काठमाडौं : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसायीलाई मात्रै कामदार पठाउने अनुमति रहेको भन्दै गैरकानुनीरूपमा वैदेशिक रोजगारमा कामदार पठाए कारबाही गर्ने चेतावनी दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा छापा मारेर कागजात जफत गरी अनुसन्धान सुरु गरिरहेको अवस्थामा विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त चेतावनी दिएको हो ।
विभागले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न वा कुनै पनि नेपाली कामदारलाई कामदारका रूपमा विदेश पठाउन वैदेशिक रोजगार ऐनबमोजिम विभागमा दर्ता भएका संस्थाले मात्र पाउने बताएको छ ।
विभागले हाल शैक्षिक कन्सल्ट्यान्सी, ट्राभल एजेन्सी, तालिम प्रदायक संस्था, भाषा प्रशिक्षण केन्द्र, व्यक्तिलगायतले नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै विज्ञापन गर्ने, त्यसको आधारमा राहदानी र रकम संकलन गर्ने गरेको पाइएको भन्दै गैरकानुनी हिसाबमा वैदेशिक रोजगारीमा पठाउनेहरूलाई टोली खटाइ नियमित तथा आकस्मिक अनुगमन गर्ने जनाएको छ ।
विभागले वैदेशिक रोजगारका राहदानी र अन्य कागजात संकलन गर्ने र नक्कली कागजात तयार गरी विदेश पठाउने गरिएका उजुरी र जनगुनासो दैनिकरूपमा आउने गरेको समेत विज्ञप्तिमा उल्लेख गरेको छ ।
विभागमा संथागत उजुरी घटेको भएपनि व्यक्तिगत उजुरी अस्वभाविकरूपमा बढेको देखिएको छ । सरकारले सामाजिक सञ्जालमा वैदेशिक रोजगारका विज्ञापन गर्न प्रतिबन्ध लगाएपनि आकर्षक र झुटा आश्वासनका विज्ञापन बनाएर बेरोजगार युवायुवतीलाई ट्र्यापमा पार्ने गिरोहहरू सक्रिय देखिएका छन् ।
उनीहरूले यूएईस्थित स्पेनिस कम्पनी र युरोपका क्रोसिया, अल्बानिया, लिथुवानिया, सर्बिया, बेलारूस, रोमानियालगायतका देशमा रोजगारीको अवसर र आवासीय अनुमति (पीआर) ग्यारेन्टी भन्दै आकर्षक भाषा शैलीमा सामाजिक सञ्जालका ह्वाट्सएप र टिकटकमार्फत विज्ञापन गरी ठगी गर्ने गरेकोे पीडितहरू बताउँछन् । यस्ता विज्ञापनबाट प्रभावित भएर युरोपेली मुलुकमा रोजगारीमा जान चाहने युवायुवतीले ठूलो रकम गुमाएका छन् । कतिपयले वैदेशिक रोजगारमा वर्षाैंदेखि कमाएको रकम पनि युरोप पुग्ने आशमा दलाललाई सुम्पिएर बिचल्लीमा परेको देखिएको छ ।
सामाजिक सञ्जालको विज्ञापनमा ठगी गर्ने गिरोहले दुईदेखि तीन हप्तामै काम हुने झुटो आश्वासन बाँड्ने गरेका छन् । सुरुमा ह्वाट्सएपमा जोडिएर थप कुराकानी गर्दै उनीहरूले ‘वर्क पर्मिट’का लागि ह्वाट्सएपबाटै फोटो खिचेर कागजात र रकम माग गर्ने र कतिपयले नेपालमै बैंक खातामा ६ लाख रूपैयाँसम्म जम्मा गर्न लगाउने गरेको पीडितहरू बताउँछन् ।
ठगहरूले अफर लेटर आइसकेको र एक साताभित्र सबै प्रक्रिया पूरा गरी युरोप जान सकिने भन्दै थप रकम पठाउनुपर्ने दबाब दिने गरेको ठगीमा परेका पीडितहरूको भनाइ छ । कतिपयले भिजिट भिसामा यूएई गएका आकर्षक अनुहारका युवतीहरूलाई समेत प्रयोग गर्ने गरेको देखिएको छ । ठगीका अनेक जाल, प्रपञ्च गरेर रकम हात परेपछि ठगी गिरोहले पीडितहरूलाई सामाजिक सञ्जालमा ब्लक नै गरेर सम्पर्कविहीन हुने गरेका कारण अफर लेटरका नाममा रकम पठाउनेहरू बिचल्लीमा पर्ने गरेकोे पीडितहरूको भनाइ छ ।
युरोपको रोजगारीका नाममा काठमाडौंदेखि यूएईसम्म ठगीको सञ्जाल निर्माण हुनुमा नेपाली राजदूतावास र कुटनैतिक नियोगहरू जिम्मेवार रहेकोे र त्यसलाई नियन्त्रण गर्न सुशासन ऐन प्रयोग गरेर वैदेशिक रोजगार विभागमा नै मागपत्र प्रमाणीकरण गरिनुपर्ने व्यवसायीहरूले माग राख्दै आएका छन् ।