२०८३ मंसिर २ गते बुधवार / Nov 18 , 2026 , Wednesday
२०८३ मंसिर २ गते बुधवार

स्थानीय चुनाव जित्न एमालेको १३ रणनीति

घरदैलोदेखि मतदाता सर्वेक्षणसम्म, लोकप्रिय उम्मेदवार छनोट र डिजिटल प्रचारमा जोड

Nada
२०८३ मंसिर २ गते १३:४७
Shares
स्थानीय चुनाव जित्न एमालेको १३ रणनीति

काठमाडौं । निर्वाचनमा पराजयपछि रक्षात्मक अवस्थामा पुगेको नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै संगठन पुनर्गठनदेखि उम्मेदवार छनोट, मतदाता सर्वेक्षण, घरदैलो र डिजिटल प्रचारसम्मका रणनीति अघि सारेको छ । पार्टीको जनाधार फर्काउने र स्थानीय तहमा विजय हासिल गर्ने उद्देश्यसहित महासचिव शंकर पोखरेलले विस्तृत चुनावी कार्ययोजना प्रस्तुत गरेका छन् ।

पोखरेलको ‘शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारी’ शीर्षकको कार्यपत्रमा निर्वाचन जित्न पार्टीको तल्लो तहको संगठन बलियो बनाउने, मतदाताको मनोविज्ञान बुझ्ने, लोकप्रिय उम्मेदवार छनोट गर्ने र टोल तहसम्म निर्वाचन परिचालनको संरचना निर्माण गर्ने योजना समेटिएको छ ।

एमालेले चुनावी तयारीलाई मतदानको केही समयअघिको गतिविधिमा सीमित नराखी अहिलेदेखि नै संगठनात्मक अभियानका रूपमा अघि बढाउने रणनीति लिएको छ । त्यसका लागि पालिका तहमा केन्द्रीय प्रतिनिधि खटाउने, वडा र टोल कमिटी सक्रिय बनाउने तथा प्रत्येक घरधुरीसम्म पार्टीको पहुँच विस्तार गर्ने योजना छ ।

मतदाताको घरदैलोमा संगठन

एमालेको चुनावी रणनीतिको पहिलो प्राथमिकता पालिका, वडा र टोल कमिटीको सुदृढीकरण हो । निष्क्रिय कमिटीको समीक्षा, पुनर्गठन, अधिवेशन र जिम्मेवारी बाँडफाँट गरेर तल्लो तहको संगठनलाई चुनावी अभियानमा परिचालन गर्ने पोखरेलको प्रस्ताव छ ।

प्रत्येक वडा कमिटीले आफ्नो क्षेत्रका मतदाता, पार्टी सदस्य, समर्थक, शुभेच्छुक, प्रभावशाली व्यक्ति, जनसंगठन र स्थानीय मुद्दाको अद्यावधिक अभिलेख तयार गर्नुपर्नेछ । टोल कमिटी नभएका ठाउँमा सम्पर्क व्यक्ति तोकेर घरदैलो र मतदाता भेटघाटको जिम्मेवारी दिइनेछ ।

पार्टीले हरेक घरधुरीलाई संगठन विस्तारको आधार बनाउने रणनीति लिएको छ । वडा र पालिकामा पार्टीसम्बद्ध जनसंगठन निर्माण तथा परिचालनलाई पनि निर्वाचन तयारीसँग जोडिनेछ ।

मतदाताको मनोविज्ञान बुझ्न सर्वेक्षण

एमालेले प्रत्येक पालिका र वडाको राजनीतिक अवस्था तथा मतदाताको मनोविज्ञान बुझेर छुट्टाछुट्टै चुनावी रणनीति बनाउने भएको छ । विगतका स्थानीय, प्रदेश र संघीय निर्वाचनको परिणाम विश्लेषण गरी पार्टीको बलियो, मध्यम र कमजोर क्षेत्र पहिचान गरिनेछ ।

विपक्षी दलको संगठनात्मक अवस्था, जनप्रभाव, सम्भावित गठबन्धन, स्थानीय असन्तुष्टि र चुनावी समीकरणको अध्ययन गरिनेछ । युवा, महिला, किसान, मजदुर, व्यवसायी, शिक्षक, कर्मचारी तथा अन्य पेसागत समूहको राजनीतिक झुकावसमेत आकलन गर्ने योजना छ ।

तटस्थ मतदाता र वैदेशिक रोजगारीमा गएका नागरिकका घरपरिवारको पहिचान गरी उनीहरूसँग सम्बन्ध विस्तार गर्ने प्रस्ताव पनि कार्यपत्रमा छ ।

यसका लागि स्वतन्त्र र निष्पक्ष जनमत सर्वेक्षण गरिनेछ । सर्वेक्षणबाट पार्टीप्रतिको जनधारणा, उम्मेदवारको स्वीकार्यता, विपक्षीको प्रभाव र मतदाताका अपेक्षा बुझिनेछ । पार्टी कार्यकर्ता, जनप्रतिनिधि र स्थानीय समुदायको सुझावसमेत वडा भेला, टोल भेला, गोप्य सुझाव संकलन र डिजिटल फाराममार्फत लिइनेछ ।

लोकप्रिय उम्मेदवारलाई प्राथमिकता

एमालेले उम्मेदवार छनोटलाई चुनावी जितको महत्वपूर्ण आधार मानेको छ । पार्टीप्रतिको निष्ठासँगै जनसम्पर्क, सामाजिक प्रतिष्ठा, इमानदारी, कार्यक्षमता, नेतृत्व क्षमता र स्थानीय स्वीकार्यतालाई उम्मेदवार छनोटको मुख्य मापदण्ड बनाउने प्रस्ताव छ ।

वडा, पालिका र जिल्ला कमिटीको सिफारिसलाई प्राथमिकता दिइनेछ । आवश्यकताअनुसार आन्तरिक सर्वेक्षण र कार्यकर्ता परामर्शबाट उम्मेदवारको लोकप्रियता मापन गरिनेछ ।

पहुँच, लेनदेन र गुटगत प्रभावका आधारमा उम्मेदवार छनोट गर्ने प्रवृत्ति रोक्ने पोखरेलको प्रस्ताव छ । अन्तिम समयमा उम्मेदवार परिवर्तन गर्ने अभ्यासलाई समेत निरुत्साहित गरिनेछ । उम्मेदवार चयनपछि स्थानीय शासन, पार्टी नीति, जनसम्पर्क, सञ्चार, निर्वाचन कानुन र प्रतिबद्धतापत्र निर्माणसम्बन्धी प्रशिक्षण दिने योजना छ ।

प्रदेशदेखि टोलसम्म परिचालन कमिटी

निर्वाचन अभियानलाई व्यवस्थित बनाउन एमालेले प्रदेश, जिल्ला, पालिका, वडा र टोल तहसम्म निर्वाचन परिचालन कमिटी गठन गर्ने भएको छ । प्रत्येक कमिटीको कार्यक्षेत्र, जिम्मेवारी र कार्यतालिका स्पष्ट गरिनेछ ।

परिचालन कमिटीअन्तर्गत संगठन तथा सदस्य परिचालन, मतदाता सम्पर्क तथा घरदैलो, प्रचारप्रसार, डिजिटल प्रचार, जनसंगठन परिचालन, स्वयंसेवक परिचालन र आर्थिक व्यवस्थापनका उपसमिति बनाइनेछन् । महिला, युवा तथा सामाजिक समावेशिता, कानुनी सहायता, सांस्कृतिक कार्यक्रम र मतदान तथा मतगणना व्यवस्थापनका लागि समेत छुट्टाछुट्टै उपसमिति गठन गरिनेछ ।

प्रत्येक पालिका र वडामा निर्वाचन कार्यालय स्थापना गरी त्यसलाई सूचना, सम्पर्क, अभिलेख, बैठक, प्रचार सामग्री र स्वयंसेवक व्यवस्थापनको केन्द्र बनाइनेछ ।

घरदैलोबाट मतदाता सम्पर्क

एमालेको चुनावी कार्ययोजनामा घरदैलो अभियानलाई मुख्य आधार बनाइएको छ । प्रत्येक टोल र बस्तीमा जिम्मेवार कार्यकर्ता तोकेर मतदाता भेटघाट गरिनेछ । घरदैलोका क्रममा मतदाताका समस्या, सुझाव, अपेक्षा र उम्मेदवारप्रतिको धारणा संकलन गरिनेछ ।

युवा, महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, किसान, मजदुर, साना व्यवसायी र प्रवासी परिवारसँग छुट्टाछुट्टै संवाद कार्यक्रम सञ्चालन गर्ने योजना छ । वडा कमिटीले मतदाता सम्पर्कको प्रगति नियमित रूपमा पालिका निर्वाचन परिचालन कमिटीमा बुझाउनुपर्नेछ ।

निर्वाचन नजिकिएपछि मात्र जनतामाझ पुग्ने प्रवृत्ति अन्त्य गरी नियमित भेटघाट र जनसम्पर्कलाई संगठनात्मक कामकै रूपमा स्थापित गर्ने एमालेको लक्ष्य छ ।

स्थानीय मुद्दामा प्रतिबद्धतापत्र

एमालेले स्थानीय चुनावमा जनताको दैनिक जीवनसँग जोडिएका विषयलाई प्राथमिकता दिने रणनीति अघि सारेको छ । प्रत्येक वडा र पालिकाले आफ्नो क्षेत्रका आवश्यकता र समस्याका आधारमा छुट्टाछुट्टै प्रतिबद्धतापत्र तयार गर्नेछन् ।

खानेपानी, सडक, सरसफाइ, शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, बजार, रोजगारी, सामाजिक सुरक्षा, सुकुम्बासी समस्या, पर्यटन, स्थानीय उद्योग र उद्यमशीलतालाई प्रतिबद्धतापत्रमा समेटिनेछ । सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई समेत प्राथमिकता दिइनेछ ।

प्रतिबद्धतापत्र तयार गर्दा स्थानीय समाजसेवी, विषयविज्ञ, जनप्रतिनिधि, कार्यकर्ता र सरोकारवालासँग परामर्श गरिनेछ । प्रतिबद्धता यथार्थपरक, कार्यान्वयनयोग्य र उपलब्ध स्रोतसँग मेल खाने हुनुपर्ने पोखरेलको जोड छ ।

उपलब्धिको प्रचार, विपक्षीसँग तुलना

एमालेले आफ्नो नेतृत्वमा भएका कामलाई स्थानीय सन्दर्भसँग जोडेर मतदातासमक्ष प्रस्तुत गर्ने योजना बनाएको छ । पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, कृषि, रोजगारी र विपद् व्यवस्थापनका उपलब्धिको सूची तयार पारिनेछ ।

विपक्षी दलको संगठन, उम्मेदवार, विगतको काम र जनतासँगको सम्बन्धको समेत अध्ययन गरिनेछ । विपक्षीमाथि अपुष्ट आरोप लगाउनुभन्दा आफ्नो नीति, कार्यक्रम, उम्मेदवार र कामसँग तथ्यमा आधारित तुलना प्रस्तुत गर्नुपर्ने कार्यपत्रमा उल्लेख छ ।

डिजिटल प्रचार र तत्काल प्रतिवाद

सामाजिक सञ्जाललाई एमालेले निर्वाचन प्रचारको महत्वपूर्ण माध्यम बनाउने भएको छ । भिडियो, चित्र, प्रश्नोत्तर, पर्चा, पोस्टर, मोबाइल सन्देश र स्थानीय सञ्चारमाध्यममार्फत प्रचार अभियान सञ्चालन गरिनेछ ।

गलत सूचना, अफवाह र भ्रामक प्रचारको तत्काल तथ्यपूर्ण प्रतिवाद गर्न केन्द्रीय तथ्य–संवाद–प्रतिवाद संयन्त्र निर्माण गर्ने प्रस्ताव छ । पार्टीका उपलब्धि र उम्मेदवारका प्रतिबद्धतालाई सरल भाषा र स्थानीय आवश्यकतासँग जोडेर प्रस्तुत गरिनेछ । असभ्य, अपुष्ट र विभाजनकारी सामग्री प्रयोग नगर्ने नीति पनि कार्यपत्रमा उल्लेख छ ।

युवा र महिलालाई नेतृत्वमा अघि सार्ने

एमालेले युवा र महिलाको सहभागितालाई चुनावी परिचालनमा मात्र सीमित नराखी नेतृत्व विकाससँग जोड्ने योजना बनाएको छ । युवालाई नीति निर्माण, संगठन सञ्चालन र नेतृत्व विकासको जिम्मेवारी दिइनेछ ।

प्रविधि, उद्यम, शिक्षा, रोजगारी, जलवायु, सहरी शासन र डिजिटल अर्थतन्त्रजस्ता विषयमा युवाकेन्द्रित नीति समूह गठन गरिनेछ । महिलालाई संगठन, निर्वाचन, सञ्चार, वित्त र नीति निर्माणको नेतृत्वमा स्थापित गर्ने तथा दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, अपाङ्गता भएका व्यक्ति र सीमान्तकृत समुदायको प्रतिनिधित्व प्रभावकारी बनाउने प्रस्ताव छ ।

जनसेवाबाट जनविश्वास फर्काउने

निर्वाचन नजिकिँदा मात्र जनतामाझ पुग्ने प्रवृत्ति अन्त्य गरी नियमित जनसेवामा जोडिने पोखरेलको प्रस्ताव छ । सरकारमा नभए पनि पार्टीले जनताका दैनिक समस्यामा साथ दिन सक्ने गरी संगठन परिचालन गरिनेछ ।

विपद्, महामारी, शिक्षा सहयोग, स्वास्थ्य शिविर, कानुनी सहायता, रोजगारी परामर्श, कृषि सहजीकरण, विद्यार्थी मार्गदर्शन र प्रवासी परिवार सहयोगलाई पार्टीका नियमित गतिविधिसँग जोड्ने योजना छ ।

खानेपानी, विद्यालय, स्वास्थ्य चौकी, सडक, कर, जग्गा, सुरक्षा र रोजगारीजस्ता स्थानीय विषय वडा कमिटीको नियमित कार्यसूचीमा राखिनेछ । स्थानीय समस्या पहिचान गरी सम्बन्धित सरकार र निकायमार्फत समाधानका लागि पहल गरिनेछ ।

जनप्रतिनिधिको कामको समीक्षा

एमालेले आफ्ना जनप्रतिनिधिलाई पार्टीको नीति, निर्वाचन घोषणापत्र र जनताको अपेक्षाअनुसार काम गर्न जवाफदेही बनाउने योजना पनि अघि सारेको छ । जनप्रतिनिधिले गरेका कामको नियमित समीक्षा गर्ने र उनीहरूको निर्वाचन क्षेत्रसँगको सम्बन्धलाई मूल्याङ्कनको आधार बनाउने प्रस्ताव छ ।

जनप्रतिनिधिको सार्वजनिक छवि, नैतिक आचरण र आर्थिक पारदर्शितालाई समेत महत्व दिइएको छ । पार्टीभित्रका गुटबन्दी, अन्तर्घात र अनुशासनहीनता नियन्त्रण नगरी चुनावी सफलता सम्भव नहुने पोखरेलको निष्कर्ष छ ।

प्रतिपक्षी भूमिकाबाट जनमत निर्माण

स्थानीय निर्वाचनको तयारीसँगै वर्तमान सरकारविरुद्ध सशक्त प्रतिपक्षीय भूमिका निर्वाह गर्ने रणनीति पनि एमालेले लिएको छ । महँगी, बेरोजगारी, किसानको उत्पादनको मूल्य, मजदुरको अधिकार, स्वास्थ्य खर्च, शिक्षा, महिला सुरक्षा र सुकुम्बासी समस्यालाई पार्टीको दैनिक राजनीतिक एजेन्डा बनाउने प्रस्ताव छ ।

संसद्, सडक, अदालत, स्थानीय तह र जनसेवामार्फत जनताको पक्षमा भूमिका खेल्ने कार्यपत्रमा उल्लेख छ । सरकारको आलोचनासँगै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्योग र सुशासनका क्षेत्रमा वैकल्पिक कार्यक्रम प्रस्तुत गर्ने योजना पनि छ ।

नियमित अनुगमन र केन्द्रमा रिपोर्टिङ

निर्वाचन तयारीका प्रत्येक चरणको अनुगमन र समीक्षा गरी जिम्मेवार कमिटीलाई जवाफदेही बनाउने एमालेको योजना छ । संगठनको सक्रियता, घरदैलो, मतदाता सम्पर्क, प्रचार, उम्मेदवारको स्वीकार्यता र स्रोत व्यवस्थापनको अवस्थाको मूल्याङ्कन गरिनेछ ।

हरेक तहले निश्चित अवधिमा प्रगति प्रतिवेदन बुझाउनुपर्नेछ । स्थानीय तहमा बनेका योजना र निर्वाचन तयारीका गतिविधिबारे माथिल्लो कमिटी र विशेषगरी केन्द्रीय कार्यालयमा नियमित रिपोर्टिङ गर्ने व्यवस्था मिलाइनेछ ।

यसका लागि पार्टीले पालिका तहमा केन्द्रीय प्रतिनिधि खटाइसकेको कार्यपत्रमा उल्लेख छ । कुनै पालिकामा खटिएका प्रतिनिधिले समय दिन नसके प्रदेश इन्चार्जले नयाँ प्रतिनिधि खटाउन सक्नेछन् ।

संगठन र जनविश्वास पुनर्निर्माणको परीक्षा

पोखरेलको कार्यपत्रले एमालेको आगामी स्थानीय चुनावी रणनीति मूलतः संगठनात्मक पुनर्निर्माण र जनविश्वासको पुनःस्थापनामा केन्द्रित गरेको छ । घरदैलो, जनसुनुवाइ, स्थानीय मुद्दा, लोकप्रिय उम्मेदवार र व्यवस्थित निर्वाचन परिचालनलाई चुनावी विजयको आधार बनाइएको छ ।

उम्मेदवार छनोटमा स्थानीय कमिटीको सिफारिस, जनमत सर्वेक्षण र लोकप्रियतालाई महत्व दिनु विगतका कमजोरी सच्याउने प्रयासका रूपमा देखिन्छ । त्यस्तै, गुटबन्दी, अन्तर्घात, निष्क्रिय संगठन र नेतृत्वप्रतिको असन्तुष्टि समाधान नगरी चुनावी सफलता सम्भव नहुने कार्यपत्रको स्वीकारोक्ति छ ।

तर योजना प्रस्तुत गर्नु र कार्यान्वयन गर्नु फरक विषय हुन् । संगठनात्मक निष्क्रियता, आन्तरिक विवाद र जनविश्वासमा आएको क्षति समाधान गर्दै कार्यकर्तालाई एकताबद्ध रूपमा परिचालन गर्न सके मात्र एमालेले आफ्नो चुनावी रणनीतिलाई परिणाममा बदल्न सक्नेछ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर