२०८२ जेठ २ गते शुक्रवार / May 16 , 2025 , Friday
२०८२ जेठ २ गते शुक्रवार
Ads

नेपालमा आइटी शिक्षा : सम्भावना र चुनौती

२०८२ जेठ २ गते ०६:००
नेपालमा आइटी शिक्षा : सम्भावना र चुनौती

-अपूर्व नेपाल

सूचना प्रविधि (आईटी) अहिलेको युगमा मानव जीवनको अभिन्न अंग भइसकेको छ । शिक्षादेखि स्वास्थ्य, कृषिदेखि व्यापार, प्रशासनदेखि संचारसम्म हरेक क्षेत्र सूचना प्रविधिबाट प्रभावित भएको छ । यस्तो अवस्थामा कुनै पनि देशको विकासमा आईटी शिक्षा अनिवार्य तत्त्व बनेको छ । नेपाल जस्तो विकासोन्मुख देशका लागि पनि आईटी शिक्षाको विस्तार र गुणस्तरीयता समयको माग हो ।

नेपालमा आईटी शिक्षाको सुरुवात केही दशकअघिदेखि भए पनि यसको तीव्रता भने पछिल्लो केही वर्षमा मात्र देखिएको हो । काठमाडौं उपत्यकासहितका शहरहरूमा विभिन्न कलेजहरूले स्नातक र स्नातकोत्तर तहमा कम्प्युटर साइन्स, सूचना प्रविधि, सफ्टवेयर इञ्जिनियरिङलगायतका विषयहरू पढाउँदै आइरहेका छन् । त्यसका अतिरिक्त विद्यालय तहमै सूचना प्रविधिको आधारभूत शिक्षा समावेश गरिने अभ्यास पनि थालिएको छ । एसईई तथा कक्षा ११÷१२ मा आईसीटी विषय समावेश गर्नु सकारात्मक कदम हो ।

तर, आईटी शिक्षाको गुणस्तर र पहुँच भने अझै सन्तोषजनक छैन । शहर केन्द्रित शिक्षाले ग्रामीण भेगका विद्यार्थीहरूलाई पछाडि पारेको छ । प्रविधिमा पहुँच नहुने, दक्ष जनशक्तिको अभाव, प्रयोगात्मक शिक्षाको कमी र समयानुकूल पाठ्यक्रम अभावले गर्दा धेरै विद्यार्थी केवल प्रमाणपत्रधारी बन्न पुगेका छन् ।

आईटी जस्तो व्यावहारिक विषयमा केवल किताबी ज्ञान पर्याप्त हुँदैन । प्रयोगशाला, परियोजना र वास्तविक जीवनका समस्यामा आधारित अध्ययन अनिवार्य हुन्छ । तर, नेपालका धेरै कलेज र विद्यालयमा आवश्यक कम्प्युटर, इन्टरनेट र दक्ष शिक्षकको अभाव स्पष्ट देखिन्छ ।

अर्कातर्फ, शिक्षाको निजीकरणले आईटी शिक्षा पनि खर्चिलो बनाएको छ । उच्चस्तरीय आईटी पढाइ सुलभ छैन । केही गुणस्तरीय निजी कलेजहरूले अन्तर्राष्ट्रिय पाठ्यक्रम पढाउने प्रयास गरे पनि त्यो आमजनताको पहुँचबाहिर छ । राज्यका सार्वजनिक कलेजहरूमा पनि आईटी विषय समावेश गरिए तापनि शिक्षण गुणस्तरमा सुधार आवश्यक छ ।

पाठ्यक्रम परिमार्जन, दक्ष जनशक्ति उत्पादन र प्रविधिको प्रयोगमार्फत शिक्षणमा सुधार ल्याउन सके मात्र सार्वजनिक संस्थाहरूले समावेशी शिक्षा प्रदान गर्न सक्छन् ।

नेपालमा आईटी शिक्षाको अर्को चुनौती भनेको बजारसँग तालमेल नहुनु हो । विद्यार्थीले पढेका कुरा र उद्योगमा लागू हुने सीपबीच गहिरो खाडल देखिन्छ । धेरैजसो विद्यार्थीले डिग्री त प्राप्त गर्छन् तर रोजगारी पाउने सुनिश्चितता छैन । यसको प्रमुख कारण हो, शिक्षामा परियोजना–आधारित सिकाइ र व्यावसायिक तालिमको कमी ।

यदि आईटी शिक्षालाई रोजगारमुखी बनाइनु छ भने पाठ्यक्रममा प्रयोगात्मक कार्य, इन्डस्ट्रियल इन्टर्नसिप र उद्यमशीलतामा जोड दिनुपर्छ ।

तर, समस्याका बाबजुद पनि नेपालमा आईटी शिक्षाको सम्भावना विशाल छ । नेपालका युवामा प्रविधि बुझ्ने क्षमता, प्रयोग गर्ने इच्छा र अनलाइन प्लेटफर्मप्रतिको आकर्षण उच्च देखिन्छ । अनलाइन शिक्षा र स्वअध्ययनको प्रवृत्तिले पनि आईटी सिकाइलाई गति दिएको छ ।

धेरै विद्यार्थीले युट्युब, कोर्सेरा, युडेमी जस्ता अनलाइन प्लेटफर्ममार्फत आफूलाई अपडेट गरिरहेका छन् । यो प्रवृत्ति सकारात्मक हो । सरकारले यस्ता वैकल्पिक सिकाइ माध्यमहरूलाई मान्यता दिँदै संरचनागत सहयोग गरेमा गुणस्तरीय जनशक्ति उत्पादन सम्भव छ ।

साथै, आईटी शिक्षाको विस्तारले विदेशमा रोजगारीका अवसर पनि बढाएको छ । नेपालबाट फ्रिलान्सिङ, सफ्टवेयर डेभलपमेन्ट, वेब डिजाइन, एप डेभलपमेन्ट, डिजिटल मार्केटिङ जस्ता क्षेत्रमार्फत ठूलो संख्यामा युवा अन्तर्राष्ट्रिय बजारमा काम गरिरहेका छन् ।

यी सबै रोजगारीका अवसर आईटी शिक्षाका उपज हुन् । सरकारले यो क्षेत्रलाई अझ संस्थागत गर्दै नीति निर्माण, अनुदान र प्रविधि प्रयोगको प्रोत्साहन दिन सकेमा आईटी नेपालकै आर्थिक समृद्धिको आधार बन्न सक्छ ।

भविष्यलाई हेर्दा, आईटी शिक्षा नेपालको विकास यात्रामा महत्त्वपूर्ण कडी बन्न सक्छ । तर, त्यसका लागि अहिले देखिएका कमजोरी सुधार गर्नुपर्छ । शिक्षकको तालिम, प्रविधिमा लगानी, सार्वजनिक तथा निजी क्षेत्रको सहकार्य र अन्तर्राष्ट्रिय अनुभवको प्रयोग आवश्यक छ ।

ग्रामीण भेगसम्म आईटी शिक्षाको पहुँच विस्तार, बालबालिकालाई सानैदेखि कोडिङ र डिजिटल साक्षरतामा परिचित गराउने पहल र सबै तहमा डिजिटल पूर्वाधार विकास प्राथमिकता बन्नुपर्छ ।

अन्ततः, आईटी शिक्षा केवल डिग्री प्राप्तिको साधन होइन, आत्मनिर्भरता र समृद्धिको माध्यम हो भन्ने बुझाइ स्थापित हुनुपर्छ । आईटीले युवालाई सिर्जनशील, समस्याको समाधानकर्ता र उद्यमशील बनाउँछ ।

नेपालमा पनि यस्तो सोच र प्रणाली निर्माण गर्न सक्ने सामथ्र्य छ, केवल राजनीतिक इच्छाशक्ति र दीर्घकालीन योजनाको खाँचो हो । यदि समयमै आईटी शिक्षालाई प्राथमिकता दिइयो भने नेपालले डिजिटल युगमा आत्मविश्वासका साथ अघि बढ्न सक्छ ।

ADV

सम्बन्धित खबर