इटहरी : मोरङ सुन्दरहरैंचाका ऐन कुमार गिरीले सुरु गरेको राष्ट्रिय अभियान नेपालले छोटो समयमै ठूलो प्रभाव जमाउन थालेको छ । गतवर्ष मात्र स्थापना भएको यो अभियानले अहिले देशभित्र र देशबाहिर रहेका नेपालीहरूको उल्लेखनीय समर्थन प्राप्त गरेको छ । हिन्दू राष्ट्र पुनःस्थापना लगायतका ११ बुँदे संकल्पसहित सार्वजनिक भएको संगठनले नेपालको वर्तमान अवस्थालाई मध्यनजर गर्दै संगठन विस्तारमा आफूलाई केन्द्रित गरिरहेको छ ।
सुन्दरहरैंचाबाट सुरु भएको अभियानले हालसम्म सुनसरीको इटहरी, झुम्का, इनरुवा, मोरङको विराटनगर, गछिया, विराटचोक, बेलबारी, उर्लाबारी, झापाको सुरुङ्गा, दमक, बिर्तामोड, र बाहुनडाँगी लगायतका स्थानहरूमा संगठन विस्तार गरिसकेको छ । सुरुमा १६ जना सदस्यबाट स्थापित संगठनमा अहिले २६ सयभन्दा बढी सक्रिय कार्यकर्ताहरू जोडिएको राष्ट्रिय अभियानका संयोजक ऐन कुमार गिरीले बताए । संयोजक गिरीका अनुसार संगठनले समाजमा व्यापक जागरुकता ल्याउँदै देशव्यापी रूपमा आफ्नो गतिविधि तीव्र बनाएको बताए ।
यो संगठन कुनै पनि पार्टिसँग नभइ देशको वर्तमान स्थिति नेताहरूको मनोमानीका कारण दिक्क भएका नेपालीहरू स्वतःफुर्त आवद्ध भएका स्वतन्त्र संगठन रहेको संयोजक गिरी बताउँछन् । संगठनले जारी गरेको ११ बुँदे संकल्पमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, हत्यारालाई फाँसी जस्तो कडा सजाय, बलात्कारीलाई आजीवन कारावास, भ्रष्टाचारको अन्त्य, र सबै नेपालीका लागि निःशुल्क शिक्षा तथा स्वास्थ्य व्यवस्था सुनिश्चित गर्नुपर्ने मागहरू छन् । यस्तै, देशको सीमामा पर्खाल निर्माण, राष्ट्रिय उत्पादनलाई प्राथमिकता, विदेशी सामग्रीको सीमित आयात, प्रदेश संरचनाको खारेजी, र समतामूलक, सभ्य, समृद्ध नेपालको निर्माण गर्ने जस्ता विषयमा संगठनले आफ्नो अडान लिएको छ ।
सोलुखुम्बुको जुबुमा जन्मिएका ऐन कुमार गिरीले अभियानमार्फत नेपाली जनताको हक, अधिकार र हितको पक्षमा काम गर्दै अभियानलाइ पनि तीव्र रूपले अगाडि बढाएका छन् ।
‘देशको समृद्धिका लागि सबै क्षेत्रबाट योगदान आवश्यक छ, र यो संगठन त्यसै दिशामा केन्द्रित छ,’ गिरी भन्छन् । सरकारलाई बेला–बेला खबरदारी गर्दै र जनताका मुद्दाहरूलाई प्राथमिकतामा राख्दै संगठनले समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रयासमा लागेको गिरी बताउँछन् ।
हाल राष्ट्रिय अभियान नेपालले देशभर मात्रै नभइ विदेशमा रहेका नेपालीहरूसँग पनि सहकार्य जारी रहेको उनी बताउँछन् । संगठन विस्तारकै लागि उनी हाल अस्ट्रेलिया पुगेका छन् । त्यहाँ रहेका नेपालीबीच संगठनको उद्देश्य र भावी योजनाबारे चर्चा परिचर्चा गरिएको बताउँदै चाडै नै संगठन विस्तारलाई जोड दिने संयोजक गिरीको भनाइ छ । संगठनको उद्देश्य भनेको नेपाललाई आर्थिक, सामाजिक, र राजनीतिक रूपमा बलियो बनाउनु मुख्य भाव रहेको संयोजक गिरीको भनाइ छ ।