२०८२ जेठ ३ गते शनिवार / May 17 , 2025 , Saturday
२०८२ जेठ ३ गते शनिवार
Ads

विभाग अब ‘वर्क परमिट अन द सेम डे’को मोडेलतिर

२०८२ जेठ ३ गते ०६:३०
विभाग अब ‘वर्क परमिट अन द सेम डे’को मोडेलतिर

काठमाडौं : वैदेशिक रोजगार विभागले फेमिसमा सुधार गरी आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गर्ने बताएको  छ । वैदेशिक रोजगार विभागको कार्यालय ताहचलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नवनियुक्त महानिर्देशक कमलप्रसाद भट्टराईले रितपूर्वक अनलाइन दरखास्त फारम प्राप्तपश्चात आवेदन दिएकै दिन श्रम स्वीकृति दिने व्यवस्था कार्यान्वयन गरिने बताए ।

उनले भने, ‘फेमिसमा पटक–पटक समस्या देखियो, यो प्राविधिक हो कि मानवीय भन्ने प्रश्न थियो । केही मानवीय कमजोरी पनि देखियो, तर सबै पक्षमा सुधार गरेर सकेसम्म छिटो गुनासो नआउने गरी कार्यसम्पादन गरिनेछ । आगामी मंगलबारसम्म हामीले सेवाग्राहीलाई अनुभूति हुने गरी ‘वर्क परमिट अन द सेम डे’को मान्यताअनुसार काम गर्ने छौं ।’

विभागले प्रदान गर्ने सेवालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने गरी नवीनतम प्रविधिको सदुपयोग गरी काम गर्ने र वैदेशिक रोजगारीसम्बन्धी ठगी, राहत, उद्धार, अनुगमन र नियमनमा थप प्रभावकारी कदम चाल्ने पनि महानिर्देशक भट्टराईले प्रतिबद्धता जनाए ।

उनले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउन वैदेशिक रोजगारसम्बन्धी कार्य गर्ने अनुमति नलिएका शैक्षिक परार्मश केन्द्र, ट्राभल तथा टिकेटिङ एजेन्सीलगायतलाई कारबाहीको दायरामा ल्याउन अनुगमनलाई तीव्रता दिने बताए । वैदेशिक रोजगारसम्बन्धी उजुरी र गुनासोको तत्काल सम्बोधन गर्ने भन्दै महानिर्देशक भट्टराईले वैदेशिक रोजगार व्यवसायीबाहेक अन्य संस्था वा व्यक्तिले वैदेशिक रोजगारसम्बन्धी विज्ञापन गर्ने, रकम र राहदानी लिएर वैदेशिक रोजगारमा पठाइदिने भनी ठगी गरेको अवस्थामा पीडितको रकम फिर्ता गराउन उजुरीमाथि तत्काल अनुगमन गरी कारबाही अघि बढाइने पनि बताए  ।

विभागको अनुगमनलाई व्यवस्थित बनाउन अनुगमन स्वीकृतिको ढाँचा तर्जुमा गरिरहेको र  उजुरीको संवेदनशीलताका आधारमा आकस्मिक र नियमित अनुगमन गरिने भन्दै महानिर्देशक भट्टराईले विभागमा कर्मचारी अनावश्यकरूपमा अनुगमन भन्दै व्यवसायीका कार्यालय गए अतिरिक्त टोली परिचालन गरी कारबाही गरिने बताए ।

हाल नेपाल सरकारको नागरिक एपमा स्वीकृतिको स्टिकर र वैदेशिक रोजगारीका विज्ञापन मात्र देखिने अवस्थालाई परिमार्जन गरेर उक्त प्रणालीलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरिने उनले जानकारी दिए ।

पत्रकार सम्मेलनमा विभागका उपमहानिर्देशक एवं प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले साइबर सुरक्षा नीति र एआई नीति प्रणालीमा आन्तरिकीकरण गर्न तत्काल कार्यजोजना बनाइ लागू गरिने बताए ।

ADV

सम्बन्धित खबर