
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पछिल्लो ३५ वर्षको राजनीतिक अवस्थाको सम्पूर्ण दोष एमालेमाथि थोपर्ने प्रयास भइरहेको भन्दै त्यसको प्रतिवाद गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
एमालेको राष्ट्रिय कार्यकर्ता भेलामा प्रतिवेदन प्रस्तुत गर्दै पौडेलले २०४७ सालदेखि अहिलेसम्मको अवधिको सम्पूर्ण जिम्मेवारी एमालेले लिन नसक्ने बताए ।
उनले एमालेले आफ्नै नेतृत्वमा बनेका बहुमत तथा अल्पमतका सरकार र संयुक्त सरकारको नेतृत्व गर्दाको कामको मात्रै जिम्मेवारी लिने स्पष्ट पारे ।
पौडेलका अनुसार एमालेले विभिन्न समयमा करिब १२ वर्ष सरकारको नेतृत्व वा सहभागिता जनाएको छ । जसमा आफ्नै नेतृत्वमा करिब ९ वर्ष र अन्य दलको नेतृत्वमा करिब ५ वर्ष सरकारमा सहभागी भएको अवधि रहेको उनले उल्लेख गरे ।
३५ वर्षको समग्र जिम्मेवारी एमालेको टाउकोमा थोपर्ने प्रचार प्रायोजित भएको दाबी गर्दै उनले पार्टीको नेतृत्व र सहभागितामा भएका काम तथा त्यसका परिणामबारे मात्रै जवाफदेही हुने धारणा राखे ।