२०८२ वैशाख ३० गते मङ्गलवार / May 13 , 2025 , Tuesday
२०८२ वैशाख ३० गते मङ्गलवार
Ads

मलेसियामा एआईले खोस्दैछ नेपाली कामदारको रोजगारी

२०८२ वैशाख ३० गते ०६:१०
मलेसियामा एआईले खोस्दैछ नेपाली कामदारको रोजगारी

काठमाडौं : कृत्रिम बौद्धिकता अर्थात् एआईको द्रुत प्रयोग र एकीकरणले विश्वव्यापी उद्योगहरूलाई रूपान्तरण गरिरहेको छ । अदक्ष नेपाली कामदारको प्रमुख श्रम गन्तव्य मलेसिया पनि उक्त प्रभावको अपवाद छैन ।

मलेसियामा एआई संचालित अटोमेसनले अभूतपूर्व गतिमा उत्पादन क्षेत्रमा नवीन प्रभाव देखाइरहेको छ । मलेसियामा विशेषगरी रोजगारी स्थिरता, कामदारको संख्या र सीपमा एआईले अभूतपूर्व प्रभाव परिरहेको त्यहाँका संचारमाध्यमहरूले उल्लेख गरेका छन् । केही उद्योगहरूमा विदेशी कामदारहरूलाई विस्थापित गरिसकेको अध्ययनहरूले देखाएका छन् ।

मलेसियाको मानव संशाधन मन्त्रालयको तथ्यांकअनुसार मलेसियामा २०२० को सेप्टेम्बरदेखि २०२४ अन्त्यसम्म अटोमेसन र एआईका कारण २ लाख ९३ लाख ६३९ जनाले जागिर गुमाएका छन् । त्यसले म्यानुफ्याक्चरिङ अर्थात् उत्पादन क्षेत्र सबैभन्दा बढी प्रभावित गरेको छ ।

हाल मलेसियाको अन्य क्षेत्रको रोजगारीमा नयाँ कामदारको एप्रुभल खुला भएपनि म्यानुफ्याक्चरिङ क्षेत्रमा खुलेको छैन । म्यानुफ्याक्चरिङ क्षेत्रमा ७५ हजार ६१५ जनाले रोजगारी गुमाएका छन् । थोक र खुद्रा व्यापारमा ४३ हजार ६१४, व्यावसायिक र वैज्ञानिक सेवाहरू २३ हजार ९०७ हजार र सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा १९ हजार ९३१ जनाको रोजगारी एआईले खोसेको देखिएको छ । 

एआईले प्रविधि विकास, डेटा व्यवस्थापन र एआई निरीक्षण जस्ता अन्य क्षेत्रहरूमा पनि रोजगारी संकुचित गरेको छ । रोजगारदाताहरूले एआई संचालित उपकरणहरूले उत्पादकता र दक्षता बढाएको र कामदारहरूलाई जटिल समस्या समाधान, रचनात्मकता र रणनीतिक निर्णय लिने कुरामा ध्यान केन्द्रित गर्न सहयोग गरिरहेको बताएका छन् ।

एआईको प्रयोगले मानव रोजगारी गुमेको छ । कम–दक्ष कर्मचारीहरूले ज्याला स्थिरता वा रोजगार विस्थापनको सामना गरिरहेका छन् । तर प्रविधि र एआई विकासमा उच्च–दक्ष कामदारहरूको माग बढ्दै जाँदा उनीहरूको ज्याला भने अस्वभाविकरूपमा नै बढेको छ । 

मलेसियामा हाल ४ लाखको हाराहारीमा नेपाली कामदार रहेका छन् । मलेसिया सरकारले हालै सेवा क्षेत्रतर्फ होलसेल एन्ड रिटेल, सेक्युरिटी गार्ड, ल्यान्ड वेयरहाउजिङ, गोल्डस्मिथ्स, टेक्सटाइल, टुरिजम, कृषि क्षेत्रतर्फ फिसेरिज र लाइभस्टक तथा प्लान्टेसन र कन्स्ट्रक्सन क्षेत्रमा विदेशी कामदारको माग खुला गरेको छ ।

नयाँ एप्रुभल खुला भएको अवस्थामा तत्कालै उल्लेख्य मात्रामा डिमाण्ड आउने कतिपय वैदेशिक रोजगार व्यवसायीको आंकलन छ । तर मलेसियाको मानव संशाधन मन्त्रालयले सार्वजनिक गरेको प्रविधिको प्रयोगसम्बन्धी तथ्यांकले मलेसियाबाट पहिले जसरी ठूलो संख्यामा मागपत्र आउने विषयमा आशंका जन्माइदिएको कतिपयको टिप्पणी छ ।

ADV

सम्बन्धित खबर