काठमाडौं : सगरमाथा संवादमा १७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने भएका छन् । मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सगरमाथा संवादमा १७५ जना विदेशी पाहुनाले सहभागिता जनाउने बताएकी हुन् ।
उनले संवादमा ३५० जना सहभागी रहने जानकारी दिइन् । सगरमाथा संवादमा संसदीय उपाध्यक्षदेखि मन्त्रीहरुको उपस्थिति रहने उनले बताइन् । उनले संवादमा सहभागी हुने विदेशी उच्चस्तरीय प्रतिनिधिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने र समकक्षी मन्त्रीसँग साइडलाइन भेटवार्ताको व्यवस्था गरिएको बताइन् ।
मन्त्री राणाकाअनुसार संवादको तयारी अन्तिम चरणमा पुगेको छ । तयारीस्वरुप सरकारले करिब १० वटा पूर्व संवाद कार्यक्रम आयोजना गरेको उनले जानकारी दिइन् । जसअन्तर्गत जुम्लामा हिमाली डायलग, काठमाडौंमा वायु संवाद, प्रि संवाद लगायत रहेका छन् । ३ दिनसम्म सञ्चालन हुने संवाद कार्यक्रमको प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने परराष्ट्रमन्त्री राणाले जानकारी दिइन् ।
त्यस्तै परराष्ट्रमन्त्री डा. राणाले कार्यक्रममा पाहुनाहरुलाई स्वागत गर्ने कार्यक्रम रहेको छ भने संवादसम्बन्धी तयार पारिएको चिनारियुक्त भिडियो प्रस्तुत गरिनेछ । साथै चीन र भारतबाट प्रतिनिधित्व गर्ने र कोप २९ का अध्यक्ष एवं अजरबैजानका राष्ट्रपतिका जलवायु विषयसम्बन्धी प्रतिनिधिले सम्बोधन गर्ने मन्त्री राणाले बताइन् ।
१.५ डिग्री सेल्सियसभन्दा कम तापक्रम वृद्धिलाई सीमित गर्ने, पर्वतीय अर्थतन्त्रलाई दिगो बनाउने, टापुहरूमा भएको हानि र क्षति, लैंगिक र अन्तरपुस्तागत समानतालगायतका १२ वटा विभिन्न विषयमा छलफल हुनेछ । कार्यक्रमको मुख्य उद्देश्य जलवायु र पर्वतीय मुद्दामा क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगका विषयमा छलफल गर्नु रहेको परराष्ट्रमन्त्री डा राणाले बताइन् ।