–जीवन शर्मा
जलवायु परिवर्तन विश्वका लागि एक साझा चिन्ता बनेको छ । यो वातावरणीय संकट मात्र होइन, आर्थिक, सामाजिक र राजनीतिक पक्षहरूमा समेत गहिरो असर पार्ने बहुआयामिक चुनौती हो ।
पछिल्ला केही दशकहरूमा मानवीय गतिविधिहरू, विशेषतः औद्योगीकरण, वन विनाश र अत्यधिक जीवाश्म इन्धन प्रयोगका कारण पृथ्वीको वातावरणीय सन्तुलन गम्भीर रूपले प्रभावित भएको छ । यसको परिणामस्वरूप तापक्रम वृद्धिदेखि लिएर समुद्री सतहको वृद्धिसम्म, चरम मौसम घटनाहरू, वन्यजन्तु तथा जैविक विविधतामा गिरावट र खाद्य सुरक्षा संकटसम्मका गम्भीर असरहरू देखापरेका छन् ।
वातावरणीय सन्तुलनमा आएको असन्तुलनको एक प्रमुख संकेत भनेको वैश्विक तापक्रम वृद्धि हो । वैज्ञानिक अनुसन्धानहरूअनुसार पृथ्वीको सतहको औसत तापमान १९औं शताब्दीदेखि अहिलेसम्म झन्डै १ दशमलव १ डिग्री सेल्सियसले बढिसकेको छ । यो वृद्धि सामान्य रूपमा सानो देखिए पनि यसको प्रभाव भने अत्यन्तै गहिरो छ ।
तापक्रमको वृद्धिले हिमनदीहरू पग्लन थालेका छन्, ध्रुवीय बरफहरू हराउँदै छन्, समुद्रको सतह बढिरहेको छ र गर्मी लहरहरू अधिक तीव्र तथा बारम्बार भइरहेका छन् । यसले वातावरण मात्र होइन, मानव जीवनका सबै पक्षमा असर पार्न थालेको छ ।
वातावरणीय संकटको असर विकासोन्मुख देशहरूमा बढी देखिएको छ । यस्ता देशहरूमा पूर्वाधार कमजोर, प्रविधिको पहुँच सीमित र दिगो व्यवस्थापन प्रणाली अपर्याप्त हुँदा जालवायु परिवर्तनका असरहरूसँग जुध्न थप कठिनाइ भएको छ । नेपाल जस्तो पहाडी भूभाग भएको देशमा जलवायु परिवर्तनका असर झनै जटिल छन् । यहाँको जलवायु प्रणाली हिमनदी, वर्षा चक्र र वनस्पतिमा आधारित भएकाले तापक्रम वृद्धिले बाढी, पहिरो, सुख्खा र कृषि उत्पादनमा अस्थिरता ल्याइरहेको छ । विशेषगरी कृषिमा निर्भर ठूलो जनसंख्याको जीविकोपार्जनमा प्रत्यक्ष असर परिरहेको छ ।
जलवायु परिवर्तनले खाद्य सुरक्षामा समेत गम्भीर असर पारिरहेको छ । कृषि प्रणाली मौसममा निर्भर हुने हुँदा तापक्रमको सानो परिवर्तनले समेत बालीको उत्पादकत्वमा गिरावट ल्याउन सक्छ । समयमै वर्षा नहुनु, असिनापात, तुषारो वा अत्यधिक गर्मीका कारण कृषकहरूले ठूलो क्षति बेहोर्नुपरेको छ ।
यस्तो अवस्थामा आयको स्रोत सुक्दै जान्छ, गरिबी बढ्छ र सामाजिक असन्तुलन गहिरिँदै जान्छ । जलवायु परिवर्तनले महिलाहरू, बालबालिका, वृद्धवृद्धा र आर्थिक रूपले कमजोर वर्गलाई असमान असर पार्ने गरेको तथ्यहरू अध्ययनहरूले देखाएका छन् । यसले सामाजिक समानता र मानवअधिकारको प्रश्नलाई समेत उठाएको छ ।
जालवायु परिवर्तनको अर्को गम्भीर असर भनेको मानव स्वास्थ्यमा देखिएको छ । तापक्रम वृद्धि र प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी रोगहरू, जलजन्य रोगहरू र मानसिक स्वास्थ्य समस्याहरू बढिरहेका छन् । विशेषगरी शहरी क्षेत्रहरूमा अत्यधिक गर्मीका कारण थुप्रै खालका स्वास्थ्य समस्या देखापर्न थालेका छन् । यसअघि कहिल्यै नदेखिएका रोगहरू नयाँ ठाउँमा देखापर्न थालेका छन् । जस्तै : मलेरिया वा डेंगी जस्ता रोगहरू उच्च भू–भागसम्म फैलिन थालेका छन् । यो मानव स्वास्थ्य प्रणालीमाथि थप दबाक सिर्जना गर्ने खालको संकट हो ।
वातावरणीय आपत्हरूको तीव्रता र आवृत्तिमा भएको वृद्धि अर्को चिन्ताको विषय हो । पहिले १०–१५ वर्षमा देखिने बाढी, सुख्खा वा आँधी जस्ता घटनाहरू अब हरेक वर्ष झेल्नुपर्ने बाध्यता बन्न थालेका छन् ।
मौसमको अनिश्चितताले योजनाबद्ध विकासमा समेत असर पार्छ । पूर्वानुमान गर्न गाह्रो हुने हुँदा संरचना निर्माण, कृषि योजना र पर्यटनलगायतका क्षेत्रहरूमा दीर्घकालीन नोक्सानी हुन्छ । जलवायु आपत्ले मानिसहरूलाई स्थान छाड्न बाध्य बनाउँछ, जसलाई ‘जलवायु शरणार्थी’ भनिन्छ । यस्ता व्यक्तिहरूको संख्या भविष्यमा करोडौंमा पुग्न सक्ने अनुमान गरिएको छ ।
वन्यजन्तु र जैविक विविधतामा परेको प्रभाव पनि गम्भीर छ । जालवायु परिवर्तनले प्राणीहरूको बासस्थान नष्ट गरिरहेको छ । तापक्रमको परिवर्तनले कतिपय प्रजातिहरू अन्यत्र सर्न बाध्य भएका छन् भने कतिपयको अस्तित्व नै संकटमा परेको छ ।
समुद्री जीवनमा समेत कार्बनडाइअक्साइडको अत्यधिक मात्रा घुल्दा महासागर अम्लीकरण भइरहेको छ, जसले कोरल रिफ र अन्य समुद्री प्रजातिहरूमा विनाश ल्याइरहेको छ । जैविक विविधता मानव सभ्यताको आधार हो– खाद्य, औषधि, जल र जीवन चक्रको सन्तुलनमा यसको महत्त्वपूर्ण भूमिका हुन्छ । यसको विनाश मानव अस्तित्वका लागि नै खतरा हुन सक्छ ।
जालवायु परिवर्तनको समाधानका लागि विश्वभर बहस, सम्मेलन र सम्झौताहरू भइरहेका छन् । पेरिस सम्झौता (२०१५) एक महत्त्वपूर्ण पहल हो, जसले सन् २१०० सम्ममा तापमान वृद्धिलाई २ डिग्री सेल्सियसभन्दा तल राख्ने लक्ष्य राखेको छ । यद्यपि, व्यवहारमा यसको कार्यान्वयन सुस्त र असमान छ ।
ठूला औद्योगिक राष्ट्रहरूले पर्याप्त उत्तरदायित्व लिएका छैनन् भने साना राष्ट्रहरूले अनपेक्षित रूपमा यसको असर झेलिरहेका छन् । जलवायु न्यायको सवाल यहाँ उठ्छ– जो दोषी छैन, उसैले बढी भुक्तानी गर्नुपरेको अन्यायपूर्ण यथार्थ छ ।
नेपाल जस्तो सानो राष्ट्रले पनि जलवायु परिवर्तनका असरहरूसँग जुध्न रणनीति बनाउन थालेको छ । राष्ट्रिय अनुकूलन योजना, जलवायु परिवर्तन नीतिहरू तथा हरित विकास अवधारणामार्फत दीर्घकालीन तयारी गरिँदै छ । तर, बजेट, स्रोत र प्रविधिको अभावले योजनाहरू कागजमै सीमित हुने खतरा छ । स्थानीय तहको सक्रियता, जनचेतना अभिवृद्धि र वातावरणमैत्री प्रविधिको प्रयोग अत्यन्त आवश्यक छ । स्कुल, मिडिया र समुदायमा वातावरणीय शिक्षा र व्यवहार परिवर्तनका कार्यक्रमहरूले दीर्घकालीन प्रभाव पार्न सक्छन् ।
जालवायु परिवर्तनले थप्दै लगेको चिन्ता वैज्ञानिक वा सरकारी विषय मात्र होइन; यो प्रत्येक नागरिकको सरोकार हो । हामी सबैका स–साना कार्यहरूले वातावरणमा असर पार्छन् । ऊर्जाको बचत, प्लास्टिक प्रयोगमा कमी र पुनः प्रयोगयोग्य सामग्रीको प्रयोगले पृथ्वीको बोझ घटाउन सकिन्छ ।
सार्वजनिक यातायातको प्रयोग, हरियाली प्रवर्धन र सचेत उपभोग अभ्यासले सकारात्मक सन्देश दिन सक्छ । युवा पुस्ताको भूमिका विशेष महत्त्वपूर्ण छ– तिनीहरू वातावरणका मुद्दामा सचेत, क्रियाशील र नवप्रवर्तनशील छन् । जलवायु अभियानहरू, जनदबाब र नीति निर्माणमा उनीहरूको सहभागिता अपरिहार्य छ ।
अन्ततः, जलवायु परिवर्तनले मानव सभ्यताको दीर्घकालीन भविष्यमाथि प्रश्न उठाइरहेको छ । यसका असरहरू हरेक खण्डमा देखिन थालेका छन्– जल, जमिन, जंगल, जीवन सबै प्रभावित छन् । यदि अब तीव्र र एकीकृत कदम चालिएन भने भविष्यमा हाम्रो अस्तित्व संकटमा पर्न सक्ने सम्भावना बढ्दो छ ।
यो केवल चेतावनी होइन, एक पुकार हो, जहाँ विश्वले साझा जिम्मेवारी, नैतिक उत्तरदायित्व र दूरदर्शिता प्रदर्शन गर्नु जरुरी छ । जलवायु परिवर्तन रोक्न सकिएला वा न सकिएला तर हामीले तत्काल सधैंका लागि जोगाउने काम रोक्नु हुँदैन । पृथ्वी हाम्रो साझा घर हो, यसको संरक्षणमा हामी सबैको उत्तरदायित्व बराबरी छ ।