२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन २ फागुनमा

२०८१ पुष ११ गते ०६:२०
वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन २ फागुनमा

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले साधारणसभा र निर्वाचनको मिति तोकेको छ । संघका अध्यक्ष राजेन्द्र भण्डारीको अध्यक्षतामा बुधबार संघको कार्यालय सिफलमा बसेको कार्यसमितिको बैठकले संघको ३०औं साधारणसभा र निर्वाचन आगामी २ फागुन शुक्रबार गर्ने निर्णय गरेको हो । 

संघका सचिव कर्ण कटुवालका अनुसार प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका पूर्वअध्यक्ष टंकबहादुर राउतको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ । समितिका अन्य २ जना सदस्य कार्यसमितिको अर्को बैठकले मनोनयन गर्ने छ ।

संघको साधारणसभाले १७ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने व्यवस्था छ । २१ सदस्यीय कार्यसमितिमा ४ जना सदस्य अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ । संघको आगामी कार्यकाल पनि २ वर्षको मात्र हुने छ ।  

संघको यसअघिको वार्षिक साधारणसभामा मौजुदा विधानमा परिवर्तन गरी संघ कार्यसमितिको कार्यकाल ३ वर्षे बनाउने, संघलाई संघीय संरचनामा लैजाने र व्यवसायी भलाइ कोष संचालन गर्नेगरी विधानमा संशोधनको प्रयास भएको भए पनि उक्त साधारणसभामा गणपूरक संख्या नपुगेका कारण कार्यकाल थप गर्नेसहितका महत्त्वपूर्ण केही प्रस्ताव पारित भएका थिएनन् ।

संघको विधान र मुलुकमा क्रियाशील अन्य गैरसरकारी संस्थाका विधानमा फरक व्यवस्था छ । संघको विधानमा अध्यक्षको उम्मेदवार हुन कम्तीमा १ कार्यकाल संघको पदाधिकारी भई काम गरेकोे हुनुपर्ने अनिवार्य प्रावधान छ । पदाधिकारी भन्नाले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष बुझिने भन्ने पनि विधानमा उल्लेख छ ।

उक्त प्रावधानले योग्य व्यवसायीलाई अध्यक्षको उम्मेदवार बन्न रोक लगाई कार्यक्षमताका दृष्टिकोणले कमजोर भए पनि सीमित पूर्वपदाधिकारीलाई मात्र अध्यक्षको उम्मेदवार बन्ने अवसर सिर्जना गरेको भन्दै कतिपय व्यवसायीले असन्तुष्टिको आवाज पटकपटक उठाउने गरेका छन् । तर, विधान संशोधन नहुँदा त्यसको सम्बोधन भएको छैन ।

ADV

सम्बन्धित खबर