काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेडको सहकार्यमा कार्डमा आधारित सिद्धार्थ अनलाइन पेमेन्ट गेटवे सेवा सुरु गरेको छ । सो सेवाबाट बैंकमा खाता भएका व्यवसायी (मर्चेन्ट)हरूले अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरूबाट जारी भएको भिसा तथा मास्टर कार्डमार्फत् नेपाल तथा विदेशमा भएका ग्राहकबाट सजिलै अनलाइन भुक्तानी लिन सक्ने भएका छन् ।
सिद्धार्थ अनलाइन पेमेन्ट गेटवेमार्फत् अब ई–कमर्स कारोबार गर्ने विद्यालय, अस्पताल, होटल, ट्राभल एजेन्सी, एनजीओ लगायतका संस्थाहरूले देश तथा विदेशबाट सहज रूपमा अनलाइनमार्फत भुक्तानी लिन सक्नेछन् । यस गेटवेको प्रयोगले भुक्तानी प्रक्रियामा कार्डलाई भौतिक रूपमा प्रस्तुत गर्नुपर्ने झन्झट हटाएको बैंकले बताएको छ ।
साथै, यस पेमेन्ट गेटवेको प्रयोगले आधुनिक प्रविधिको प्रयोग गर्दै कुनैपनि प्रकारको अनलाइन भुक्तानीलाई छिटो, सुरक्षित र विश्वसनीय बनाउने बैंकले विश्वास लिएको छ ।