२०८२ जेठ ६ गते मङ्गलवार / May 20 , 2025 , Tuesday
२०८२ जेठ ६ गते मङ्गलवार
Ads

बंगलादेशमा मलेसिया सिन्डिकेट पक्षधर र विरोधीबीच झडप

२०८२ जेठ ६ गते ०६:१५
बंगलादेशमा मलेसिया सिन्डिकेट पक्षधर र विरोधीबीच झडप

काठमाडौं : बंगलादेशमा मलेसियाको रोजगारीमा कामदार भर्ना प्रक्रियामा सिन्डिकेट पक्षधर र विरोधीबीच झडप भएको छ । बंगलादेश एसोसिएसन अफ इन्टरनेशनल रिक्रुटिङ एजेन्सीज (बैरा)को एक समूहले मलेसियाली श्रम बजारमा सिन्डिकेटको विरोधमा पूर्वनिर्धारित पत्रकार सम्मेलनको क्रममा आफूमाथि सोमबार बिहान आक्रमण भएको बताएको छ । त्यसक्रममा १० जनाभन्दा बढी घाइते भएका छन् ।

बैराका पूर्वउपाध्यक्ष रियाज–उल–इस्लामको नेतृत्वमा रहेको सिन्डिकेट विरोधी समूहले सोमबार बिहान ढाका रिपोर्टर्स युनिटी (डीआरयू)को हलमा पत्रकार सम्मेलनको तयारी गरेको थियो । उनीहरूले सिन्डिकेट समर्थक समूह पहिले नै त्यहाँ पुगेर आफूहरूमाथि आक्रमण गरेको दाबी गरेका छन् ।

आक्रमणमा परेर बैराका पूर्वसहमहासचिव फखरुल इस्लाम, बैरा सदस्य मुस्तफा महमूद र नजरुल इस्लाम मोनिर घाइते भएका छन् । आक्रमण ‘सिन्डिकेट समर्थक’ बैरा सदस्य र अल अकाबा एसोसिएटका प्रबन्ध साझेदार अतिकुर रहमानले केही बाहिरी व्यक्तिहरूसँग मिलेर गरेको सिन्डिकेट विरोधीहरूले बताएका छन् ।

भर्ना एजेन्सीको सिन्डिकेट हटाउन प्रवासी कल्याण सल्लाहकार आसिफ नजरुलले मलेसियाली सरकारलाई गरेको हालैको प्रस्तावलाई समर्थन गर्न पत्रकार सम्मेलन बोलाइएको थियो । यसको उद्देश्य दुई देशबीचको आगामी संयुक्त कार्य समूहको बैठकमा यस विषयमा अन्तिम निर्णय लिन जोड दिनु पनि थियो ।

सिन्डिकेट विरोधी नेता फखरुल इस्लामले आक्रमण पूर्वनियोजित रहेको र पूर्वबैरा सचिव र सिन्डिकेट मास्टरमाइन्ड रुहुल अमिन, अली हैदर चौधरी र काजी मोफिजको निर्देशनमा भएको दाबी गरेका छन् ।

सिन्डिकेट समर्थकहरूले पनि पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलनको नेतृत्व बैरा सदस्य अतिकुर रहमान र मेसबाह उद्दिन सईदले गरेका छन् । उक्त समूहलाई बंगलादेश नेशनल पार्टी बीएनपी र जमात नामको अर्को दलले समर्थन गरेको बताइएको छ । 

बंगलादेशका लागि मलेसियाली श्रम बजार गत वर्ष जुनदेखि बन्द छ । त्यसलाई पुनः खोल्न वार्ता भइरहेको छ । मलेसिया र बंगलादेशबीचको सन् २०२१ को सम्झौताअन्तर्गत मलेसियाले केबल १०० एजेन्सीहरूलाई अनुमति दिएको छ । बंगलादेशमा हाल दर्ता भएका सबै म्यानपावर कम्पनीहरूलाई कामदार पठाउन समान अवसर पाउनुपर्ने आवाज चर्केको छ ।

सीमित संख्यामा एजेन्सीहरूलाई मलेसियामा सिन्डिकेट भनेर चिनिन्छ, उनीहरूले प्रति कामदार भर्नाको लागत ६ लाख टाका भन्दा बढी असुल गरिरहेका छन् । बंगलादेशका पूर्वअर्थमन्त्री एएचएम मुस्तफा कमल र ३ अन्य अवामी लिग सांसदहरू पनि सिन्डिकेटमा संलग्न रहेको बताइएको छ ।

हालै २३ वटा एजेन्सीहरूको सञ्जाल, बंगलादेश सिभिल सोसाइटी फर माइग्रेन्ट्सले अवामी लिगलाई प्रतिस्थापन गर्दै हालको शक्तिशाली राजनीतिक शक्तिसँग जोडिएको नयाँ सिन्डिकेट गठन गर्ने प्रयास भइरहेको पनि बताइएको छ ।

ADV

सम्बन्धित खबर