काठमाडौं : नेपाल राष्ट्र बैंकका १७औं गभर्नरमा महाप्रसाद अधिकारी २४ चैत २०७६ मा नियुक्त भएका थिए । अधिकारीको कार्यकाल सकिन ३० दिन मात्र बाँकी छ । आफ्नो कार्यकाल सकिन लाग्दा अधिकारी अनिवार्य बिदामा बस्ने तयारीमा छन् ।
सरकारले नेपाल राष्ट्र बैंकमा १८औंै गभर्नर नियुक्त गर्न सिफारिस समिति गठन गरेको छ । बुधबारको मन्त्रिपरिषद्को बैठकले उपप्रधामन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गएको छ ।
सिफारिस समितिमा पूर्वगभर्नरमध्येबाट १ जना र आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानुन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिमध्येबाट नेपाल सरकारले तोकेको १ जना व्यक्ति सदस्य नियुक्त गरेर गभर्नर सिफारिस गर्ने छ ।
समितिले नयाँ गभर्नरका लागि ३ जनाको नाम सरकारलाई सिफारिस गर्ने छ, जसमा १ जना वा दुवै डेपुटी गभर्नरको नाम समावेश गर्न सक्ने व्यवस्था छ । १ महिनाको मात्र समय बाँकी रहेकाले समितीले अर्काे साताभित्र नयाँ गभर्नरको नाम सिफारिस गर्नुपर्ने हुन्छ ।
आकांक्षीको दौडधुप
नयाँ गभर्नर छनोटमा नेकपा एमालेले नेपाल राष्ट्र बैंक नेतृत्व आफूले पाउनुपर्ने दाबी सत्ता गठबन्धनमा गरेको छ । नेपाल धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ र नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद् ओझाको नियुक्ति कांग्रेस निकटबाट भएकाले राष्ट्र बैंकको नेतृत्व एमालेले नछाड्ने एक एमाले नेता बताउँछन् ।
एमालेको अडानकै कारण बहालवाला गभर्नरको कार्यकाल सकिनुभन्दा १ महिना अगाडि नै गभर्नर नियुक्त गरिनुपर्ने भए पनि भागबन्डा नमिल्दा समिति गठन नै ढिला भएको हो । समिति गठनअघि नै नयाँ गभर्नर बन्ने आकांक्षीले पार्टीका शीर्ष नेताहरूसँग निकटता बढाइरहेका थिए ।
नयाँ गभर्नर बन्ने दौडमा अहिलेका डेपुटी गभर्नरहरू बमबहादुर मिश्र र नीलम ढुंगाना दुवै लागिरहेका छन् । यस्तै, राष्ट्रिय योजना आयोगका सदस्य प्रकाश श्रेष्ठसमेत प्रतिस्पर्धामा छन् । श्रेष्ठ अर्थमन्त्री बिष्णु पौडेलसँग निकट अर्थविज्ञ मानिन्छन् । श्रेष्ठले राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा कार्यकारी निर्देशकका रूपमा काम गरिसकेका छन् भने यसअघि अर्थमन्त्री पौडेलकै आर्थिक सल्लाहकारसमेत थिए ।
यस्तै, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, लगानी बोर्डका पूर्व कार्यकारी प्रमुख सुशील भट्टसमेत गभर्नरको दौडमा छन् । यसअघि राष्ट्रिय योजना आयोगका सदस्य र लगानी बोर्डका सीईओ भएका कारणसमेत उनी पनि बलियो सम्भावना भएका व्यक्तिका रूपमा हेरिएको छ ।
यस्तै, पूर्व अर्थ सचिव रामेश्वर खनाल अहिलेको अर्थतन्त्र सुधारका लागि सही व्यक्ति हुन सक्ने भन्ने लबिङमा भइरहेको छ । खनाल अर्थतन्त्र चलायमान गर्नका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका संयोजक भएर अहिले काम गरिरहेका छन् । यसरी नै राष्ट्र बैंकका अवकाशप्राप्त कार्यकारी निर्देशक देवकुमार ढकालसमेत एमाले निकट भएकाले उनीसमेत गभर्नरकै दौडमा देखिन्छन् ।
यस्तै, गभर्नर आफू निकट बनाउनका लागि निजी क्षेत्रमा व्यवसायी, बैकिङ क्षेत्रमा व्यवसायीहरूसमेत लागिपरेका छन् । केही पूर्वप्रशासकसमेत गभर्नर बन्नका लागि सत्ता निकट नेताहरूसँग निकटता बढाइरहेका छन् ।
नेपाली रुपैयाँमा हस्ताक्षरदेखि मौद्रिक नीति बनाउने, महँगी नियन्त्रणलगायत क्षेत्रमा महत्त्वपूर्ण भूमिका हुने गभर्नर बन्न आकांक्षीहरू २ महिना अघिदेखि नै दौडधुपमा लागिरहेका हुन् ।