काठमाडौं : १५ चैतमा काठमाडौंको तीनकुनेमा राजावादीहरूले गरेको आन्दोलनलाई हिंसात्मक बनाएर जनधनको क्षति पुु¥याएको अभियोगमा १०८ जनामाथि मुद्दा चलाउनुुपर्ने प्रहरीले राय पेस गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले करिब २ महिना लामो अनुसन्धानपश्चात् जिल्ला सरकारी वकिल कार्यालयलाई १०८ जनामाथि मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन शुक्रबार बुझाएको हो ।
आरोपीहरूविरुद्ध प्रहरीले राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, ज्यानसम्बन्धी कसुर, ज्यान मार्ने उद्योग र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरेर प्रतिवेदन बुझाएको जनाएको छ ।
हिंसात्मक प्रदर्शनका क्रममा पक्राउ परेका र प्रहरीको खोजी सूचीमा रहेकाविरुद्धको अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
‘यो घटनामा १०८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको फाइल हामीले सरकारी वकिल कार्यालयलाई बुझाएका छौं’, एसपी बोहराले भने, ‘पक्राउ परेकाहरूलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राजद्रोहको कसुर, आपराधिक उपद्रव, संगठित अपराधलगायतको मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन पेस भएको छ ।’
प्रहरीको उक्त अनुसन्धान प्रतिवेदन अध्ययन गरेपछि कसलाई कस्तो मुद्दा चलाउने, को–को प्रतिवादी हुने भन्ने यकिन टुंगो लगाएर प्रक्रिया अघि बढाइने सरकारी वकिल कार्यालयले जनाएको छ ।
संगठित अपराधको कसुरमा पक्राउ परेकालाई ६० दिनभित्र अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्छ । सो कानुनी प्रावधानअनुसार १५ जेठअघि नै प्रतिवादीहरूमाथि अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्ने भएकाले आइतबार मुद्दा दर्ता गरिने सरकारी वकिल कार्यालयले जनाएको छ ।
मुद्दा चलाउनुपर्ने राय दिइएकामध्ये अहिले ५३ जना हिरासतमा छन् भने बाँकी केही पक्राउ पर्न बाँकी छन् । तीमध्ये केही प्रतिवादीलाई प्रहरीले हाजिरी जमानीमा हिरासतबाहिरै राखेर अनुसन्धान गरिरहेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशम्शेर राणालगायत केही प्रतिवादीहरू हाजिरी जमानीमा छाडेर हिरासतबाहिरैबाट अनुसन्धान गर्दै आएको प्रहरीको भनाइ छ । मुद्दा दर्ता भएपश्चात् उनीहरूलाई अदालतमा उपस्थित गराउने तयारी रहेको प्रहरीले जनाएको छ ।
१५ चैत २०८१ मा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा राजसंस्था पक्षधरहरूले प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनले एकाएक हिंसात्मक रूप लिँदा २ जनाको ज्यान गएको थियो भने दर्जन घरहरूमा ढुंगामुढा हुँदा ठूलो क्षति भएको थियो । आन्दोलनकारीले व्यक्तिगत घरमा आगजनी गरेर पूर्ण क्षति गरेका थिए ।
सोही घरबाट फुटेज खिचिरहेका एभिन्युज टेलिभिजनका क्यामेरापर्सन सुुरेश रजकको मृत्यु भएको थियो भने अर्का सविन महर्जनको प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।
उक्त हिंसात्मक प्रदर्शनको राति नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राप्रपाका सांसद राणा र वरिष्ठ उपाध्यक्ष मिश्रलाई पक्राउ गरेको थियो । आन्दोलनका मुख्य कमान्डर भनिएका दुुर्गा प्रसाईंलाई भने केही दिनपछि भारतबाट पक्राउ गरी झापा हँुदै काठमाडौं ल्याइएको थियो ।
प्रसाईंलाई हत्यासम्बन्धी कसुरमा अभियोजन गर्नुपर्ने प्रहरीको राय छ । उनीसहित ८ जनाविरुद्ध ज्यानसम्बन्धी कसुरमा अभियोजन गर्नुपर्ने राय दिएर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए ।
‘आगजनी गर्नेहरू र दुर्गा प्रसाईंसहित ८ जनालाई हत्या मुद्दा चलाउनुपर्ने हाम्रो राय छ’, ती अधिकृतले भने । आगजनीमा संलग्न रामेछापको सुनापति गाउँपालिका घर भएका २२ वर्षीय सरोज गौतम र अछाम पञ्चदेवल नगरपालिका– ५ घर भएका २० वर्षीय गोकर्ण शाही उर्फ अनुपविक्रम ठकुरीलाई पनि हत्या मुद्दामा अभियोजन गर्नुपर्ने प्रहरीको राय छ ।
पूर्वपञ्च नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को ब्यानरमा भएको उक्त प्रदर्शनको नेतृत्व गर्ने प्रसाईंले बाग्मती प्रदेश–०२७च३८४७ नम्बरको गाडी हुइँक्याउँदै प्रहरीको घेरा तोडेर बानेश्वरतर्फ अघि बढेपछि हिंसा भड्किएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । प्रहरीले मञ्चमा अश्रुग्यास प्रहार गरेसँगै सभा बिथोलिएको र प्रदर्शनकारीहरू तोडफोडमा उत्रिएका थिए ।
अवाञ्छित गतिविधि गरेको आरोपमा प्रदर्शनस्थलबाट १८६ जना पक्राउ परेकामा ९६ जनालाई सोही दिन रिहा गरिएको थियो । राज्यविरुद्धको कसुरमा म्याद थप भएका २६ जना र आपराधिक उपद्रव कसुरमा म्याद थप भएका २७ जना अहिले हिरासतमा छन् ।
अनुसन्धानका क्रममा ३७ जनालाई हाजिर जमानीमा रिहा गरिएको एसपी बोहराको भनाइ छ । ‘राज्यविरुद्धको कसुरमा अनुसन्धान गरिएकामध्ये ३ जना अनुसन्धानका क्रममा रिहा भएका थिए’, उनले भने ।
प्रतिवादीहरूको संख्या ठूलो भएपछि परिसरले प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय रानीपोखरी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर ललितपुरबाट थप टोली मगाएर अनुसन्धान गरेका थियो ।
१५ जेठमा सुरक्षा व्यवस्थामा कडाइ
नेपाल प्रहरीले आगामी १५ जेठमा राजावादीहरूले गर्ने प्रदर्शनलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा गर्ने योजना तयार पारेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले सम्पूर्ण सुरक्षा तयारी गरिएको र कुनै जनधनको क्षति नहुनेगरी सुरक्षा व्यवस्था व्यवस्थित र कडाइ गरिएको बताए ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा एसएसपी शेखर खनालले सुरक्षा कडा पारिएकाले कुनै अप्रिय घटना नहुने दाबी गरे । यसअघि गत १५ चैतमा राजावादीहरूले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेको घटनालाई मध्यनजर गर्दै आगामी आन्दोलनमा सुरक्षा व्यवस्था चुस्त बनाइएको उनको भनाइ छ ।
आन्दोलनमा हुन सक्ने अवाञ्छित हर्कतको सूक्ष्म रूपमा अध्ययन गरेर आवश्यक कारबाही अघि बढाउन खटिने सम्पूर्ण टोलीलाई निर्देशन प्रहरी प्रधान कार्यालयले दिएको छ ।