काठमाडौं : नेपाल एकायन कराते संघ साँखु शाखा, शंखरापुर नगरपालिका–५ ले आयोजना गरेको प्रथम शंखरापुर उपत्यकाव्यापी एकायन कराते प्रतियोगिता २०८२ सम्पन्न भएको छ । शंखरापुर नगरपालिका–३ जहरसिंह पौवास्थित कभर्डहलमा सोमबार भएको प्रतियोगिताको उद्घाटन समारोहमा शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापितको प्रमुख आतिथ्यता रहेको थियो ।
नेपाल एकायन कराते संघ साँखु शाखाकी शाखा प्रमुख विनिता थिंगको सभापतित्वमा संचालित कार्यक्रममा नेपाल एकायन कराते संघका संस्थापक अध्यक्ष श्रीकृष्ण डंगोल, दक्षिण एसियाली एकायन कराते महासंघका उपाध्यक्ष शाशी कपाली, नेपाल एकायन कराते संघका केन्द्रीय सल्लाहकार विरकृष्ण श्रेष्ठ, शंखरापुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष सूर्यबहादुर तामाङ, वरिष्ठ प्रशिक्षक एवं एकायन करातेका वरिष्ठ सल्लाहकार राम विष्ट, नगर खेलकुद विकास समिति शंखरापुरका अध्यक्ष श्रीराम श्रेष्ठ, शिलादेवी आधारभूत विद्यालयका प्रधानाध्यापक मानबहानुर तामाङ, वेल्स सोतोकान करातेका अध्यक्ष प्रताप राउतसमेतको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रम संयोजक नविन कुमार नापितको संयोजकत्वमा आयोजित प्रतियोगितामा महिला तथा पुरुष गरी जम्मा १३५ जना कराते खेलाडीहरुको सहभागिता रहेको थियो ।
महिलातर्फ ६ तथा पुरुषतर्फ ८ गरी जम्मा १४ वटा तौल समूहमा प्रतियोगिताका खेलहरु संचालन भएका थिए । महिलातर्फ ३० केजी मुनि तौल समूहमा सविक्षा परियारले स्वर्ण, समीक्षा तामाङले कांस्य र इन्दिरा थिङले रजत पदक प्राप्त गर्न सफल भए भने ३५ केजी मुनि तौल समूहमा रेखा रोकायाले प्रथम, अन्जु राईले द्वितीय र सुप्रिया केसीले तृतीय स्थान हासिल गरे ।
त्यसैगरी ४० केजी मुनि तौल समूहमा समृद्धि शाहीले स्वर्ण पदक, हिस्मा तामाङले कांस्य पदक र सुयना खड्काले रजत पदक प्राप्त गर्न सफल भए । ४५ केजी मुनि तौल समूहमा विपना घिसिङले स्वर्ण पदक, यमुना राईले कांस्य पदक र साहाना भुजेलले रजत पदक प्राप्त गर्न सफल भए भने ५० केजी मुनि तौल समूहमा सपना गोपालीले स्वर्ण पदक, कृपा खड्काले कांस्य पदक र रेमिला राईले रजत पदक प्राप्त गर्न सफल भए । यसैगरी महिला खुला तौल समूहतर्फ विनिता थिङ र जानुका थिङले क्रमशः प्रथम र द्वितीय स्थान हासिल गरे भने सुसी तामाङ तृतीय स्थान हात पार्न सफल भइन् ।
प्रतियोगिताको पुरुषतर्फ २५ केजी मुनि तौल समूहमा लविन कार्की प्रथम, अभिषेक बस्नेत द्वितीय र रिदम अधिकारी तृतीय भए । ३० केजी मुनि तौल समूहमा अरुण लामा प्रथम, जस्टिन कार्की द्वितीय र आयुष तामाङ तृतीय भए भने ३५ केजी मुनि तौल समूहमा निरज बोहरा प्रथम, नरेश रावत द्वितीय र जेविसन थापा तृतीय भएका थिए । ४० केजी मुनि तौल समूहमा योगेश गुरुरुले प्रथम, उज्वल इङनामले द्वितीय र गणेश विष्टले तृतीय स्थान हासिल गरे ।
त्यसैगरी ४५ केजी मुनि तौल समूहमा सुजन तामाङ प्रथम, विवेक तामाङ द्वितीय र सृजन थापा मगर तृतीय भएका थिए भने ५० केजी मुनि तौल समूहमा अनमोल श्रेष्ठले स्वर्ण, समिर बरामले कांस्य र पवन तामाङले रजत पदक हासिल गरे । प्रतियोगिताको ५० केजी मुनि तौल समूहमा सुवास नेपाली तथा पुष्कर रोकाया क्रमशः प्रथम र द्वितीय तथा प्रविण आलेमगर तृतीय भइ क्रमशः स्वर्ण, कांस्य र रजत पदक हासिल गर्न सफल भए । पुरुष खुला तौल समूहमा विवेक रोकाया प्रथम, मनिष राई द्वितीय तथा सुमन तामाङ तृतीय भए ।
विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथिलगायत अन्य विशिष्ट अतिथिहरूले प्रमाणपत्र, मेडल तथा ट्रफीबाट पुरस्कृत गरेका थिए । साथै अन्य सहभागी सम्पूर्ण खेलाडीसहित खेल पदाधिकारीहरुलाई पनि सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताका निर्णयाधीशमा विष्णुमान शाक्य र भरत धौलाकोटी, मुख्य निर्णायकमा किशोर तामाङ र रुपेश मगर तथा निर्णायकहरुमा सुरेश धौलाकोटी, शंकर धौलाकोटी, हिमाल सागर, मनोज राजवाहक, उर्मिला विश्वकर्मा, आशिष घिमिरे, राजेन्द्र तामाङ, सुरेश कुमार तामाङ, उज्वल विष्ट र राजेश श्रेष्ठ रहेका थिए ।