२०८२ वैशाख १९ गते शुक्रवार / May 02 , 2025 , Friday
२०८२ वैशाख १९ गते शुक्रवार
Ads

कोशी लगानी सम्मेलन सुरु, ढुक्क भएर लगानी गर्नुस्, सरकारको साथ सहयोग हुन्छ : प्रधानमन्त्री

मध्यान्ह
२०८२ वैशाख १८ गते १५:१५
कोशी लगानी सम्मेलन सुरु, ढुक्क भएर लगानी गर्नुस्, सरकारको साथ सहयोग हुन्छ : प्रधानमन्त्री

विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि बहुतै उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी र विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् ।

कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अनेक हिसाबले जुनसुकै क्षेत्रमा नेपालमा लगानीका निम्ति उपयुक्त वातावरण रहेकाले आन्तरिक र बाह्य लगानी परिचालनमा ध्यान दिन प्रशासनिक क्षेत्रलाई पनि आग्रह गरे । 

'पूर्वाधार निर्माण भइसकेको समय भएकाले ढुक्कले लगानी गर्न सक्नुहुन्छ । लगानीका लागि सरकारका तर्फबाट कुनै समस्या पर्न दिइन्न । कोशी प्रदेश पूर्वाधार विकास र सडक सञ्जालसँग जोडिएको छ । लगानी गरेर उत्पादन बजारमा लाने समयसम्म एसियालीस्तरको छ लेनको पूर्व पश्चिम राजमार्ग हामी बनाइसक्छौँ । हामी कच्चा पदार्थ पनि ल्याउन सक्छौँ । त्यसकारण हरेक क्षेत्रमा नयाँ नयाँ सम्भावनाहरुलाई हामीले पहिल्याउन सक्छौं,' प्रधानमन्त्री ओलीले भने, 'देशमा सामान ल्याउन र लान कुनै हिसाबले रोकिँदैन । आफ्नो उत्पादनको बजार कोशी प्रदेशका विभिन्न कोरिडोर र नाकामा लान सक्ने गरी बाटो बनिसकेको छ । विराटनगरसहित विभिन्न विमानस्थल विस्तार गरिनेछ । सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रका साथै सगरमाथासहित विभिन्न हिमाल र जडिबुटीहरुको थलो कोशीका जनता शिक्षित र मेहनती छन् । त्यस कारण पनि यहाँ लगानीको प्रचुर सम्भावना रहेको छ ।'

प्रधानमन्त्री ओलीले उद्यमशीलता दशक मनाउन सकिए रोजगारी दशक सफल हुने उल्लेख गर्दै भने, 'म युवाहरुलाई भन्न चाहान्छुु, जागिरको खोजीमा नभौँतारिनुस्, उद्यमशीलतामा लाग्नुस् । त्यसका लागि सोच, तालिम र सहयोगमा सरकारले साथ दिन्छ ।' प्रधानमन्त्री ओलीले विश्वको सर्वाेच्च शिखर सगरमाथालाई सगरमाथाकै नामबाट विश्वमा ब्राण्डिङ गर्न आग्रह गर्दै ‘माउन्ट एभरेष्ट’ भनिरहन नपर्नेमा जोड दिए । 

प्रधानमन्त्री ओलले अन्तर्राष्ट्रिय श्रम संगठनको मान्यताअनुसार श्रमको सम्मान दिन तथा रोजगारादाता र श्रमिकबीच संवादका साथै ट्रेड युनियन अधिकारको रक्षाका लागि नेपाल सरकार स्पष्ट रहेको पनि लगानीकर्तालाई अवगत गराए । प्रधानमन्त्री ओलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितले स्वागत गरेका थिए ।

ADV

सम्बन्धित खबर