दोहा, कतार : कतारमा रहेका किराँतीहरूले राष्ट्रिय महान् चाड शालिवा स्यादर पिदार/साकेला उभौली- ५०८५ (२०२५) भव्य रूपमा मनाउने भएका छन् । आगामी मे १६ तारिकमा अलत्तियामा अवस्थित फूलबारी रेस्टुरेन्टको हलमा कतारमा स्थापित किराँती संस्थाहरू सुनुवार सेवा समाज शाखा र किरात राई यायोक्खा शाखा कतारको संयुक्त समन्वय तथा किरात मूल समारोह आयोजक समितिको आयोजनामा शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रमसहित मनाउन लागिएको हो ।
तयारी अन्तिम चरणमा पुगेको कार्यक्रममा मौलिक र सांस्कृतिक झाँकी प्रस्तुत गरिने समितिका संयोजक कमल विक्रम सुनुवारले मध्यान्ह राष्ट्रिय दैनिकलाई बताए । कार्यक्रममा किराँती संस्कृति अनुसार ढोल झ्याम्टा बजाउँदै स्यादर सिली/साकेला सिली नाँच प्रस्तुत गरिनुका साथै कतारमा स्थापित विभिन्न कलाकारले आफ्नो साङ्गीतिक प्रस्तुति दिने तयारी रहेको छ l