२०८२ जेठ १० गते शनिवार / May 24 , 2025 , Saturday
२०८२ जेठ १० गते शनिवार
Ads

काठमाडौंमा राति ११ बजेसम्म होटल खोल्न पाइने

मध्यान्ह
२०८२ जेठ ९ गते १५:४०
काठमाडौंमा राति ११ बजेसम्म होटल खोल्न पाइने

काठमाडौं : काठमाडौं जिल्लामा सञ्चालित होटल तथा रेस्टुरेन्टले अब राति ११ बजेसम्म सेवा सञ्चालन गर्न पाउने भएका छन् । होटल व्यवसायीहरूको निरन्तर माग, संवाद र दबाबपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सेवा समय एक घण्टा लम्ब्याउँदै राति ११ बजेसम्म खोल्न दिने निर्णय गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले होटल व्यवसायीहरूको आग्रहलाई सम्बोधन गर्दै राति ११ बजेसम्म सञ्चालनको अनुमति दिने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार सुरक्षा, पर्यटकीय सहजता र व्यवसायमैत्री वातावरण कायम राख्न यस्तो निर्णय गरिएको हो ।

होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालका अनुसार लामो समयदेखि व्यवसायीहरू प्रहरीको सिटी फुकाइका कारण समयअगावै व्यवसाय बन्द गर्न बाध्य थिए । यसले ग्राहक सन्तुष्टि घटाउनुका साथै व्यवसायमा प्रतिकूल असर परेको भन्दै संघले बारम्बार प्रशासनसँग संवाद गर्दै आएको थियो ।

संघका पदाधिकारीका अनुसार होटल व्यवसायले देशको पर्यटन र स्थानीय रोजगारीमा उल्लेखनीय योगदान दिँदै आएको छ । सेवा समय लचिलो बनाउन प्रशासनले चालेको कदमले व्यवसायमा स्थायित्व आउने विश्वास संघले व्यक्त गरेको छ । 

व्यवसायीहरूका अनुसार राति ११ बजेसम्मको अनुमति नातेदार, पर्यटक र स्थानीय ग्राहकहरूको सुविधाका दृष्टिले उपयोगी हुनेछ । यो निर्णयले ग्राहक सन्तुष्टि बढाउनुका साथै आम्दानीमा वृद्धि हुने आशा गरिएको छ ।

संघले आगामी दिनमा समेत व्यवसायमैत्री वातावरण निर्माणका लागि प्रशासन तथा सरोकारवाला निकायसँग सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
 

ADV

सम्बन्धित खबर