२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

अझै लागू हुन सकेन अभिमुखीकरणको आइरिस प्रणाली

Nada
२०८१ कार्तिक १ गते ०९:४४
Shares
 अझै लागू हुन सकेन अभिमुखीकरणको आइरिस प्रणाली

काठमाडौं : वैदेशिक रोजगार विभागले लामो तयारीपछि पनि वैदेशिक रोजगारीमा जानुपूर्व दिइने अभिमुखीकरण तालिमका लागि ‘फेसटाइम एटेन्डेन्स एन्ड आईरिस रिकोग्नेसन’ प्रणाली लागू गर्न सकेन ।

ncell

विभागले विदेश जाने प्रशिक्षार्थीको तालिममा औँठाछाप हाजिरी लिँदा अनियमितता भएको भन्दै दशैंपछि अर्थात् असोज २९ गते मंगलबारदेखि नै आँखाको रेटिना अध्ययन गर्ने आईरिस प्रणाली अनिवार्य रुपमा प्रयोगमा ल्याउने र सोही अनुसारको तयारीमा रहन अभिमुखीकरण व्यवसायीहरुलाई आग्रह गरेकोे थियो । विभागको पूर्व घोषणाअनुसार मंगलबारदेखि उक्त प्रणाली कार्यान्वयनमा आउनुपर्ने थियो ।

नयाँ प्रणाली उपयोगमा आउन नसकेपछि विभागले पुरानै बायोमेट्रिक फिंगरप्रिन्ट प्रणालीमा हुने अभिमुखीकरण हाजिरीलाई मान्यता दिएर श्रम स्वीकृति जारी गरिरहेको विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त बरालले जानकारी दिए । नयाँ प्रणालीले काम नगरेपनि श्रम स्वीकृतिको काममा कुनै समस्या नरहेको निर्देशक बरालले बताए ।

विभागले गत असोज १५ गतेदेखि फेसटाइम एटेन्डेन्स एन्ड आईरिस रिकोग्नेसन’ प्रणाली लागू गर्ने बताएको भएपनि नमूना परीक्षण गरेकै दिन नयाँ सिष्टम अपरेट हुन सकेको थिएन ।   

विभागका निर्देशक बरालले प्रणालीमा प्राविधिक समन्वयको समस्या देखिएकाले छिटोभन्दा छिटो समाधान गर्न बुधबार महानिर्देशकको तहबाट निर्देशन दिएकाले समाधान छ्ट्टिै आउने अपेक्षा गरिएको बताए । विभागका ईन्जिनियरले अध्यागमन विभागको प्रणालीमा जोडेर कामगर्दा समस्या आएको कारण बिहीबार अध्यागमन कार्यालयमा सम्पर्क गरी प्रणालीमा देखिएको समस्याको समाधान पहिल्याउने बताएका छन् ।

अभिमुखीकरण तालिम व्यवसायीहरुले भने नयाँ प्रविधि जडानका नाममा व्यवसायी माथि भार बढाएको तर काम गर्न अवरोध सिर्जना गरेको गुनासो गरेका छन् । नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघका महासचिव लक्ष्मी लामिछानेले मन्त्रालयले कार्यविधि जारी गरेपछि ९ महिनाअघि नै १ सय ४३ व्यवसायीले झण्डै १३ करोड खर्च गरेर पूर्वाधार निर्माण गरेर सिस्टम जडान गरिसकेको अवस्थामा काम गर्न नपाउनु दुखद् भएको बताए । उनले भने, ‘व्यवसायीलाई चर्को ब्याजदरमा ऋण लिएर लगानी गर्न लगाउने तर काम गर्न नदिने अत्यन्तै दुःखद् परिस्थिति बनेको छ ।’

यसअघि महासंघका अध्यक्ष राजाराम गौतमले व्यवसायीले अन्य उपकरण सहित दुई लाख ४० हजार रुपैयाँभन्दा बढी मूल्य पर्ने आईरिस स्क्यानर राखेको भन्दै विभागले न्यून गुणस्तरको सफ्टवेयर जडान गरेकोले काम नगरेको टिप्पणी गरेका थिए ।
 

सम्बन्धित खबर