२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

आइरिस प्रणालीमा गडबडी : एकअर्कालाई आरोप प्रत्यारोप

Nada
२०८१ कार्तिक ५ गते १२:१५
Shares
आइरिस प्रणालीमा गडबडी : एकअर्कालाई आरोप प्रत्यारोप

काठमाडौं : वैदेशिक रोजगार विभागले लामो तयारीपछि वैदेशिक रोजगारीमा जानुपूर्व दिइने अभिमुखीकरण तालिमका लागि ‘फेसटाइम एटेन्डेन्स एन्ड आइरिस रिकोग्नेसन’ प्रणाली लागू गर्ने प्रक्रियामा सकस व्यहोर्नुपरेको छ ।

ncell

विभागले वैदेशिक रोजगारीमा जाने कामदारको पूर्वप्रस्थान अभिमुखीकरण तालिममा औंठा छाप हाजिरी लिँदा अनियमितता भएको भन्दै गत असोज १५ गतेदेखि उक्त प्रणाली लागू गर्ने बताएको थियो । तर नमुना परीक्षण गरिएको दिन असोज १५ गते प्रणालीले काम नगरेपछि दशैंपछि अर्थात असोज २९ गतेदेखि नै प्रणाली अनिवार्यरुपमा प्रयोगमा ल्याउने भन्दै सोही अनुसारको तयारीमा रहन अभिमुखीकरण व्यवसायीहरूलाई आग्रह गरेको थियो ।

तर आइतबारसम्म पनि समस्याको ठोस पहिचान हुन नसकेको बताइएको छ । नयाँ प्रणाली उपयोगमा आउन नसकेपछि विभागले पुरानै बायोमेट्रिक फिंगरप्रिन्ट प्रणालीमा हुने अभिमुखीकरण हाजिरीलाई मान्यता दिएर श्रम स्वीकृति जारी गरिरहेको छ ।  

विभागका इन्जिनियरले अध्यागमन विभाग, राहदानी विभाग तथा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागसँग छलफल गरिरहेको भएपनि समाधान नभेटिएको बताइएको छ । दुई हप्ताभन्दा बढी समयमा पनि समस्या समाधान हुन नसकेपछि सरोकारवालाहरू एकअर्कालाई आरोप प्रत्यारोप गर्न थालेका छन् ।

केही अभिमुखीकरण तालिम व्यवसायीहरूले भने नयाँ प्रविधि जडानका नाममा व्यवसायीमाथि लागत भार बढाएको, तर विभाग उक्त प्रणाली लागू नहोस् भन्ने चाहेका वैदेशिक रोजगार व्यवसायीको प्रभावमा परेर समस्या समाधान नगरेको आरोप लगाएका छन् । केही अभिमुखीकरण व्यवसायीले महासंघका निश्चित समूहलाई फाइदा पु¥याउन गडबडी गरेकाले अख्तियारमा उजुरी हाल्ने धम्की दिन थालेका छन् ।

नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघले मन्त्रालयले कार्यविधि जारी गरेपछि ९ महिनाअघि नै १ सय ४३ व्यवसायीले झण्डै १३ करोड खर्च गरेर अन्य पूर्वाधारसहित सिस्टम जडान गरिसकेको अवस्थामा काम गर्न नपाउनु दुखद् भएको र ऋण लिएर व्यवसायीले गरेको लगानी खेर जाने अवस्था उत्पन्न बताएको छ ।

उता वैदेशिक रोजगार बोर्डको सफ्टवेयरमा देखिएको समस्या भने समाधान भइ सेवाप्रवाह सञ्चालन भएको छ । गत शुक्रबारदेखि सफ्टवेयरमा समस्या आएको र आइतबार समस्या समाधान भइ सेवा प्रवाह शुरु भएको बोर्डका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए ।

सफ्टवेयरमा समस्या आएपछि वैदेशिक रोजगारीमा गएर मृत्यु भएका तथा अंगभंग भएका कामदार र उनीहरुका परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणलगायतको काम रोकिएको थियो ।

प्रवक्ता ढकालले भने, ‘वैदेशिक रोजगारीमा रहेका श्रमिकका सन्तानलाई प्रदान गर्ने सफ्टवेयरमा केही दिनदेखि समस्या आएको थियो । समस्या समाधानपछि सेवा शुरु भइसकेको छ ।’

सफ्टवेयरमा समस्या देखिएर सेवा प्रभावित भएपनि इमेल तथा भौतिकरुपमा उपस्थित भइ दिएको निवेदन भने संकलन निरन्तररुपमा भइरहेको ढकाललाई उद्धृत गर्दै राससले जनाएको छ ।

सम्बन्धित खबर