
काठमाडौं : हिमालय अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको प्रतिष्ठित अटोमोबाइल कम्पनी डोङफेङद्वारा उत्पादित दुईवटा बस नेपालमा सार्वजनिक गरेको छ । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६मा कम्पनीले ७.२ मिटर लम्बाइका दुई मोडलका बस सार्वजनिक गरेको हो । सार्वजनिक गरिएका बसमध्ये एउटा २५ प्लस १ सिट र अर्को २७ प्लस १ सिट क्षमताको रहेको छ ।
यी बसको मूल्य १ करोड १४ लाख रुपैयाँदेखि सुरु हुने जनाइएको छ । एक्स्पोमा बुकिङ गर्ने पहिलो ५० ग्राहकलाई ५ लाख रुपैयाँ विशेष छुट उपलब्ध गराइने कम्पनीले जनाएको छ । सन् १९६९मा स्थापना भएको डोङफेङ चीनका प्रमुख अटोमोबाइल उत्पादकमध्ये एक हो । कम्पनीले यात्रुवाहक तथा व्यावसायिक सवारी, बस, ट्रक, विद्युतीय सवारीसाधन र विभिन्न अटोमोबाइल पार्टपुर्जा उत्पादन गर्दै आएको छ । डोङफेङका उत्पादन विश्वका १०० भन्दा बढी देशमा निर्यात हुँदै आएका छन् ।
हिमालय अर्गनाइजेसनले यसअघि भारतको फोर्स मोटर्स तथा चीनको एसएआइसी ग्रुपअन्तर्गतको म्याक्ससका सवारीसाधन नेपालमा बिक्री गर्दै आएको छ । नेपालमा विद्युतीय सार्वजनिक यातायातको माग बढ्दै गएको र सरकारले पनि विद्युतीय सवारीलाई प्राथमिकता दिन थालेको अवस्थामा डोङफेङका बस नेपाल ल्याइएको कम्पनीले जनाएको छ ।
ग्राहकको आवश्यकताअनुसार बसमा एसी, लक्जरी सिट तथा थप प्रवेशद्वार जडान गर्न सकिने कम्पनीले जनाएको छ । दुईवटा प्रवेशद्वार राख्दा दुई सिट घट्ने व्यवस्था रहेको बताइएको छ । डोङफेङका बसमा ५ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराइएको छ ।
ग्राहकले थप तीन वर्षको एक्स्टेन्डेड वारेन्टीसमेत खरिद गर्न सक्नेछन् । कम्पनीले निकट भविष्यमै ८.२ मिटरका स्कुल बस, ९ मिटरका ३८ सिटे तथा १२ मिटरका ५२ सिटे बस नेपाल ल्याउने तयारी गरेको जनाएको छ । ती मोडलको मूल्य र प्राविधिक विवरण भने पछि सार्वजनिक गरिने बताइएको छ ।