
सल्यान : सल्यानमा खाना पकाउने एलपी ग्यासको आपूर्ति मागअनुसार हुन नसकेपछि जिल्ला प्रशासन कार्यालयले सल्यानमा प्रमुख बजार अनुगमन तथा आपूर्ति व्यवस्थापनमा निगरानी बढाएको छ । ग्यासको अभाव देखिन थालेसँगै कृत्रिम अभाव, कालोबजारी तथा मूल्यवृद्धि हुन नदिन प्रशासनले जिल्लाका मुख्य बजारमा रहेका ग्यास बिक्री केन्द्रको मौज्दात र बिक्री अवस्थाबारे जानकारी लिन थालेको हो ।
जिल्ला प्रशासन कार्यालय सल्यानका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाका अनुसार सदरमुकाम खलंगासहित श्रीनगर र सल्लीबजार क्षेत्रमा ग्यासको उपलब्धता र वितरण अवस्थाबारे निरन्तर अनुगमन भइरहेको छ । अनुगमनका क्रममा मागको तुलनामा आपूर्ति कम भएको पाइएको प्रशासनले जनाएको छ ।
प्रजिअ सापकोटाले जिल्लामा ग्यास अभावको गुनासो आउन थालेपछि सम्बन्धित व्यवसायी, उद्योग बानिज्य, डिलर तथा आपूर्तिकर्तासँग समन्वय गरी आपूर्ति व्यवस्थालाई सहज बनाउने बिषयमा छलफल भएको बताए ।
“ग्यास अभावको गुनासो आइरहेको छ। मागको तुलनामा आपूर्ति कम भएको पाइएको छैन, बजार अनुगमन तथा आपूर्ति व्यवस्थापनमा समन्वय भइरहेको छ,” उनले भने, “कृत्रिम अभाव वा कालोबजारी गरेको पाइए कडा कारबाही हुन्छ।”
प्रशासनका अनुसार श्रीनगर र सल्लीबजारमा गरिएको अनुगमनमा उद्योगबाट मागअनुसार पर्याप्त ग्यास नआएको पाइएको छ। ग्यास बिक्री गर्ने पसलमा मौज्दात, बिक्रीको अवस्था र उपभोक्तालाई वितरण गर्ने प्रक्रियाबारे समेत जानकारी लिने काम भइरहेको छ।
ग्यास आएको खबरसँगै पसलमा भिड
ग्यासको आपूर्ति नियमित नहुँदा उपभोक्ताले समस्या भोग्न थालेका छन् । बजारमा ग्यास आएको खबर फैलिनेबित्तिकै बिक्री केन्द्रमा उपभोक्ताको भिड लाग्ने गरेको छ। तर सीमित मात्रामा ग्यास आउने भएकाले धेरै उपभोक्ता खाली सिलिन्डर लिएर फर्किनुपर्ने अवस्था रहेको स्थानीयको गुनासो छ ।
खाना पकाउन नियमित रूपमा ग्यास प्रयोग गर्दै आएका उपभोक्ताका लागि यसको अभावले दैनिक जीवन प्रभावित भएको छ । कतिपय परिवार ग्यास नपाएपछि दाउरा लगायत वैकल्पिक इन्धन प्रयोग गर्न बाध्य भएका छन् ।
स्थानीय उपभोक्ता गिता आली कोठा भाडामा श्रीनगर बजकेही दिनयता ग्यास खोज्दै बजारका विभिन्न पसलमा पुग्दा पनि सहज रूपमा नपाएको बताइन् । “केही दिनदेखि ग्यास डिलरमा जहाँ पुग्दा पनि ‘सकियो’ भन्ने जवाफ पाइन्छ। घरको सिलिन्डर सकिन लाग्दा भान्सामा के गर्ने भन्ने चिन्ता थपिएको छ,” उनले भनिन् ।
अर्का उपभोक्ता विवेक डाँगी पनि ग्यास अभावका कारण आफ्नो टोलका धेरै परिवार प्रभावित भएको बताउछन् । ग्यास नपाउँदा खाना पकाउने दैनिक काममै समस्या भएको र वैकल्पिक इन्धनको भर पर्नुपरेको उनको भनाइ छ ।
ग्यास बिक्रेताहरूले भने बजारमा देखिएको अभावको मुख्य कारण उद्योगबाटै पर्याप्त ग्यास नआउनु र पछिल्लो समय उपभोक्ताको माग अस्वाभाविक रूपमा बढ्नु रहेको बताएका छन् ।
बागचौरको पेदिखोला बजारका बिक्रेता प्रदीप पुनका अनुसार पहिलेको तुलनामा अहिले कम्पनीबाट कम मात्रामा ग्यास आउने गरेको छ । मागअनुसार ग्यास उपलब्ध नहुँदा सबै उपभोक्तालाई वितरण गर्न कठिन भएको उनले बताए ।
“हामीसँग भएको मनकामना ग्यास सबै सकियो। कम्पनीले पर्याप्त उपलब्ध गराएको छैन । माग गरेको पनि पाउन सकिएको छैन, त्यसैले सबैलाई वितरण गर्न समस्या भएको छ,” उनले भने ।
सदरमुकाम खलंगाकी अर्की बिक्रेता अम्बिका श्रेष्ठले ग्यास अभाव हुने हल्लाका कारण उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर जोहो गर्न खोज्दा माग बढेको बताइन् ।
उनका अनुसार सामान्य अवस्थामा एक परिवारलाई आवश्यक पर्नेभन्दा बढी ग्यास राख्ने प्रवृत्ति बढ्दा सीमित आपूर्तिमाथि थप दबाब परेको छ । यसले बजारमा ग्यास अभाव अझ बढी देखिएको उनको भनाइ छ ।
कृत्रिम अभाव र कालोबजारी रोक्न प्रशासनको चेतावनी
प्रशासनले भने आपूर्ति कमी भए पनि त्यसको फाइदा उठाउँदै ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने वा तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने काम स्वीकार्य नहुने स्पष्ट पारेको छ ।
प्रजिअ सापकोटाले आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेका छन् । अनुगमनका क्रममा अधिकांश डिलरमा उद्योगबाट ग्यास आपूर्ति भइरहेको भए पनि जिल्लाको मागअनुसार पर्याप्त मात्रा नपुगेको अवस्था देखिएको प्रशासनको भनाइ छ ।
ग्यासको वितरण प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र न्यायोचित बनाउनुपर्ने आवश्यकता देखिएको प्रशासनले जनाएको छ । बिक्री केन्द्रमा ग्यास आएपछि निश्चित उपभोक्तालाई मात्र लुकिछिपी बिक्री गर्ने, बढी मूल्य लिने वा मौज्दात लुकाउने जस्ता गतिविधि भए तत्काल जानकारी गराउन प्रशासनले आग्रह गरेको छ ।
“भएको ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने वा तोकिएको मूल्यभन्दा बढी रकम लिएर बिक्रीवितरण गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुन्छ,” प्रजिअ सापकोटाले चेतावनी दिए । सल्यानमा हाल दाङ, सुर्खेत र नेपालगन्जबाट खाना पकाउने ग्यास आपूर्ति हुँदै आएको छ । जिल्लाको सदरमुकाम खलङ्गा, श्रीनगर, सल्लीबजारलगायत प्रमुख बजार क्षेत्रमा विभिन्न बिक्री केन्द्रमार्फत ग्यास वितरण हुँदै आएको छ ।
तर आपूर्ति नियमित र मागअनुसार पर्याप्त नहुँदा बजारमा ग्यासको उपलब्धता असमान देखिएको छ । कुनै बिक्री केन्द्रमा ग्यास आएको केही समयमै सकिने र कतिपय उपभोक्ता ग्यास नपाएर फर्किनुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ ।
प्रशासनले उद्योग, डिलर र स्थानीय व्यवसायीसँग समन्वय गरी आपूर्ति सहज बनाउने प्रयास भइरहेको जनाएको छ । साथै बजारमा ग्यासको वास्तविक मौज्दात र बिक्री अवस्थाबारे निगरानीलाई निरन्तरता दिने बताएको छ ।