छ ।

त्यस्तै असिनाबाट पीडित जुम्ली किसानलाई आवश्यक राहतका लागि प्रधानमन्त्रीका ध्यानाकर्षण गरिएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले ध्यानाकर्षण पत्र प्रधानमन्त्री कार्यालय र मुख्यमन्त्री कार्यालयसम्म पठाउने बताए ।उनले भने, ’असिनाले बालीनालीमा क्षति पु¥याएकोमा हामी दुःखी छौं । सबै मिलेर पीडितलाई राहत उपलब्ध गराउनु जरुरी छ ।

ADV

सम्बन्धित खबर