२०८३ मंसिर २ गते बुधवार / Nov 18 , 2026 , Wednesday
२०८३ मंसिर २ गते बुधवार

नयाँ आईजीपीबिरुद्ध खनिए ओली, एमाले फेरि सरकारमा फर्किने दाबी

Nada
२०८३ मंसिर २ गते १३:२०
Shares
नयाँ आईजीपीबिरुद्ध खनिए ओली, एमाले फेरि सरकारमा फर्किने दाबी

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राजनीतिक नेतृत्वलाई पक्राउ गरेर थुन्ने कुरा सामान्य विषय नभएको बताएका छन् । उनले एमाले फेरि सरकारको नेतृत्वमा फर्किने दाबीसमेत गरेका छन् ।

बुधबार काठमाडौँमा आयोजित पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले आईजीपी केसीले आफू, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थुन्ने अभिव्यक्ति दिएको भन्दै प्रश्न उठाएका हुन् ।

प्रहरी प्रमुखजस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले यस्तो अभिव्यक्ति दिनु उचित नभएको उनको भनाइ थियो । केसीले होसमा बोलेका हुन् कि बेहोसमा भन्दै ओलीले राजनीतिक नेतृत्वलाई पक्राउ गर्ने विषयलाई ठट्टाका रूपमा लिन नसकिने बताए ।

‘आईजीपी हुनेबित्तिकै होसमा हो कि बेहोसमा हो बोलेको सुन्छु म। आईजीपीको बोली त्यस्तो हुन्छ ? म केपी ओलीलाई थुन्निदिन्छु, शेरबहादुरलाई थुन्निदिन्छु, प्रचण्डलाई थुन्निदिन्छु। केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा भनेका मजाकका पात्र हुन् र ?’ ओलीले भने ।

आफूहरू राणा शासन, पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रविरुद्ध संघर्ष गर्दै राजनीतिमा आएको उल्लेख गर्दै उनले प्रहरी प्रशासनबाट राजनीतिक नेतृत्वलाई लक्षित गरी धम्कीपूर्ण अभिव्यक्ति आउनु गैरजिम्मेवार भएको बताए ।

ओलीले प्रमाणका आधारमा कारबाही गर्न चुनौती दिँदै कसैले पनि कानुनभन्दा माथि रहेको दाबी नगरेको तर पक्राउ गर्ने धम्की दिएर आतंक सिर्जना गर्न नहुने धारणा राखे ।

उनले गृहमन्त्री सुधन गुरुङको ‘फाइल खोल्दै छु, सबै थुनिन्छन्’ भन्ने अभिव्यक्तिप्रति पनि आपत्ति जनाए । गृहमन्त्रीले कसलाई लक्षित गरेर यस्तो अभिव्यक्ति दिएका हुन् भन्दै ओलीले सरकारका जिम्मेवार व्यक्तिहरूले आतंक फैलाउने भाषा प्रयोग गर्न नहुने बताए ।

‘गृहमन्त्रीले फाइल खोल्दै छु, पर्खनुस्, सबै थुनिन्छन् भन्नुभएको छ। कसलाई भनेको हो ? सबै थुनिन्छन् भने उहाँ र अरू को-को बाँच्छन् त नेपालमा ?’ ओलीले प्रश्न गरे ।

यसैबीच, ओलीले नेकपा एमाले जनताको समर्थन र संघर्षका बलमा सरकारमा पुगेको उल्लेख गर्दै पार्टी पुनः सरकारको नेतृत्वमा फर्किने दाबी गरे ।

एमाले यसअघि कसैको कृपा वा आशीर्वादले नभई जनताको समर्थनबाट सरकारमा पुगेको बताउँदै उनले आगामी दिनमा पनि जनताकै साथ लिएर सरकारको नेतृत्व गर्ने बताए ।

‘फेरि नेकपा एमाले सरकारमा जान्छ, कान खोलेर सुने हुन्छ। देश बनाउँछ नेकपा एमालेले,’ ओलीले भने ।

उनले एमाले पुनः सरकारमा पुगेपछि यसअघि अघि बढाइएका विकास निर्माणका कामलाई निरन्तरता दिने र ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई थप स्पष्टताका साथ अघि बढाउने दाबीसमेत गरे ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर