
काठमाडौं । निर्वाचनमा पराजयपछि रक्षात्मक अवस्थामा पुगेको नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै संगठन पुनर्गठनदेखि उम्मेदवार छनोट, मतदाता सर्वेक्षण, घरदैलो र डिजिटल प्रचारसम्मका रणनीति अघि सारेको छ । पार्टीको जनाधार फर्काउने र स्थानीय तहमा विजय हासिल गर्ने उद्देश्यसहित महासचिव शंकर पोखरेलले विस्तृत चुनावी कार्ययोजना प्रस्तुत गरेका छन् ।
शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारी
क) विषय प्रवेशः
नेपालको राष्ट्रिय राजनीतिमा सदैव गौरवपूर्ण भूमिका निर्वाह गर्दै आएको हाम्रो पार्टी भदौ २३ र २४ को ‘जेन्जी आन्दोलन’ तथा फागुन २१, २०८२ को आमनिर्वाचनको परिणामपश्चात् रक्षात्मक अवस्थामा पुगेका बेला हामी यस महत्वपूर्ण राष्ट्रिय भेलामा उपस्थित भएका छौँ । यस भेलाको प्रमुख उद्देश्य विगतका कामको समीक्षाको जगमा सुधार र रुपान्तरणमार्फत् सिंगो पार्टीपङ्क्तिलाई वैचारिक, राजनीतिक तथा सङ्गठनात्मक रुपमा एकताबद्ध बनाउँदै पार्टीलाई माथिदेखि तलसम्म सबल र सुदृढ बनाउनु हो । असुरक्षित बनेको संविधान र लिक बाहिर पुगेको लोकतन्त्रलाई सही दिशामा फर्काउनु र आगामी आमनिर्वाचनमा पार्टीको विजयलाई सुनिश्चित गर्नु हो । तर त्यसका लागि सबैभन्दा पहिले आफूभित्रका कमजोरीहरु पहिचान गरेर त्यसको समाधान गर्दै बाह्य चुनौतीको सामना गर्ने सामथ्र्य निर्माण गर्नुपर्ने हुन्छ ।
वास्तवमा पार्टी जति–जति बेला सङ्कटमा पर्दछ, त्यति–त्यति बेला पार्टीको रक्षा गर्ने काममा यही कार्यकर्तापङ्क्ति अग्रमोर्चामा उभिने गरेको छ । इतिहासका विभिन्न कालखण्डमा पार्टीले अनेकौँ गम्भीर समस्या र चुनौतीहरुको सामना गर्दै, सफलता र असफलताका थुप्रै आरोह–अवरोह पार गरेर नै आजको अवस्थामा आइपुगेको हो । विगतमा पार्टी र आन्दोलनसामू उत्पन्न चुनौतीहरुलाई कहिले गम्भीर समीक्षा र पुनर्गठनमार्फत्, कहिले एकता र एकीकरणमार्फत् तथा कहिले समग्र आन्दोलनको समीक्षा गर्दै त्यसकै जगमा नयाँ शिराबाट अघि बढ्न सफल पार्टी हो यो । समाजवाद निर्माणको उद्देश्य बोकेको यो पार्टी सामूहिकतामा विश्वास गर्ने कमरेडली भावना बोकेर यहाँसम्म आइपुगेको हो । कमरेड पुष्पलालले भन्नुभएझैँ, नीति र विचारलाई प्रधान मानेर त्यसको वरिपरि संगठित हुँदै अघि बढेको पार्टी हो यो । जननेता मदन भण्डारीले भनेझैँ, प्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्न सकिन्छ भन्ने दृढ विश्वासका साथ जनताका बीचमा निरन्तर परीक्षामा जान तयार रहेको पार्टी हो यो ।
विगतमा हामीले जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितलाई दासढुङ्गाको रहस्यमय जीप दुर्घटनामा गुमाउँदाको गहिरो शोकलाई शक्तिमा बदल्ने सङ्कल्प गर्दै पार्टीको रक्षा र विकास गर्न सफल भएका छौँ । पटक–पटकको पार्टी विभाजनको पीडालाई पार्टी निर्माणको सङ्कल्पमा बदल्दै धुलो टकटक्याएर उठ्न सफल भएका छौँ । विभिन्न समयमा भएको चुनावी हारपछिको निराशालाई भविष्यको आशामा बदल्दै पुनः नेतृत्वकारी भूमिकामा स्थापित हुन सफल भएका छौँ । निश्चय नै अहिलेको हार र पीडा निकै गहिरो छ । त्यसले पारेको असर पनि बहुआयामिक छ । तर समस्या जति गहिरो भए पनि, चुनौती जति जटिल भए पनि त्यसको समाधान सम्भव छ र चुनौतीको सामना गर्दै अघि बढ्न सकिन्छ । तसर्थ, भविष्यमा नेकपा (एमाले) लाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिका रुपमा स्थापित गर्दै सिंगो राष्ट्रलाई यसै पार्टीको नेतृत्वमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को गन्तव्यमा पु¥याउन सकिन्छ भन्ने दृढ विश्वासका साथ म सम्पूर्ण कमरेडहरुलाई स्वागत गर्न चाहन्छु ।
२०८२ भदौ २३ को ’जेन्जी आन्दोलन’ तथा भदौ २४ को विध्वंसात्मक घटनाका कारण सरकारबाट हट्नुपर्ने अवस्था मात्र आएन, मुलुक नै प्रतिगमनको दिशातर्फ उन्मुख हुन पुग्यो । संसद बाहिरबाट संविधानले नचिनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउने काम भयो । यसरी बनाइएको प्रधानमन्त्रीको सिफारिसमा जननिर्वाचित प्रतिनिधिसभा विघटन गरियो । विगतमा संसद् विघटनका विपक्षमा पटक–पटक फैसला गरेको सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटउपर छलफल नै नगराई सरकारलाई सहज रुपमा आमनिर्वाचनमा जान दियो । भदौ २४ को विध्वंश र त्यसले सिर्जना गरेको त्रासको वातावरणमा खासै सुधार आउन नसकेकै अवस्थामा फागुन २१ को आमनिर्वाचन सम्पन्न भयो । आमनिर्वाचनमा लोकतन्त्रका लागि लामो सङ्घर्ष गरेका तथा संविधानसभामार्फत् जनअधिकारसम्पन्न सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रमुख राजनीतिक दलहरुले अनपेक्षित रुपमा हारको सामना गर्नुप¥यो । हाम्रो पार्टीका लागि त फागुन २१ को आमनिर्वाचनको परिणाम अत्यन्त अनपेक्षित र निराशाजनक बन्न पुग्यो । यसले स्वभाविक रुपमा सिंगो पार्टीपङ्क्तिलाई निराश र चिन्तित बनाएको छ । यसबाट कतिपयमा चरम निष्क्रियता र पलायनताको प्रवृत्तिसमेत देखिएको छ । यस प्रकारको स्थितिमा सुधार ल्याउन पार्टीको केन्द्रीय सचिवालयको आठौँ बैठकले ‘मिसन पार्टी जागरण’को कार्यक्रम अघि बढाएको छ । साथै, उक्त बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल गठन गरेर समाधानको बाटो पहिचान गर्ने कोशिस गरेको छ । आमनिर्वाचन २०८२ को परिचालनका लागि गठन गरिएको केन्द्रीय निर्वाचन परिचालन कमिटीले निर्वाचन परिचालनको महत्वपूर्ण भूमिकामा रहेका कार्यकर्ताबाट प्रश्नावली पठाएर तथा जनस्तरबाट समेत अनलाईन माध्यममार्फत् खुला सुझावसमेत सङ्कलन गरी समीक्षा प्रतिवेदन तयार गरेको छ ।
निर्वाचन परिचालन कमिटीले तयार गरेको प्रतिवेदनका १० बुँदे सुझाव र निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले तयार गरेको ४० बुँदे सुझाव पार्टी सुदृढीकरणका महत्वपूर्ण आधार हुन् । उपरोक्त सुझाव समेतलाई आधार बनाएर केन्द्रीय कमिटीको तेस्रो बैठकले १० कमजोरीलाई आत्सात् गर्दै त्यसलाई सुधार गर्दै अघि बढ्ने सङ्कल्प गरेको छ । आजको सन्दर्भमा पार्टी जागरण र सुदृढीकरणको उद्देश्य सहित २ कार्यभार र १५ कामको योजना अघि सारेको छ । आमनिर्वाचनपश्चात् विभिन्न तल्ला कमिटीहरुबाट प्राप्त सुझाव तथा पार्टीले गठन गरेको निर्वाचन परिचालन कमिटी र पुनर्गठन कार्यदलले तयार गरेको प्रतिवेदनको जगमा तेस्रो केन्द्रीय कमिटीको निर्णय समेतलाई आधार बनाएर पार्टी शुद्धीकरण, सुदृढीकरण तथा स्थानीय निर्वाचनको तयारीसम्बन्धी कार्ययोजना तयार गरिएको छ ।
ख) पार्टी शुद्धीकरणको आवश्यकता र औचित्य
नेकपा (एमाले) अनुशासन, जीवनशैली र आचरणका दृष्टिले उदाहरणीय पार्टीका रुपमा स्थापित हुँदै आएको छ । झापा विद्रोहको जगमा पुनर्गठित पार्टीको मनोविज्ञानलाई आत्मसात् गर्दै तीब्र दमन र उत्पीडनका बीच पार्टी र आन्दोलनको रक्षा गर्नेक्रममा नेता तथा कार्यकर्ताको फलामे अनुशासन, जनप्रिय जीवनशैली, नैतिक सदाचार र सादगीले महत्वपूर्ण भूमिका खेलेको थियो । यिनै विशेषताले पार्टीलाई नेपाली कम्युनिस्ट आन्दोलनको मूलप्रवाहका रुपमा स्थापित गर्न योगदान पु¥याएका हुन् ।
पछिल्लो समयमा पार्टी जीवनमा अनुशासन, जीवनशैली र आचरणका क्षेत्रमा केही गम्भीर विचलन देखिन थालेका छन् । यसप्रति कार्यकर्तापङ्क्तिमा गहिरो चिन्ता र चासो व्यक्त भएको छ । पार्टीप्रतिको जनविश्वास जोगाउन, संगठनलाई सुदृढ बनाउन र कम्युनिस्ट आचरणलाई व्यवहारमा स्थापित गर्न पार्टी शुद्धीकरण अभियान आवश्यक छ भन्ने निष्कर्षसहित दशौँ महाधिवेशनपश्चात् एजेण्डा बनाएर नै छलफल समेत गरिएको थियो । तर त्यसलाई व्यवहारमा लैजान सकिएन । परिणामस्वरुप पार्टीमा समस्या बढ्दै जाने स्थिति उत्पन्न भएको छ ।
शुद्धीकरणको उद्देश्य कसैलाई निषेध गर्ने हुनुहँुदैन । एकै प्रकृतिको घटनामा दोहोरो मापदण्डको प्रयोग भएको देखिनु पनि हुँदैन । यथार्थतामा पार्टीको आदर्श, अनुशासन, नैतिकता र जनविश्वासलाई पुनःस्थापित गर्नु नै शुद्धीकरणको उद्देश्य हो र हुनुपर्दछ । पार्टीभित्र देखिएका कमजोरी सच्याउँदै, जनतासँगको सम्बन्ध सुदृढ बनाउँदै र सामूहिकतामा आधारित पार्टी संस्कृति विकास गर्दै अघि बढ्नु आजको आवश्यकता हो । यसका लागि पार्टीले निम्न विषयमा विशेष ध्यान दिनुपर्छ ।
१. जनमुखी जीवनशैली र आचरण
पार्टीका नेता तथा कार्यकर्ताको जीवनशैली र आचरण उदाहरणीय हुनुपर्छ । उनीहरुको जीवनशैली सरल, जनमुखी, श्रमको सम्मान गर्ने तथा आमजनताले अपनत्व महसुस गर्ने खालको हुनुपर्छ । जनतासँग दूरी बढाउने व्यवहार, तडकभडक, अपमानजनक भाषा र शक्तिको दुरुपयोगलाई सदैव निरुत्साहित गर्नुपर्छ । पार्टीका हरेक तहले जनसम्पर्क, श्रम, उत्पादन, सामाजिक सेवा तथा जनसमस्याको समाधानसँग जोडिने कार्ययोजना बनाउनुपर्छ । नेता र कार्यकर्ताले जनताको घरदैलोमा पुग्ने, जनताका कुरा सुन्ने र दैनिक समस्याको समाधानका लागि सक्रिय हुने परिपाटी बसाल्नुपर्छ ।
२. नैतिक र चारित्रिक सदाचार
नेकपा (एमाले) सादा जीवन र उच्च विचारको आदर्शमा निर्माण भएको पार्टी हो । तर पछिल्लो समयमा कतिपय नेता–कार्यकर्ताको आर्थिक जीवन भड्किलो हुँदै गएको तथा नैतिक आचरणका सम्बन्धमा गम्भीर प्रश्न उठ्ने गरेको देखिन्छ । आर्थिक अपराध, अनियमितता तथा यौनजन्य गतिविधिसँग जोडिएका घटना र आरोप सार्वजनिक रुपमा उठ्दा तिनको संस्थागत छानवीन तथा तथ्यपूर्ण प्रतिवाद पर्याप्त रुपमा हुनसकेको छैन ।
यस्ता विषयमा मौनता वा ढिलाइले जनस्तरमा नकारात्मक प्रभाव पार्छ । आरोप सत्य वा असत्य जे भए पनि निष्पक्ष छानवीन, तथ्यमा आधारित निर्णय र आवश्यकताअनुरुप कारबाहीको प्रक्रिया स्थापित हुनुपर्छ । यस प्रश्नलाई पार्टी कमिटीले गम्भीरतापूर्वक लिनुपर्दछ र समयमै छानवीन गर्ने संस्थागत परिपाटी बसाउनु पर्दछ ।
३. आधारभूत वर्ग र समुदायमुखी सम्बन्ध
पार्टी नेतृत्व श्रमजीवी वर्ग, किसान, आधारभूत समुदाय तथा आमजनताबाट टाढिँदै गएको र सम्भ्रान्त वर्गको प्रभावमा पर्दै गएको आरोप लाग्ने गरेको छ । सरकारमा रहँदा सबै वर्ग र तहसँग सम्पर्कमा रहनुपर्ने बाध्यता हुन्छ । त्यसमाथि समाजको विकासको स्तरअनुरुप नेता र कार्यकर्ताको जीवनशैलीमा समयानुकूल परिवर्तन समेत हुन्छ नै । तर पार्टी कार्यकर्ता, श्रमजीवी वर्ग र आधारभूत समुदायले पार्टी तथा नेतृत्व आफूबाट टाढिँदै गएको अनुभूति गर्नु गम्भीर समस्या हो । यस्तो अवस्था सिर्जना नहोस् भन्ने कुरामा सदैव सचेत हुनुपर्दछ । पार्टीले आफ्नो वर्गीय आधार र जनसम्पर्कलाई योजनावद्ध रुपमा पुनः सुदृढ गर्नुपर्छ । यस सन्दर्भमा मिसन पार्टी जागरणको कार्ययोजनामा विस्तृत रुपमा चर्चा गरिएको छ ।
४. कमरेडली भावनासहितको पार्टी संस्कृति
पार्टीको वैधानिक व्यवस्थाअनुरुप पार्टीका सबै सदस्य समान हुन् भन्ने पार्टी भावना जोड दिनुपर्छ । यसका लागि कमरेडली भावनामा आधारित पार्टी संस्कृतिलाई बलियो बनाउनुपर्छ । पार्टीका नेता तथा कार्यकर्ताले आफ्ना कुरा सहज रुपमा राख्न सक्ने, खुला छलफल र बहस गर्नसक्ने तथा असहमतिलाई सम्मानपूर्वक व्यवस्थापन गर्नसक्ने वातावरण निर्माण गर्नुपर्छ । आलोचना र आत्मालोचनाको संस्कृतिलाई दण्डको भयबाट मुक्त गर्दै सुधारको सरल माध्यम बनाउनुपर्छ ।
५. अनुशासनहीनता, गुटबन्दी र अन्तर्घातको अन्त्य
पार्टीमा अनुशासनहीनता र अराजकता बढ्दै गएको अनुभूति पार्टीपङ्क्तिको छ । महाधिवेशन वा अधिवेशनका बेला आन्तरिक लोकतन्त्रको माग गर्ने तर परिणामलाई सहज रुपमा स्वीकार गर्न नसक्ने प्रवृत्तिले स्थायी गुटबन्दी र अन्तरविरोध बढाउने गरेको छ । अर्कोतिर पार्टीभित्रको वैचारिक र राजनीतिक मतभेदलाई समेत विरोधका रुपमा बुझ्ने गलत प्रवृत्ति समेत मौलाउँदै गएको छ । यस प्रकारको अवस्थामा सुधार आवश्यक छ ।
बढ्दो गुटबन्दी र अन्तरविरोधका कारण निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी हराउन खोज्ने गलत प्रवृत्ति समेत मौलाउँदै गएको देखिन्छ । वैचारिक र राजनीतिक मतभेदलाई विधिसम्मत ढङ्गले समाधान गर्नुपर्छ । तर अनुशासन उल्लङ्घन र अन्तर्घातमा संलग्नलाई समयमै कारबाही गर्नुपर्छ । आन्तरिक लोकतन्त्र, पार्टी अनुशासन र सामूहिक निर्णयको कार्यान्वयनलाई एकअर्काका पूरकका रुपमा स्थापित गर्नुपर्छ ।
६. आर्थिक पारदर्शिता र सम्पत्ति स्वघोषणा
हाम्रो पार्टीमा हरेक तहका कमिटीको हिसाब किताब वार्षिक रुपमा अडिट गर्नुपर्ने वैधानिक व्यवस्था छ । अधिवेशनका समयमा अनिवार्य रुपमा लेखापरीक्षकको प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने प्रचलन पनि छ । तर व्यवहारमा त्यसको कार्यान्वयनमा अलमल र ढिलाइ हुने गरेको पाइन्छ । जिल्लाभन्दा तलको अधिवेशनमा लेखापरीक्षण वा आर्थिक प्रतिवेदन पेश गर्ने कुरा स्वेच्छिक विषय जस्तो बन्न पुगेको छ । यस्तो कुरामा सुधार गर्नुपर्दछ ।
कुनै पनि तहको जनप्रतिनिधिमूलक निकायमा उम्मेदवार बन्न तथा राजनीतिक नियुक्तिमा जान आर्थिक पारदर्शिता र उच्च नैतिकता अनिवार्य मापदण्ड बनाएर लागु गर्नुपर्छ । कमिटीका सदस्य तथा पदाधिकारी जनप्रतिनिधिमूलक निकायमा निर्वाचित भएर आउँदा र जिम्मेवारीबाट बाहिरिँदा आफ्नो आर्थिक अवस्थाको अनिवार्य स्वघोषणा गर्नुपर्छ ।
सम्पत्तिको स्वघोषणाको विवरण पार्टीको सम्बन्धित निकायमा अभिलेखित गर्ने, आवश्यकताअनुसार परीक्षण गर्ने र गलत विवरण पेस गर्ने व्यक्तिमाथि कारबाही गर्ने व्यवस्था गरिनुपर्छ । यसले नेतृत्व र कार्यकर्तामा जवाफदेहीता तथा पारदर्शिताको संस्कृति निर्माण गर्न सहयोग पु¥याउँछ ।
७. अनुगमन र छानवीन प्रणाली
नेता तथा कार्यकर्तामाथि उठेका पार्टी अनुशासनको उल्लङ्घन, आर्थिक, नैतिक र चारित्रिक प्रश्नको निष्पक्ष छानवीन गरी सफाइ वा कारबाहीको व्यवस्थित प्रणाली स्थापित गर्नुपर्छ । यसका लागि केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग वा सम्बन्धित तहको पार्टी कमिटीले समस्याको प्रकृतिअनुरुपको अनुगमन तथा छानवीन कमिटी गठन गरी समयमै तथ्य र प्रमाणका आधारमा कारवाही गर्ने वा सफाई दिने काम गर्नुपर्दछ । तर पार्टी अधिवेशन वा उमेदवार चयनका समयमा मात्र अनुशासनको विषय उठाउने गलत अभ्यासमा भने रोक लगाउनु पर्दछ । वास्तवमा अनुशासन उल्लङ्घन र अन्तर्घातमा संलग्न व्यक्तिलाई संरक्षण गर्ने होइन, न्यायपूर्ण ढङ्गले कारबाही गर्ने र सुध्रन सहयोग गर्ने संस्कृति विकास गर्नुपर्छ ।
पार्टी शुद्धीकरण केवल घोषणाको विषय बन्नु हुँदैन । यसका लागि केन्द्रीय तहबाट स्पष्ट कार्ययोजना बनाई प्रदेश, जिल्ला, पालिका र वडा तहसम्म कार्यान्वयन गर्नुपर्छ । हरेक तहले निश्चित समयसीमाभित्र आफ्ना नेता–कार्यकर्ताको आचरण, आर्थिक पारदर्शिता, जनसम्पर्क, अनुशासन तथा सङ्गठनात्मक सक्रियताको अडिट गर्ने परिपाटीको विकास गर्नुपर्छ ।
ग) सङ्गठनात्मक क्षेत्रका समस्या
आमनिर्वाचन पछि पार्टीको सङ्गठनात्मक अवस्था थप कमजोर बनेको छ । पार्टीले सुरु गरेको मिसन पार्टी जागरण पनि खासै प्रभावकारी बन्नसकेको छैन । सदस्यता नवीकरणको काम सम्पन्न भए पनि डिजिटलाईट गर्ने योजना सफल हुनसकेको छैन । तल्ला कमिटीका बैठकहरुमा कोरमको समस्या बढ्दो छ । बैठक र कार्यक्रममा हुने सहभागीताले पनि कार्यकर्तामा उत्साह भर्न सकिएको छैन । जनसम्पर्क, कार्यकर्ता परिचालन, नेतृत्व विकास, जनसंगठनको भूमिका, उम्मेदवार छनोट, अनुशासन तथा वैचारिक–सञ्चार क्षेत्रका समस्या पार्टीको सङ्गठनात्मक जीवनका प्रमुख समस्या बन्न पुगेका छन् । सङ्गठनात्मक क्षेत्रमा देखिएका प्रमुख समस्यालाई निम्नानुसार शुत्रवद्ध गरिएको छ ।
१. जनतास“गको सम्बन्ध
पार्टीको सङ्गठनात्मक संरचना व्यापक र अनुभवी कार्यकर्ताको पङ्क्ति ठूलो भए पनि जनताको दैनिक जीवनसँग पार्टीको सम्बन्ध धेरै ठाउँमा कमजोर बनेको छ । किसान, मजदुर, साना व्यवसायी, शिक्षक, स्वास्थ्यकर्मी, महिला, युवा, विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, भूमिहीन तथा सुकुम्बासीका दैनिक समस्या र सरोकारमा पार्टीको नियमित उपस्थिति प्रभावकारी हुनसकेको छैन ।
पार्टीका नेता, कार्यकर्ता र जनप्रतिनिधि जनताको घर, खेत, कारखाना, विद्यालय, अस्पताल, बजार, सहकारी तथा डिजिटल संसारसँग निरन्तर जोडिनुपर्छ । जनसम्पर्कलाई निर्वाचनकेन्द्रित काममा सीमित नगरी नियमित सङ्गठनात्मक कार्यका रुपमा स्थापित गर्नुपर्छ ।
२. युवा पुस्तास“ग संवाद र आवद्धता
नयाँ पुस्ताको रोजगारी, उद्यम, गुणस्तरीय शिक्षा, वैदेशिक पलायन, डिजिटल अवसर, मानसिक स्वास्थ्य, राजनीतिक सहभागिता तथा भविष्यप्रतिको चिन्तालाई पार्टीले उनीहरुकै भाषा र माध्यमबाट पर्याप्त रुपमा सम्बोधन गर्न सकिएको छैन । पार्टीले इतिहासका उपलब्धी र सङ्घर्षका अनुभव प्रस्तुत गरे पनि भविष्यका ठोस अवसर र युवाका तत्कालीन समस्यासँग जोडेर संवाद गर्न कमी भएको छ ।
युवालाई केवल परिचालनको साधनका रुपमा नभई नीति निर्माण, संगठन निर्माण र नेतृत्व विकासको साझेदारका रुपमा लिनुपर्छ । युवाकेन्द्रित अभियान, डिजिटल संवाद, नेतृत्व विकास तालिम तथा जिम्मेवारीको सुनिश्चित व्यवस्था गर्नुपर्छ । यसका लागि सबै तहका कमिटी र पार्टीसम्वद्ध जनसंगठनहरुले विशेष योजना बनाउनु पर्छ ।
३. सुचना–सञ्चार र डिजिटल उपस्थिति
पार्टीका विचार, नीति, उपलब्धी र तथ्यमा आधारित उत्तर समयमै, सरल भाषामा र प्रभावकारी माध्यमबाट जनतासम्म पुग्न सकेका छैनन् । गलत सूचना, एकतर्फी प्रचार र भावनात्मक भाष्यको सामना गर्न पार्टीको सञ्चार संयन्त्र पर्याप्त रुपमा सक्रिय र सक्षम हुनसकेका छैनन् ।
डिजिटल मञ्चलाई पूरक साधन होइन, जनसम्पर्क र राजनीतिक संवादको प्रमुख माध्यमका रुपमा विकास गर्नुपर्छ । सामाजिक सञ्जाल, डिजिटल सामग्री, तथ्य–जाँच, प्रवक्ता प्रणाली तथा स्थानीयस्तरको सञ्चार संयन्त्रलाई व्यवस्थित गर्नुपर्छ ।
४. कमिटी प्रणाली, कार्यविभाजन र तहगत जिम्मेवारी
सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारीको सिद्धान्त प्रभावकारी रुपमा लागू हुन सकेको छैन । कामका अनेक क्षेत्र छन् तिनको पहिचान गरी कार्य विन्यास हुने गरेको छैन । पार्टी काम कमिटीका निश्चित व्यक्ति र पदाधिकारीमा सीमित बन्दै गएको छ । सामान्य समस्या वा विवादसमेत सिधै केन्द्रीय तहमा लैजाने प्रवृत्ति बढेको छ । तल्लो तहका कमिटीले आफ्ना अधिकार र जिम्मेवारीअनुसार काम गर्न नसक्ने तथा माथिल्लो तहले तल्लो कमिटीको कार्यक्षेत्रमा अनावश्यक हस्तक्षेप गर्ने अवस्था देखिएको छ ।
केन्द्रदेखि वडा र टोल तहसम्म कमिटीको अधिकार, कार्यक्षेत्र र जिम्मेवारी स्पष्ट गर्नुपर्छ । सम्बन्धित तहले समाधान गर्नसक्ने विषय त्यहीँ समाधान गर्ने, विधानले अनिवार्य ठानेको आवश्यक विषयमात्र माथिल्लो तहमा पठाउने तथा हरेक तहलाई उत्तरदायी बनाउने प्रणाली स्थापित गर्नुपर्छ ।
५. कमिटीको आकार, सक्रियता र कार्यसम्पादन
धेरै कमिटी अत्यधिक ठूला, भद्दा र औपचारिक बनेका छन् । बैठक सिर्जनात्मक बहस, कार्ययोजना र जिम्मेवारी बाँडफाँटको थलो बन्नेभन्दा औपचारिक अनुमोदनमा सीमित हुने अवस्था देखिएको छ । कतिपय कमिटी नाममात्रका रहेका छन् । कमिटी भएका पदाधिकारी र सदस्यको नियमित सक्रियता पनि देखिदैन । कतिपयमा पद जोगाउनका लागि मात्र बैठक उपस्थित हुने प्रवृत्ति देखिन्छ ।
कमिटीलाई चुस्त, कार्यमुखी र परिणाममुखी बनाउनुपर्छ । प्रत्येक सदस्यको स्पष्ट जिम्मेवारी, कार्ययोजना, समयसीमा र कार्यसम्पादन मूल्याङ्कनको व्यवस्था हुनुपर्छ । निष्क्रिय कमिटीलाई सक्रिय बनाउने, आवश्यकताअनुसार पुनर्गठन गर्ने तथा नियमित बैठक, प्रतिवेदन र अनुगमनको व्यवस्था गर्नुपर्छ । पार्टी विधानले कमिटीको अधिकतम् सिमा निर्धारण गरेको छ । अब अधिवेशन गर्दा सकेसम्म संख्या घटाउने कुरामा विशेष ध्यान दिनुपर्छ ।
६. कार्यकर्ता मूल्याङ्कन, अवसर वितरण र असन्तोष व्यवस्थापन
कार्यकर्ताको मूल्याङ्कन वैज्ञानिक, वस्तुनिष्ठ र कार्यसम्पादनमा आधारित हुनसकेको छैन । सङ्गठनात्मक र वैचारिक काममा खटिनेभन्दा अवसरका लागि नेतृत्वको वरिपरी घुम्ने प्रवृत्तिले प्राथमिकता पाएको अनुभूति कार्यकर्तापङ्क्तिमा देखिन्छ । जिम्मेवारी, पदोन्नति, अवसर तथा उम्मेदवार छनोटका विषयमा असन्तोष उत्पन्न हुँदा त्यसलाई समयमै सुन्ने र समाधान गर्ने प्रणाली पनि कमजोर छ ।
कार्यकर्ताको मूल्याङ्कन निष्ठा, जनसम्पर्क, वैचारिक क्षमता, सङ्गठनात्मक सक्रियता, कार्यसम्पादन, अनुशासन र नैतिक आचरणका आधारमा गर्नुपर्छ । अवसर वितरणमा पारदर्शी मापदण्ड लागू गर्नुपर्छ । असन्तोषलाई बाहिर विस्फोट हुन नदिई संवाद, बहस र विधिसम्मत निर्णयमार्फत् पार्टीभित्रै समाधान गर्ने संस्कृति विकास गर्नुपर्छ ।
७. पार्टी सदस्यता व्यवस्थापन र कार्यकर्ता निर्माण
पार्टी सदस्य संख्या बढाउने नाममा गुणस्तरहीन सदस्यता वितरण गर्ने प्रवृत्तिले संगठनको वास्तविक शक्ति कमजोर बनाएको छ । कागजी सदस्यको संख्या बढे पनि नियमित सम्पर्कमा रहने, प्रशिक्षण लिने, पार्टी काममा सक्रिय हुने र जनतासँग जोडिने सदस्यको संख्या अपेक्षाअनुरुप बढ्नसकेको छैन । पछिल्लो समयमा सदस्यता नवीकरण गर्न नचाहने प्रवृत्ति पनि बढ्दो छ ।
सदस्यता वितरण, नवीकरण र अभिलेख व्यवस्थापनलाई गुणस्तरमा आधारित बनाउनुपर्छ । सदस्यको उमेर, कार्यक्षेत्र, वैचारिक प्रशिक्षण, सङ्गठनात्मक सक्रियता र जिम्मेवारीका आधारमा वर्गीकरण गरी अभिलेखलाई पूर्णरुपमा डिजिटल बनाउनुपर्छ । सदस्यतालाई प्रशिक्षण, जनसम्पर्क र नियमित सङ्गठनात्मक कामसँग जोड्नुपर्छ । आफ्नो तहको पार्टी सदस्यको अभिलेख सम्बन्धित तहको कमिटीमा समेत राख्ने व्यवस्था मिलाउनु पर्दछ ।
८. नेतृत्व विकास, पुस्तान्तरण र बहुपदीय संरचनाको अभ्यास
पार्टी जीवनको लोकतान्त्रिकरणका माध्यमबाट पार्टीले बहुपदीय संरचनामा जाने निर्णय गरेको थियो । नेतृत्व विकास, हस्तान्तरण र पुस्तान्तरणको सहज प्रणाली विकास गर्न खोजेको थियो । तर व्यवहारमा नेतृत्व विकास र हस्तान्तरण विषय योजनाबद्ध प्रणाली पर्याप्त रुपमा स्थापित हुन सकेको छैन । पछिल्लो समयमा पुरानो र नयाँ पुस्ताबीच विश्वास, समझदारी र सहकार्य कमजोर हुँदा त्यसको असर पार्टी निर्माणमा समेत परेको छ । बहुपदीय संरचना विकास भए पनि सबै पदाधिकारीको कार्यविभाजन स्पष्ट नहुँदा कतिपय जिम्मेवारी सीमित व्यक्तिमा केन्द्रित हुने र कतिपय पदाधिकारी जिम्मेवारीविहीन हुने अवस्था देखिएको छ ।
पार्टीमा सम्भावनायुक्त कार्यकर्ताको पहिचान, प्रशिक्षण, जिम्मेवारी, मूल्याङ्कन र पदोन्नतिको व्यवस्थित प्रणाली निर्माण गर्नुपर्छ । पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा, सीप तथा प्रविधि–ज्ञानलाई जोडेर नेतृत्व विकास गर्नुपर्छ । सबै पदाधिकारीको स्पष्ट कार्यविभाजन गरी सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीको प्रणाली स्थापित गर्नुपर्छ ।
९. आन्तरिक लोकतन्त्र, आलोचना–आत्मालोचना र पार्टी अनुशासन
कमिटीभित्र खुला छलफल, स्वस्थ बहस, आलोचना र आत्मालोचनाको संस्कृति कमजोर भएको छ । सुझाव वा आलोचनालाई व्यक्तिगत आक्षेपका रुपमा लिने प्रवृत्ति बढेको छ । यसले कार्यकर्तालाई कमिटीभित्र बोल्न असहज बनाएको छ र असन्तुष्टि सामाजिक सञ्जाल वा अनौपचारिक वृत्तमा अभिव्यक्त हुने गरेको छ ।
महाधिवेशन वा अधिवेशनमा प्रतिस्पर्धालाई स्वीकार गर्ने तर परिणामलाई सहज रुपमा नस्वीकार्ने प्रवृत्तिले गुटबन्दी र अन्तरविरोध बढाएको छ । आन्तरिक लोकतन्त्र, पार्टी अनुशासन र सामूहिक निर्णयको कार्यान्वयनलाई एकअर्काका पूरकका रुपमा स्थापित गर्नुपर्छ । आलोचना र आत्मालोचनालाई दण्डको भयबाट मुक्त गर्दै सुधारको माध्यम बनाउनुपर्छ ।
१०. अनुशासनहीनता, गुटबन्दी र अन्तर्घात
अनुशासन उल्लङ्घन, स्थायी गुटबन्दी, असहयोग तथा निर्वाचनमा अन्तर्घातका घटना संगठनका लागि गम्भीर चुनौती हुन् । यस्ता विषयमा समयमै निष्पक्ष कारबाही नहुँदा अराजकता बढ्छ र पार्टीको सामूहिक निर्णयको अवमूल्यन हुन्छ ।
अनुशासन उल्लङ्घन तथा अन्तर्घातका घटनाको प्रमाणका आधारमा छानवीन गरी समयमै कारबाही गर्नुपर्छ । कारबाही प्रतिशोधका लागि होइन, पार्टीको मर्यादा, अनुशासन र सामूहिक निर्णयको रक्षा गर्न हुनुपर्छ । साथै, असन्तुष्टि र अन्तरविरोधलाई संवाद तथा विधिसम्मत प्रक्रियाबाट समाधान गर्ने प्रणाली बलियो बनाउनुपर्छ ।
११. उम्मेदवार छनोट र जनप्रतिनिधिको उत्तरदायित्व
उम्मेदवार छनोटमा स्थानीय कमिटीको सिफारिस, जनसम्पर्क, सामाजिक प्रतिष्ठा, इमानदारी, कार्यक्षमता तथा जनविश्वासलाई पर्याप्त महत्व नदिइएको गुनासो छ । अन्तिम समयमा उम्मेदवार परिवर्तन गर्ने, पहुँच वा अन्य प्रभावका आधारमा निर्णय हुने तथा निर्णयप्रति स्थानीय संगठनको अपनत्व कमजोर हुने समस्या देखिएको छ ।
उम्मेदवार छनोटमा सम्बन्धित भूगोलको कार्यकर्ता र स्थानीय कमिटीको सिफारिसलाई प्रमुख आधार बनाउनुपर्छ । उम्मेदवारको जनसम्पर्क, सार्वजनिक छवि, कार्यसम्पादन, वैचारिक प्रतिबद्धता र नैतिक आचरणको स्पष्ट मापदण्ड बनाउनुपर्छ । आवश्यकताअनुसार स्थानीय तहमा आन्तरिक निर्वाचन वा परामर्शबाट लोकप्रिय र सक्षम उम्मेदवार चयन गर्ने विधि विकास गर्नुपर्छ ।
जनप्रतिनिधिले पार्टीको नीति, निर्णय र निर्वाचन घोषणापत्रअनुरुप काम गरे–नगरेको नियमित समीक्षा हुनुपर्छ । जनप्रतिनिधिलाई जनताप्रति, पार्टीप्रति र आफ्नो निर्वाचन क्षेत्रप्रति उत्तरदायी बनाउने संयन्त्र निर्माण गर्नु आवश्यक छ ।
१२. जनसंगठनको स्वायत्तता र प्रभावकारी परिचालन
पार्टीसम्बद्ध जनसंगठनले सम्बन्धित वर्ग, समुदाय र पेशागत क्षेत्रका वास्तविक मुद्दामा अपेक्षित रुपमा नेतृत्व गर्नसकेका छैनन् । पार्टीप्रतिको अत्यधिक निर्भरता, नियमित काममा पनि निर्देशनको प्रतीक्षा तथा अनावश्यक हस्तक्षेपले जनसंगठनको स्वायत्तता र सिर्जनशीलता कमजोर भएको छ ।
जनसंगठनलाई पार्टीको नीतिगत नेतृत्वअन्तर्गत आवश्यक सङ्गठनात्मक स्वायत्तता दिनुपर्छ । किसान, मजदुर, महिला, युवा, विद्यार्थी, दलित, भूमिहीन–सुकुम्बासी तथा सीमान्तकृत समुदायका मुद्दामा जनसंगठनलाई सक्रिय र विश्वसनीय नेतृत्वका रुपमा स्थापित गर्नुपर्छ । जनसंगठनको मूल्याङ्कन सम्बन्धित वर्ग, समुदाय वा पेशागत क्षेत्रमा गरेको कामका आधारमा गर्नुपर्छ । नीतिगत नेतृत्व र सङ्गठनात्मक स्वायत्तताको नीतिलाई प्रभावकारी बनाउनु पर्छ ।
१३. शासन, सेवा प्रवाह र नैतिक विश्वास
सरकारमा हुँदा ठूला नीति, पूर्वाधार र दीर्घकालीन कार्यक्रम मात्र पर्याप्त हुँदैनन् । जनताले दैनिक जीवनमा सेवा, सम्मान, सहजता र परिणामको अनुभूति गर्न पाउनु पर्छ । अस्पताल, मालपोत, प्रहरी, विद्यालय, किसान सहायता, रोजगारी तथा कर प्रशासनमा जनताले पाउने व्यवहारले सरकार र पार्टीप्रतिको धारणा निर्माण गर्छ ।
आरोप वा शङ्काको सामना केवल प्रतिवादबाट मात्र सम्भव हुँदैन । पारदर्शी प्रक्रिया, सार्वजनिक उत्तर, निष्पक्ष छानवीन र समयमै तथ्यपूर्ण जानकारी आवश्यक हुन्छ । जनप्रतिनिधि र जिम्मेवार नेता–कार्यकर्ताको आर्थिक तथा नैतिक आचरणलाई पारदर्शी र उत्तरदायी बनाउनुपर्छ । राम्रो काम गरेर मात्र हुँदैन रहेछ, राम्रो देखिन पनि सक्नु पर्छ ।
१४. वैचारिक काम र नया“ प्रश्नको सामना
पार्टीको विचार बलियो भए पनि त्यसलाई नयाँ समयको भाषा र जनजीवनका प्रश्नसँग जोडेर प्रस्तुत गर्ने काम पर्याप्त हुनसकेको छैन । कृत्रिम बुद्धिमत्ता, डिजिटल अर्थतन्त्र, जलवायु परिवर्तन, वैदेशिक श्रम, सहरी गरिबी, गिग अर्थतन्त्र, शिक्षा, मानसिक स्वास्थ्य, महिला सुरक्षा, लैङ्गिक समानता र युवा उद्यमजस्ता विषयमा पार्टीको ध्यान आवश्यक मात्रामा जानसकेको छैन । नयाँ समस्यामा आधारित प्रश्नको उत्तर नयाँ नै हुन्छ । बदलिएको समय र सन्दर्भअनुरुप पार्टीका नेता र कार्यकर्ताले आफूलाई पार्टी नीतिअनुरुप अद्यावधिक गरिरहनु पर्छ । कतिपयमा समयसँग जोडिने नाममा वैचारिक आधारबाट विचलित हुने समस्या समेत देखिन्छ । यस्ता कुराप्रति सचेत हुनु आवश्यक छ ।
पार्टीको वैचारिक प्रशिक्षणलाई नियमित, तहगत र जीवन्त बनाउनुपर्छ । पार्टीका दस्तावेज, नीति र कार्यक्रमलाई सरल, समकालीन तथा जनताले बुझ्ने भाषामा प्रस्तुत गर्नुपर्छ । विचारलाई जनताको दैनिक जीवन, उत्पादन, रोजगारी, सुशासन र सामाजिक न्यायसँग जोडेर व्यवहारमा उतार्नुपर्छ ।
१५. कार्यान्वयनको प्राथमिकता
पार्टीका नीति र निर्णयहरु केवल दस्तावेज वा घोषणामा सीमित हुनुहुँदैन । केन्द्रीय तहबाट स्पष्ट कार्ययोजना, मापदण्ड, जिम्मेवारी र समयसीमा तय गरी प्रदेश, जिल्ला, पालिका, वडा र टोल तहसम्म कार्यान्वयन गर्नुपर्छ ।
हरेक तहले जनसम्पर्क, कमिटीगत सक्रियता, सदस्यता, कार्यकर्ता परिचालन, जनसंगठन, अनुशासन, उम्मेदवार छनोट, जनप्रतिनिधिको काम, नेतृत्व विकास र वैचारिक प्रशिक्षणको नियमित समीक्षा गर्नुपर्छ । सुधारको प्रगति मापन गर्ने, जिम्मेवार निकायलाई जवाफदेही बनाउने र परिणामका आधारमा पुनर्संरचना गर्ने प्रणाली स्थापित गर्नुपर्छ ।
सुदृढ संगठन, जनतासँग घनिष्ठ सम्बन्ध, प्रशिक्षित कार्यकर्ता, उत्तरदायी नेतृत्व, सक्रिय जनसंगठन र अनुशासित पार्टी जीवनको माध्यमबाट मात्र पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न सकिन्छ । माथि उल्लेखित समस्याको समाधानको योजना नै यतिबेलाका लागि पार्टी सुदृढीकरणका आधार हुन् । पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकले दुई कार्यभार र १५ कामको योजना अघि बढाएको छ । पार्टी सुदृढीकरणको आधारका रुपमा रहेका १५ काम निम्नानुसार रहेका छन् ।
घ) पार्टी सुदृढीकरणको आधारः पन्ध्र प्रमुख काम
पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकले अघि सारेको १५ काम मूलतः पार्टी सुदृढीकरणका आधार हुन् । पार्टीले सही नीति र योजना बनाएर मात्र पुग्दैन त्यसलाई तदनुरुप व्यवहारमा कार्यान्वयन गर्न सक्नु पर्दछ । विगतमा बनाएका राम्रा योजनाहरु समेत कार्यान्वयनमा लैजान नसकेको तितो यथार्थबाट शिक्षा लिनुपर्छ । माथि उल्लेखित सङ्गठनात्मक क्षेत्रका समस्याको समाधानमा केन्द्रित हुनेगरी तल उल्लेखित १५ कामको योजनाबद्ध कार्यान्वयनमा सिंगो पार्टीपङ्क्ति क्रियाशील हुनुपर्छ ।
१. सत्य संवाद अभियान सञ्चालन गर्ने
२०८२ भदौ २३ र २४ को घटनाको यथार्थ, लोकतान्त्रिक प्रक्रियामाथि परेको असर, निर्वाचनको वातावरण, पार्टीमाथि लगाइएका आरोपको तथ्य, पार्टीका आफ्ना कमजोरी तथा सुधारको सङ्कल्प स्पष्ट रुपमा जनतासम्म पु¥याउनुपर्छ । प्रत्येक जिल्लामा सत्य संवाद अभियान, प्रत्येक पालिकामा जनसुनुवाइ तथा प्रत्येक वडामा घरदैलो र खुला छलफल सञ्चालन गर्नुपर्छ । पार्टी जागरण अभियानको अंगका रुपमा स्थानीय निर्वाचनसम्म यसलाई प्रभावकारी बनाउँदै लैजानु पर्छ ।
२. सशक्त प्रतिपक्षीय भूमिका निर्वाह गर्ने
महँगी, बेरोजगारी, किसानको उत्पादनको मूल्य, मजदुरको हक, साना उद्यमीको समस्या, विद्यार्थीको भविष्य, स्वास्थ्य खर्च, महिला सुरक्षा, सुकुम्बासीको आवास, सीमावर्ती नागरिकको सम्मान तथा प्रवासी नेपालीको पीडालाई पार्टीको दैनिक राजनीतिक एजेन्डा बनाउनुपर्छ । संसद्, सडक, अदालत, स्थानीय तह र जनसेवामार्फत् जनताको पक्षमा प्रभावकारी भूमिका खेल्नुपर्छ । वर्तमान सरकारका जनविरोधी, लोकतन्त्रविरोधी र राष्ट्रलाई हानीनोक्सानी पुग्ने स्वेच्छाचारी र अधिनायकवादी क्रियाकलापको विरोध र भण्डाफोर गर्नु पर्दछ ।
३. डिजिटल सञ्चार र प्रतिवाद प्रणाली सुदृढ गर्ने
गलत सूचना र भ्रामक प्रचारको तत्काल तथ्यपूर्ण प्रतिवाद गर्न केन्द्रीय तथ्य–संवाद–प्रतिवाद संयन्त्र निर्माण गर्नुपर्छ । आरोप, निर्णय, कानुनी अवस्था तथा आधिकारिक कागजातसम्बन्धी तथ्य सरल भाषा, छोटा भिडियो, चित्र, प्रश्नोत्तर र स्थानीय भाषाका सामग्रीमार्फत् जनतासम्म पु¥याउनुपर्छ ।
४. संगठनलाई नतिजामुखी बनाउने
पार्टीको शक्ति सदस्य संख्या मात्र होइन, सदस्य र कमिटीको सक्रियता, जनसम्पर्क र जनसमस्या समाधानको क्षमतामा मापन हुनुपर्छ । प्रत्येक कमिटीले मासिक कार्ययोजना, कार्यसम्पादन प्रतिवेदन र परिणामको समीक्षा गर्नुपर्छ । घरदैलो, जनसुनुवाइ, युवा परिचालन, महिला नेतृत्व, स्थानीय मुद्दा, जनवर्गीय भेटघाट तथा डिजिटल सञ्चारका कामको नियमित मूल्याङ्कन गर्नुपर्छ ।
५. युवा नेतृत्वको वास्तविक विकास गर्ने
युवालाई नारा लगाउने शक्तिमा मात्र सीमित राख्नु हुँदैन । नीति निर्माण, संगठन सञ्चालन र नेतृत्व विकासको जिम्मेवारी दिनुपर्छ । प्रविधि, उद्यम, शिक्षा, रोजगारी, जलवायु, सहरी शासन, डिजिटल अर्थतन्त्र, संस्कृति र नागरिक स्वतन्त्रताका विषयमा युवाकेन्द्रित नीति समूह गठन गर्नुपर्छ । प्रशिक्षण, जिम्मेवारी, कार्यक्षेत्र र मूल्याङ्कनमार्फत् योजनाबद्ध पुस्तान्तरण गर्नुपर्छ ।
६. महिला नेतृत्व र सामाजिक प्रतिनिधित्वलाई प्रभावकारी बनाउने
महिलालाई नीति, संगठन, निर्वाचन, वित्त, सञ्चार तथा आन्दोलनको नेतृत्वमा स्थापित गर्नुपर्छ । दलित, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, पिछडिएको क्षेत्रका समुदाय, प्रवासी श्रमिक तथा सहरी गरीबको आवाज पार्टी संरचनामा प्रभावकारी रुपमा समेट्नुपर्छ । सहभागितालाई औपचारिकतामा सीमित नगरी क्षमता विकास र नेतृत्वको अवसरसँग जोड्नुपर्छ ।
७. आन्तरिक संवाद र अनुशासनको सन्तुलन कायम गर्ने
असहमति पार्टीको शक्ति हो । पार्टीभित्र नियमित छलफल, बहस, आलोचना र आत्मालोचनाको वातावरण हुनुपर्छ । निर्णय प्रक्रियामा पारदर्शिता कायम गर्नुपर्छ । तर पार्टीको मूल नीति र निर्णयविपरीत जाने, अपुष्ट आरोप फैलाउने तथा संगठनको मनोबल गिराउने गतिविधिलाई अनुशासनको विषय बनाउनुपर्छ । खुलापन र अनुशासनलाई सन्तुलित रुपमा अघि बढाउनुपर्छ ।
८. वैकल्पिक शासन–खाका तयार गर्ने
सरकारको आलोचनामात्र पर्याप्त हुँदैन । रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, व्यापार, सहरी गरिबी, सुकुम्बासी समस्या, सीमा क्षेत्र, भ्रष्टाचार नियन्त्रण र डिजिटल शासनसम्बन्धी स्पष्ट वैकल्पिक कार्यक्रम प्रस्तुत गर्नुपर्छ । पार्टीका विभागलाई अध्ययन, नीति निर्माण र कार्यक्रम विकासमा प्रभावकारी रुपमा परिचालन गर्नुपर्छ ।
९. जनसेवामूलक पार्टी निर्माण गर्ने
सरकार बाहिर हुँदा पनि पार्टीले जनसेवा गर्न सक्छ । विपद्, महामारी, शिक्षा सहयोग, स्वास्थ्य शिविर, कानुनी सहायता, रोजगारी परामर्श, कृषि सहजीकरण, साना उद्यमी सहायता, विद्यार्थी मार्गदर्शन तथा प्रवासी परिवार सहयोगका क्षेत्रमा पार्टीका संरचनालाई सक्रिय बनाउनुपर्छ । जनताले सङ्कटमा साथ दिने पार्टीलाई विश्वास गर्छन् । यसमा हाम्रो भूमिका अन्य राजनीतिक दलहरुको तुलनामा निकै प्रभावकारी समेत रहने गरेको छ ।
१०. ज्ञान, अध्ययन र अनुसन्धानमा आधारित पार्टी बनाउने
पार्टीका नीति र कार्यक्रम तथ्य, अनुसन्धान, डाटा, सामाजिक मनोविज्ञान, अर्थशास्त्र, प्रविधि तथा जनमत अध्ययनमा आधारित हुनुपर्छ । प्रत्येक प्रदेशमा नीति अध्ययन तथा अनुसन्धान समूह गठन गर्नुपर्छ । बजेट, शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, उद्योग, विदेश नीति, सङ्घीयता, डिजिटल शासन तथा न्याय सुधारजस्ता विषयमा आधारपत्र र वैकल्पिक प्रस्ताव तयार गर्नुपर्छ ।
११. नैतिक पुनर्निर्माण गर्ने
पार्टीका नेता तथा कार्यकर्ताको सार्वजनिक जीवन सादा, पारदर्शी, जवाफदेही र जनताप्रति विनम्र हुनुपर्छ । भ्रष्टाचार वा अनियमिततासम्बन्धी आरोप उठ्दा केवल बचाउ गर्ने होइन, पारदर्शी छानवीन र तथ्यपूर्ण उत्तर दिने अभ्यास गर्नुपर्छ । स्थानीय तहदेखि केन्द्रसम्म आचारसंहिता लागू गरी पदलाई सेवाभन्दा माथि राख्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ । शत्रुका झुठा लान्छना एवं व्यवहारका क्रममा प्रश्नहरुलाई तदनुरुप प्रतिवाद भने गर्नु पर्छ ।
१२. स्थानीय मुद्दामा केन्द्रित संगठन निर्माण गर्ने
जनताको जीवन स्थानीय मुद्दासँग जोडिएको हुन्छ । खानेपानी, सडक, विद्यालय, स्वास्थ्य चौकी, बजार, जग्गा, कर, सुरक्षा, रोजगारी, कृषि र विपद्जस्ता विषय प्रत्येक वडा कमिटीको नियमित कार्यसूचीमा हुनुपर्छ । स्थानीय समस्या पहिचान गरी स्थानीय सरकार, प्रदेश, केन्द्र, अदालत, सञ्चारमाध्यम र जनदबाबमार्फत समाधानका लागि पहल गर्नुपर्छ ।
१३. प्रवासी नेपालीस“ग नया“ सम्बन्ध विकास गर्ने
प्रवासी नेपालीलाई रेमिट्यान्स पठाउने नागरिकका रुपमा मात्र होइन, ज्ञान, सीप, अनुभव र पुँजीका स्रोतका रुपमा हेर्नुपर्छ । प्रवासी श्रमिकको अधिकार, सुरक्षित रोजगारी, पुनरागमनपछिको उद्यम, परिवारको शिक्षा, सामाजिक सुरक्षा तथा विदेशमा रहेका नेपालीसँग राजनीतिक संवादलाई प्राथमिकता दिनुपर्छ । विदेशमा रहेको युवाको देशसँगको सम्बन्ध बलियो बनाउनुपर्छ ।
१४. राष्ट्रिय स्वाधीनता र कूटनीतिक सन्तुलन
छिमेकीसँग सन्तुलित सम्बन्ध, विश्वशक्तिसँग सम्मानपूर्ण सहकार्य, राष्ट्रिय हितमा आधारित निर्णय, आर्थिक कूटनीति, सीमा संवेदनशीलता, जलस्रोत तथा व्यापारमा स्पष्ट नीति आवश्यक छ । विभाजन र सामाजिक विद्वेषविरुद्ध राष्ट्रिय एकता सुदृढ गर्नुपर्छ । राष्ट्रिय हित, स्वाधीनता र असंलग्नतामा आधारित कूटनीतिक दृष्टिकोणलाई दृढतापूर्वक अघि बढाउनुपर्छ । यस सन्दर्भमा वर्तमान सरकारको नीतिमा देखिएका विचलन विरुद्धमा जनसचेतना बढाउनु पर्छ ।
१५. वैचारिक पुनर्गठन र अद्यावधिकरण गर्ने
जनताको बहुदलीय जनवादलाई ऐतिहासिक दस्तावेजमा मात्र सीमित राख्नु हुँदैन । डिजिटल अर्थतन्त्र, कृत्रिम बुद्धिमत्ता, स्वचालन (रोवोटिक्स), जलवायु सङ्कट, युवा पलायन, सहरी असमानता, गिग अर्थतन्त्र, शिक्षा बजार, स्वास्थ्य खर्च, लैङ्गिक न्याय तथा सांस्कृतिक परिवर्तनका विषयमा पार्टीको विचारलाई समसामयिक रुपमा अद्यावधिक गर्नुपर्छ । तदनुरुप व्याख्या र विकास गर्नुपर्छ ।
जबजको मार्गदर्शनमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को गन्तव्यलाई आजका जनजीविका, सामाजिक न्याय, उत्पादन, रोजगारी, सुशासन र राष्ट्रिय स्वाधीनतासँग जोडेर व्यवहारमा उतार्नुपर्छ ।
ङ) स्थानीय निर्वाचन तयारीसम्बन्धी कार्ययोजना
पार्टीलाई बलियो, व्यवस्थित र जनमुखी शक्तिका रुपमा प्रस्तुत गर्दै पार्टीका उम्मेदवारलाई विजयी गराउने उद्देश्यसहित सिंगो पार्टीपङ्क्ति स्थानीय निर्वाचनको तयारीको काममा केन्द्रित हुनु आवश्यक छ । पार्टीले यसअघि नै निर्वाचनको तयारीको कामलाई समेत दृष्टिगत गरी हरेक पालिका तहमा पार्टी जागरण अभियनको संयोजन गर्नेगरी केन्द्रीय प्रतिनिधि खटाइएको छ । कुनै पनि पालिकामा खटाइका केन्द्रीय प्रतिनिधिले समय दिन नसकेको अवस्थामा नयाँ प्रतिनिधिको व्यवस्था गर्ने अधिकार प्रदेश इन्चार्जलाई प्रदान गरिएको छ । सम्बन्धित तहका कमिटीहरु नै निर्वाचन परिचालनका आधार कमिटी हुनेछन् । यसका लागि आधारभूत तहका कमिटीको सुदृढीकरण, स्थानीय राजनीतिक अवस्थाको विश्लेषण, जनसम्पर्क विस्तार, सक्षम उम्मेदवार छनोट, प्रभावकारी प्रचार तथा निर्वाचन परिचालनलाई योजनाबद्ध रुपमा सञ्चालन गर्नु आवश्यक छ । त्यसका लागि निम्नकुरामा विशेष ध्यान दिनुपर्दछः
१. आधारभूत तहका कमिटीको सुदृढीकरण
स्थानीय निर्वाचनको मुख्य आधार पालिका, वडा र टोल कमिटी हुन् । त्यसैले सबै आधारभूत तहका कमिटीको अवस्था समीक्षा गरी निष्क्रिय कमिटीलाई सक्रिय बनाउनु पर्छ । आवश्यकताअनुसार अधिवेशन, कमिटी पुनर्गठन, जिम्मेवारी बाँडफाँट तथा नियमित बैठकको व्यवस्था गरिनुपर्छ । निर्वाचन अभियानमा सहयोग पुगोस् भनेर वडा र पालिका अधिवेशनको तालिका सार्वजनिक गरिएको छ । उक्त तालिकालाई आधार मानेर तयारीको काममा जुट्नु आवश्यक छ । कार्यकर्ताको भावनाअनुरुपको योग्य, सक्षम र क्रियाशील व्यक्तिहरु कमिटीको नेतृत्वमा आउनेगरी सहजीकरण गरिनुपर्छ ।
प्रत्येक वडा कमिटीले आफ्नो क्षेत्रको मतदाता संख्या, पार्टी सदस्य, समर्थक, शुभेच्छुक, जनसंगठन, प्रभावशाली व्यक्ति तथा स्थानीय मुद्दाको अद्यावधिक अभिलेख तयार गर्नुपर्नेछ । टोलस्तरमा कमिटी नभएका ठाउँमा सम्पर्क व्यक्ति तोकी घरदैलो, जनभेटघाट र मतदाता सम्पर्कको जिम्मेवारी प्रदान गर्नुपर्छ । हरेक घरधुरीलाई आधार बनाएर जनसम्पर्क विस्तार गर्नुपर्छ । पालिका र वडास्तरमा पार्टीसम्बद्ध जनसंगठन निर्माण र परिचालनको योजना बनाउनुपर्छ ।
२. स्थानीय राजनीतिक शक्ति सन्तुलनको आकलन
प्रत्येक पालिका र वडा तहमा राजनीतिक शक्ति सन्तुलनको वस्तुगत अध्ययन गरिनुपर्छ । विगतका निर्वाचनको परिणाम, मतान्तर, स्थानीय राजनीतिक समीकरण, गठबन्धनको सम्भावना, प्रभावशाली सामाजिक समूह तथा विपक्षी दलको अवस्थाको तथ्य संकलन र विश्लेषण गर्नुपर्छ ।
यसक्रममा निम्न विषयमा स्पष्ट तथ्याङ्क संकलन गर्नुपर्छः
विगतका स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनको परिणाम ।
पार्टीको बलियो, मध्यम र कमजोर क्षेत्रको पहिचान ।
विपक्षी दलको सङ्गठनात्मक अवस्था र जनप्रभावको मूल्याङ्कन ।
स्थानीय मुद्दा, जनअसन्तुष्टि र सम्भावित चुनावी प्रभावको आङ्कलन ।
जातीय, भाषिक, धार्मिक, पेशागत तथा भौगोलिक समुदायको सामाजिक संरचनाको विश्लेषण ।
युवा, महिला, किसान, मजदुर, व्यवसायी, शिक्षक, कर्मचारी तथा अन्य पेसागत समूहको राजनीतिक झुकावको आङ्कलन ।
वैदेशिक रोजगारीमा जानेहरुको घरधुरीको पहिचान ।
तटस्थ मतदाताको पहिचान ।
यस अध्ययनका आधारमा प्रत्येक पालिका र वडाका लागि छुट्टाछुट्टै निर्वाचन रणनीति बनाउनु पर्नेछ ।
३. जनमत सर्वेक्षण र कार्यकर्ता राय सङ्कलन
निर्वाचन तयारीका क्रममा स्वतन्त्र, निष्पक्ष र नियमित जनमत सर्वेक्षणको व्यवस्था मिलाउनु पर्छ । सर्वेक्षणबाट पार्टीप्रतिको जनधारणा, उम्मेदवारको स्वीकार्यता, स्थानीय मुद्दा, विपक्षीको प्रभाव तथा मतदाताको अपेक्षाबारे जानकारी लिनुपर्छ । जनमत सर्भेक्षणका लागि पेशागत र वौद्धिक क्षेत्रका जिम्मेवार व्यक्तिको सहयोग लिनु उचित हुन्छ ।
साथै, पार्टी कार्यकर्ता, जनप्रतिनिधि, जनसंगठन, समर्थक तथा स्थानीय समुदायको राय–सुझाव व्यवस्थित रुपमा सङ्कलन गरिनुपर्छ । राय सङ्कलनका लागि वडा भेला, टोल भेला, गोप्य सुझाव संकलन, डिजिटल फाराम, जनसुनुवाइ तथा प्रत्यक्ष छलफलका माध्यम प्रयोग गर्नुपर्छ ।
४. सम्भावित उम्मेदवारको पहिचान र छनोट
निर्वाचनको पर्याप्त समयअघि सम्भावित उम्मेदवार तथा आकाङ्क्षीहरुको पहिचान गरिनुपर्छ । उम्मेदवार छनोट गर्दा पार्टीप्रतिको निष्ठा, जनसम्पर्क, सामाजिक प्रतिष्ठा, इमानदारी, कार्यक्षमता, नेतृत्व क्षमता, सार्वजनिक छवि, स्थानीय मुद्दाको ज्ञान तथा जनस्वीकार्यतालाई मुख्य मापदण्ड बनाउनु पर्छ ।
उम्मेदवार छनोट प्रक्रियामा वडा, पालिका र जिल्ला कमिटीको सुझावलाई मुख्य आधार बनाउनु पर्नेछ । सम्भावित उम्मेदवारको जनस्वीकार्यता मापन गर्न आवश्यकताअनुसार आन्तरिक सर्वेक्षण तथा कार्यकर्ता परामर्श गर्नुपर्छ । उम्मेदवार छनोटमा पहुँच, लेनदेन, गुटगत प्रभाव र अन्तिम समयको अस्वाभाविक परिवर्तनलाई निरुत्साहित गरिनेछ । सम्वन्धित तहका कार्यकर्ताको भावना र सुझावलाई छनौटको प्रमुख आधार बनाउनु पर्नेछ ।
उम्मेदवार चयन भएपछि उनीहरुलाई स्थानीय शासन, पार्टी नीति, जनसम्पर्क, सञ्चार, निर्वाचन कानुन तथा प्रतिबद्धतापत्रका विषयमा प्रशिक्षण दिनुपर्दछ ।
५. निर्वाचन परिचालन कमिटी गठन
निर्वाचन परिचालनलाई प्रभावकारी बनाउन प्रदेश, जिल्ला, पालिका, वडा र टोल तहमा निर्वाचन परिचालन कमिटी गठन गर्ने । प्रत्येक कमिटीको स्पष्ट जिम्मेवारी, कार्यक्षेत्र र कार्यतालिका तय गरिनेछ ।
परिचालन कमिटीअन्तर्गत आवश्यकताअनुसार निम्न उपसमिति गठन गरिनेछः
पार्टी संगठन तथा सदस्य परिचालन उपसमिति,
मतदाता सम्पर्क तथा घरदैलो उपसमिति,
प्रचार तथा प्रसार उपसमिति,
डिजिटल प्रचार उपसमिति,
जनसंगठन परिचालन उपसमिति,
स्वयंसेवक परिचालन उपसमिति,
आर्थिक तथा स्रोत व्यवस्थापन उपसमिति,
कानुनी, सुरक्षा तथा निर्वाचन अनुगमन उपसमिति,
महिला, युवा तथा सामाजिक समावेशिता परिचालन उपसमिति,
साँस्कृतिक उपसमिति,
मतदान तथा मतगणना व्यवस्थापन उपसमिति आदि ।
६. निर्वाचन कार्यालय स्थापना र व्यवस्थापन
प्रत्येक पालिका र वडा तहमा निर्वाचन कार्यालय स्थापना गर्ने । कार्यालयलाई निर्वाचन परिचालनको सूचना, सम्पर्क, अभिलेख, बैठक, प्रचार सामग्री तथा स्वयंसेवक व्यवस्थापन केन्द्रका रुपमा सञ्चालन गर्ने ।
निर्वाचन कार्यालयले मतदाता विवरण, पार्टी सदस्य, समर्थक, जिम्मेवार कार्यकर्ता, प्रचार सामग्री, कार्यक्रम तालिका, जनसम्पर्क विवरण तथा निर्वाचनसम्बन्धी सूचना व्यवस्थित रुपमा राख्नेछ । कार्यालय नियमित रुपमा खुला रहने र जिम्मेवार कार्यकर्ता खटिने व्यवस्था मिलाइनेछ ।
७. प्रचार, सञ्चार र डिजिटल अभियान
प्रचार अभियानलाई तथ्यपूर्ण, मर्यादित, जनमुखी र स्थानीय आवश्यकतामा आधारित बनाइनेछ । पार्टीका उपलब्धी, स्थानीय विकासका सम्भावना, उम्मेदवारको क्षमता तथा प्रतिबद्धतापत्रका विषय जनतासम्म पु¥याइनेछ । प्रचारमा डिजिटल प्लेतफर्म९सामाजिक संजाल०को अधिकतम् परिचालन गरिनेछ ।
घरदैलो, टोलसभा, जनसभा, संवाद कार्यक्रम, पर्चा, पोस्टर, भिडियो, सामाजिक सञ्जाल, स्थानीय सञ्चारमाध्यम तथा मोबाइल सन्देशमार्फत् प्रचार अभियान सञ्चालन गरिनेछ । गलत सूचना, अफवाह र भ्रामक प्रचारको तत्काल तथ्यगत प्रतिवाद गर्ने संयन्त्र निर्माण गरिनेछ ।
प्रचार सामग्री सरल भाषा, स्थानीय सन्दर्भ तथा मतदाताको प्राथमिकतासँग जोडिएको हुनुपर्छ । सामाजिक सञ्जालमा असभ्य, अपुष्ट र विभाजनकारी सामग्रीको प्रयोग नगर्ने नीति अपनाइनेछ ।
८. घरदैलो र मतदाता सम्पर्क अभियान
घरदैलो अभियानलाई निर्वाचन तयारीको मुख्य आधार बनाइनेछ । प्रत्येक टोल र बस्तीमा जिम्मेवार कार्यकर्ता तोकी मतदाता भेटघाटको योजना बनाइनेछ । घरदैलोका क्रममा मतदाताको समस्या, सुझाव, अपेक्षा तथा उम्मेदवारप्रतिको धारणा सङ्कलन गरिनेछ ।
प्रत्येक वडा कमिटीले आफ्नो क्षेत्रमा मतदाता सम्पर्कको प्रगति प्रतिवेदन नियमित रुपमा पालिका परिचालन कमिटीमा पठाउनेछ । विशेष प्राथमिकतामा रहेका मतदाता समूह—युवा, महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, किसान, मजदुर, साना व्यवसायी तथा प्रवासी परिवार—सँग छुट्टै संवाद कार्यक्रम सञ्चालन गरिनेछ ।
९. स्थानीय मुद्दा र प्रतिबद्धता पत्रको तयारी
प्रत्येक वडा तथा पालिकाले स्थानीय जनताको सरोकार र आवश्यकता पहिचान गरी प्रतिबद्धतापत्र तयार गर्नेछ । प्रतिबद्धतापत्र यथार्थपरक, कार्यान्वयनयोग्य, समयबद्ध र स्रोतको सम्भावनासँग मेल खाने हुनुपर्छ ।
प्रतिबद्धतापत्रमा विशेष रुपमा निम्न विषय समेटिनेछन्—
स्थानीय विकाससम्बन्धी पार्टीको दृष्टिकोण ।
विगतमा पार्टीको नेतृत्वमा भएका प्रमुख कामहरु ।
स्थानिय विकासका सम्भावना र चुनौतीहरु ।
खानेपानी, सरसफाइ र वातावरण संरक्षण ।
सडक, पुल, सार्वजनिक यातायात तथा पूर्वाधार ।
गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र सामाजिक सुरक्षा ।
कृषि, सिँचाइ, बजार, उत्पादन र रोजगारी ।
युवा लक्षित कार्यक्रम,
महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको अधिकार ।
सुकुम्बासी, भूमिहीन तथा सीमान्तकृत समुदायको समस्या ।
विपद् व्यवस्थापन, सुरक्षा र न्यायमा पहुँच ।
पर्यटन, स्थानीय उद्योग, उद्यमशीलता र डिजिटल सेवा ।
स्थानिय विकासका सम्भावित श्रोतहरुको पहिचान ।
सुशासन, पारदर्शिता तथा भ्रष्टाचार नियन्त्रण ।
प्रतिस्पर्धी राजनीतिक दलका कमीकमजोरीहरु ।
प्रतिबद्धतापत्रको तयारीमा स्थानीय समाजसेवी, विषयविज्ञ, जनप्रतिनिधि, कार्यकर्ता तथा सम्बन्धित सरोकारवालासँग परामर्श गरिनेछ ।
१०. विपक्षीको अवस्था र पार्टीका उपलब्धीको प्रस्तुति
विपक्षी दलको सङ्गठनात्मक अवस्था, उम्मेदवार, विगतको काम, जनतासँगको सम्बन्ध तथा कमजोरीको तथ्यमा आधारित अध्ययन गरिनेछ । विपक्षीमाथि अपुष्ट आरोप लगाउनेभन्दा जनतासमक्ष आफ्नो नीति, कार्यक्रम, उम्मेदवार र कामको स्पष्ट तुलना प्रस्तुत गरिनेछ ।
पार्टीको नेतृत्वमा भएका स्थानीय तथा राष्ट्रिय तहका राम्रा कामको सूची तयार गरी जनतासमक्ष पु¥याइनेछ । पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, कृषि, रोजगारी, विपद् व्यवस्थापन, सुशासन तथा जनसेवाका उपलब्धीलाई स्थानीय सन्दर्भसँग जोडेर प्रस्तुत गरिनेछ ।
११. सुरक्षा, कानुनी सहायता र समन्वय
निर्वाचन अवधिमा पार्टी कार्यकर्ता, उम्मेदवार तथा समर्थकको सुरक्षा व्यवस्थामा विशेष ध्यान दिइनेछ । सम्भावित विवाद, धम्की, हिंसा, आचारसंहिता उल्लङ्घन तथा गलत प्रचारको निगरानी गरिनेछ । आवश्यक कानुनी सहायता, उजुरी दर्ता, प्रमाण सङ्कलन तथा निर्वाचन आयोगसँग समन्वयका लागि जिम्मेवार टोली गठन गरिनेछ ।
पार्टीका विभिन्न तह, जनसंगठन, उम्मेदवार, समर्थक तथा निर्वाचन परिचालन कमिटीबीच नियमित समन्वय बैठक सञ्चालन गरिनेछ । समस्या देखिएमा तत्काल समाधानका लागि स्पष्ट सम्पर्क प्रणाली बनाइनेछ ।
१२. मतदान र मतगणना तयारी
मतदान केन्द्रमा खटिने प्रतिनिधि, स्वयंसेवक र अनुगमनकर्तालाई समयमै छनोट गरी प्रशिक्षण दिइनेछ । मतदाता नामावली, मतदान केन्द्र, मतदान प्रक्रिया, मतपत्र, आचारसंहिता तथा मतगणनासम्बन्धी जानकारी उपलब्ध गराइनेछ ।
मतदानका दिन मतदाता सहयोग, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका मतदातालाई सहजीकरण, सूचना सम्प्रेषण, कानुनी सहायता र मतदान केन्द्रको अनुगमन व्यवस्थित गरिनेछ । मतगणनाका लागि प्रशिक्षित प्रतिनिधि, आवश्यक अभिलेख तथा समन्वय प्रणाली तयारी अवस्थामा राखिनेछ ।
१३. अनुगमन, समीक्षा र जवाफदेहिता
निर्वाचन तयारीको प्रत्येक चरणमा नियमित अनुगमन र समीक्षा गरिनेछ । कमिटीको सक्रियता, जनसम्पर्क, प्रचार, घरदैलो, उम्मेदवारको स्वीकार्यता, स्रोत व्यवस्थापन तथा मतदाता परिचालनको अवस्था मापन गरिनेछ ।
हरेक तहले निश्चित अवधिमा प्रगति प्रतिवेदन पेस गर्नुपर्नेछ । कार्ययोजना कार्यान्वयनमा कमजोरी देखिएमा तत्काल सुधार गर्ने तथा जिम्मेवार निकायलाई जवाफदेही बनाउने व्यवस्था गरिनेछ ।
स्थानीय निर्वाचनलाई केवल मतदानको प्रतिस्पर्धा नभई जनतासँगको सम्बन्ध विस्तार, संगठन सुदृढीकरण, सक्षम नेतृत्व निर्माण र जनविश्वास पुनःस्थापित गर्ने अवसरका रुपमा उपयोग गर्नुपर्छ ।
स्थानीय तहमा बनेको योजना र कामका सन्दर्भमा आवश्यकताअनुरुप माथिल्लो तहमा र विशेषगरी केन्द्रीय कार्यालयमा नियमित रिपोर्टिङको व्यवस्था मिलाउनु पर्नेछ ।
शंकर पोखरेल
महासचिव
नेकपा (एमाले)
२−३ मङ्सिर २०८३ ।