२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

साउदी आईडी नपाएर व्यवसायीहरू हैरान

२०८१ पुष १७ गते ०६:२०
साउदी आईडी नपाएर व्यवसायीहरू हैरान

काठमाडौं : वैदेशिक रोजगार व्यवसायीका बीचमा साउदी आईडीको माग बढेको छ । नेपालस्थित साउदी अरेबियाको दूतावासले नेपाली कामदारको भिसाका लागि आवेदन गर्न दूतावासले प्रदान गर्ने  साउदी आईडी अनिवार्य गर्ने गरेको छ । साउदी आईडी नहुने कतिपय म्यानपावर व्यवसायीले भिसा लगाउन अन्य म्यानपावर कम्पनीको सहारा लिनुपर्ने अन्यथा साउदीबाट ल्याइएको मागपत्र नै त्याग्नुपर्ने बाध्यता छ ।

वैदेशिक रोजगार विभागमा हाल दर्ता रहेका करिब १ हजार म्यानपावर कम्पनीमध्ये ४०० जति कम्पनीले साउदी अरेबियामा कामदार पठाउने गरेका छन् । गत जेठमा साउदी आईडीको समस्या चर्किएपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघको पहलमा ब्लक भएका साउदी आईडी सुचारु र केही नवीकरण भएका थिए ।

त्यसपछि प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले समस्या समाधानका लागि मिहिनेत गरेको भन्दै संघका साउदी संयोजक बैकुण्ठ पौडेललाई सम्मानसमेत गरेको थियो । तर, हाल साउदी अरेबियाको डिमान्ड ल्याउन सक्ने ठूलो संख्यामा रहेका म्यानपावर कम्पनीले साउदी आईडी नपाउँदा कामदार पठाउन नपाएको बताएका छन् ।

साउदी अरेबियाले भिजन सन् २०३० योजनाअन्तर्गत आफ्नो महत्त्वाकांक्षी विकास परियोजनाहरूलाई गति दिँदा श्रमिकको मागमा वृद्धि भएको छ ।

त्यस्तै, साउदीले सन् २०३४ मा फिफा विश्वकप र सन् २०३० मा रियाद एक्स्पोसहित धेरै रोजगारी सिर्जना हुने परियोजना तयारी गरिरहेको छ । यसका साथै हवाई, रेलवे र खेलकुद स्टेडियमहरूमा ठूला पूर्वाधार परियोजनामा धमाधम काम भइरहेको साउदी अरेबियाका संचार माध्यमहरूले उल्लेख गरेका छन् । नेपालस्थित साउदी दूतावासले व्यवसायीहरूलाई साउदी आईडी दिन पूरै रोकेको छैन तर दूतावासले आईडी वितरणमा नियन्त्रणमुखी रवैया अपनाउँदा व्यवसायीहरू हैरान भएका छन् ।

साउदी आईडी नपाएका कतिपय म्यानपावर व्यवसायीले साउदी अरेबियामा एकलौटी कामदार पठाउन चाहने केही ठूला व्यवसायीले दूतावासलाई अनुचित प्रभावमा पारेर आफूहरूलाई काम गर्नबाट बञ्चित गराउने प्रपञ्च गरेको समेत आरोप लगाउने गरेका छन् । व्यवसायीहरूले साउदी आईडीका लागि संघले विशेष पहल गरिदिन माग पनि गरेका छन् ।

ADV

सम्बन्धित खबर