२०८२ जेठ १ गते बिहिवार / May 15 , 2025 , Thursday
२०८२ जेठ १ गते बिहिवार
Ads

कालोपट्टी र कालो ब्यानरसहित संघ सिन्डिकेटविरुद्धको आन्दोलनमा

२०८२ जेठ १ गते ०६:१५
कालोपट्टी र कालो ब्यानरसहित संघ सिन्डिकेटविरुद्धको आन्दोलनमा

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघ हातमा कालोपट्टी र कालो ब्यानरसहित सिन्डिकेटको विरोधमा आन्दोलनमा उत्रिएको छ । यसअघि प्रेस विज्ञप्तिमार्फत मलेसियाको सिन्डिकेटको विरोध गर्दै आएको संघ बुधबारदेखि कालो ब्यानर र कालोपट्टीसहित विरोधमा उत्रिएको हो ।

संघले आफ्ना सदस्यहरूलाई सिन्डिकेटमा सहभागी नहुने लिखित प्रतिबद्धता माग गरेको छ । बुधबारसम्म ३ सय हाराहारीमा व्यवसायीले सिन्डिकेटमा सहभागी नहुने लिखित प्रतिबद्धता जनाएका छन् । करिब १ हजारको संख्यामा रहेका व्यवसायीमध्ये दुई तिहाइभन्दा बढी व्यवसायीले मलेसियामा कामदार पठाउने गरेका छन् ।

विरोध कार्यक्रमबारे जानकारी दिँदै संघका अध्यक्ष भुवनसिंह गुरुङले नेपाल सरकारले प्रेस विज्ञप्ति जारी गरेर मलेसिया सिन्डिकेटको विरोधमा रहेको जनाउनु सकारात्मक भएपनि आम व्यवसायी आश्वस्त हुन नसकेकाले खबरदारीका लागि कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएको बताए । उनले सिन्डिकेटको विरोधमा मलेसियास्थित नेपाली राजदूतावासले समन्वय गरिरहेको भन्दै आम व्यवसायीले संविधान तथा कानुनले दिएको स्वतन्त्रता अनुसार पेशा व्यवसाय र काम गर्ने वातावरण सुनिश्चित हुनुपर्ने पक्षमा संघ दृढताका साथ उभिने बताए । उनले पूर्व अध्यक्षहरू तथा आमव्यवसायीको सुझावका लागि कार्यक्रम गरिएको भन्दै सिन्डिकेटका सम्बन्धमा सत्य तथ्य सूचना पाए संघलाई उपलब्ध गराउन आग्रह गरे । उनले भने, ‘हामी सिन्डिकेट विरोधी बंगलादेशका व्यवसायीसँग पनि सहकार्य गर्नेछौं, व्यवसायीको पेशा व्यवसायको अधिकार खोस्ने र अन्तर्राष्ट्रियरूपमा नेपालको छवि बिगार्ने काम हुन दिने छैनौं ।’

संघका प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठले संघले सुरुवात गरेको आन्दोलन सिन्डिकेट बाइकट नगरी नरोकिने भन्दै बिहीबार ४ बजेसम्म विरोधमा प्रतिबद्धता जनाइसक्न सबै व्यवसायीलाई आह्वान गरे । उनले भने, ‘पर्सिसम्म कठोर निर्णय हुनुपर्ने छ । संघ एक्लैले सिन्डिकेटलाई परास्त गर्न सक्दैन । सबै व्यवसायी एक ठाउँमा उभिनुपर्नेछ ।’

बंगलादेशको अन्तरिम सरकारले सिन्डिकेट लगाउन नसक्ने र लगाइहालेमा व्यवसायी त्यहाँको  विरोधमा सर्वोच्च अदालत जाने तयारीमा रहेको भन्दै नेपालमा व्यवसायी र कामदारको हित हुने प्रचारप्रसार गरेर सिन्डिकेट लागू गराउने प्रपञ्च रचिएकाले कठोर अडानमा रहनुपर्ने बताए । 

उनले भने, ‘मन्त्रालयले मलेसियका कामदार आपूर्ति गर्ने अन्य स्रोत मुलुकले स्वीकार गरे हामीले नस्वीकार्ने भनेर दबाब दिने काम हुनसक्छ । जे भने पनि मोड्युलका नाममा सिन्डिकेट प्रवेश गराइँदै छ, वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीलाई मोड्युलमा समावेश गर्ने भनिएको छ, त्यसो भयो भने फेमिसमा ४० लाख नेपाली युवायुवतीको सूचना छ, त्यो भएर माड्युल स्वीकार्य हुनेछैन भन्ने विषयमा व्यवसायी स्पष्ट हुन जरुरी छ ।’

संघका महासचिव महेशकुमार बस्नेतले विभिन्न प्रपञ्चमा व्यवसायीलाई अलमलमा राखेर सिन्डिकेट लगाउने योजनाका विरुद्ध नेपाल सरकार, परराष्ट्र तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मलेसियास्थित नेपाली राजदूतवासका क्रियाकलापलाई सूक्ष्म ढंगले अध्ययन र खबरदारी गरिरहेको बताए ।

संघका पूर्वअध्यक्ष दानबहादुर तामाङले आफ्नो कार्यकालमा मलेसिया रोजगारी खुलेको र त्यतिबेला प्राप्त डिमाण्डसम्बन्धी विवरण सम्पूर्ण व्यवसायीलाई बाँडफाँट गरेको भन्दै अहिले सीमित व्यवसायीले एकलौटी गरेर अवसर हत्याउने प्रयास गरे अन्य व्यवसायी आफ्नो अधिकार रक्षाका लागि भौतिक रूपमा उत्रिएर सिन्डिकेट पक्षधरलाई निरस्त गर्ने आँट गर्नुपर्नेमा जोड दिए । संघ कार्यसमितिलाई सुझाव दिँदै पूर्वअध्यक्ष तामाङले भने, ‘संघले सबैभन्दा पहिला सम्बन्धित २५ व्यवसायीलाई बोलाएर स्पष्ट गराउनुपर्छ । त्यति गर्दा पनि उहाँहरू सिन्डिकेटबाट पछि हट्नु भएन भने भदौ १६ त छँदैछ भनेर चेतावनीसमेत दिनुपर्ने छ ।’

पूर्वअध्यक्ष प्रेमबहादुर कटुवाल हरेक कुरामा सिन्डिकेट भएमा मलेसिया कामदार पठाउन रोक्नुको विकल्प नहुने भन्दै महासंघको हैसियतमा रहेको संघको नेतृत्वले जिम्मेवारी लिएर आन्दोलनलाई सफलतामा पु¥याउने काम गर्नुपर्नेछ ।’

अर्का पूर्वअध्यक्ष रोहन गुरुङले संघको नेतृत्वले सिन्डिकेटका पक्षमा नरहेको सार्वजनिक  प्रतिबद्धताले नपुग्ने भन्दै आम व्यवसायीले सिन्डिकेट रोक्ने ठोस कार्ययोजना चाहेकाले त्यसमा काम गर्नुपर्ने सुझाव दिए ।

उनले भने, ‘हामी व्यवसायी यात सबैले कामदार पठाउने सुनिश्चितता हुनुपर्ने, नभए कसैले पनि कामदार नपठाउने अडान राख्ने अवस्थामा पुग्नुपर्ने छ ।’

पूर्वअध्यक्ष गुरुङले बाहिर अमुक व्यक्तिको नाम लिएर दोष दिएर नहुने भन्दै व्यवसायीभित्रकैले माफियालाई साथ दिएकाले समस्या सिर्जना भएको भन्दै संघले सिन्डिकेटको विरोधमा खडा नहुने व्यवसायीको लिष्ट सार्वजनिक गरेर अगाडि आउनुपर्ने सुझाव पनि दिए । उनले भने, ‘सिन्डिकेट लागू भए दोष संघको नेतृत्वले लिनुपर्ने छ, त्यसैले सचेत हुनुहोस् । मलेसिया सफल भए साउदी अरेबिया, कतार सबैतिर सिन्डिकेट लागेर आम व्यवसायी पलायन हुनुपर्ने छ ।’

संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीले सिन्डिकेटको विरोधमा यसअघिका निर्णयलाई अध्ययन गरी आफूसँग भएको अनुभव पनि लिन आग्रह गरे । उनले भने, ‘मलाई कतिपय अवस्थामा वर्तमान कार्यसमिति अपमानित गरेको छ । त्यसरी हुँदैन सबैलाई समेटेर जानुपर्छ ।’

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष जनक रावलले अन्य व्यवसायीलाई पेशा व्यवसायको अधिकारबाट वञ्चित गराएर सिन्डिकेट लगाउने सोच आपराधिक मानसिकताको उपज भन्दै त्यस्ता तत्वका विरोधमा अफिस अफिस पुगेर रगत बगाउन परेपनि पछि पर्न नहुने, व्यवसायी भए लाइसेन्स खारेज गराउने र मन्त्री भए बर्खास्त गराउनेसम्मका कठोर अभियानमा लाग्न मञ्च पछि नपर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘मञ्चको अध्यक्ष म लाग्दिनँ, मञ्चमा आबद्ध व्यवसायीलाई पनि साथीभाइको व्यापार खोस्ने लोभ छैन, साथीको व्यापार खोस्नु आमाको रगत खानु सरह हो । हरेक वर्ष आउने  सिन्डिकेटका कुरा समाप्त गर्न हामी भौतिक रूपमा उत्रिन पनि तयारी अवस्थामा रहन आग्रह गर्छु ।’

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका प्रथम उपाध्यक्ष बिनोदजंग केसीले एसोसिएसन सधैंभरि सिन्डिकेटको विरोध र आम व्यवसायीका पक्षमा रहेकाले सिन्डिकेटको विरोधमा जस्तोसुकै मूल्य चुकाउन परे पनि पछि नपर्ने प्रतिबद्धता जनाए ।

ADV

सम्बन्धित खबर