
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच भेटवार्ता भएको छ ।
भेटका क्रममा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री कार्यालयका अनुसार शाहले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद व्यक्त गरे । साथै, उनले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे राजदूतसँग जानकारी लिएका थिए ।
सो अवसरमा राजदूत दलेलाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता महत्वपूर्ण र ऐतिहासिक हुने बताएका थिए । उनले भ्रमणका एजेन्डा तय भइसकेको र भ्रमणलाई उपलब्धिमूलक बनाउन दुवै देशका सम्बन्धित निकायले आवश्यक तयारी तीव्र पारेको जानकारी गराए ।
भेटवार्तामा नेपाल र भारतबीच रहिआएको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप मजबुत बनाउने विषयमा समेत छलफल भएको थियो ।