
काठमाडौं : जापानमा आयोजना हुने विश्वकै सबैभन्दा ठुलो महिला मात्र सहभागी हुने म्याराथन ‘नागोया वुमेन्स म्याराथन २०२७’ मा नेपाली महिला धाविकाले पनि सहभागिता जनाउन पाउने भएका छन् । प्रतियोगिताको अन्तर्राष्ट्रिय सहभागिताका लागि आवेदन मंगलबारदेखि खुला भएको छ ।
गिनिज वर्ल्ड रेकर्डबाट विश्वकै ठुलो ‘अल–वुमन म्याराथन’का रूपमा प्रमाणित नागोया वुमेन्स म्याराथन आगामी मार्च १४ मा जापानको आइची प्रान्तस्थित नागोयामा आयोजना हुँदैछ । विश्व एथलेटिक्सको ‘प्लाटिनम लेबल रोड रेस’समेत रहेको प्रतियोगितामा विश्वस्तरीय धाविकासँगै पहिलोपटक म्याराथन दौडनेदेखि व्यक्तिगत उत्कृष्ट समयको लक्ष्य राख्ने धाविकासम्मले सहभागिता जनाउनेछन् ।
आयोजकले सन् २०२७ का लागि प्रतियोगिताको क्षमता २ हजारले बढाएर २२ हजार धाविका पुर्याएको छ । ४२.१९५ किलोमिटरको एउटै दूरीमा १९ वर्षदेखि ८० वर्ष उमेर समूहसम्मका महिलाले आफ्नै लक्ष्यसहित दौडनेछन् ।

नागोया वुमेन्स म्याराथनको विशेष आकर्षणमध्ये हरेक ‘फिनिसर’ले पाउने विशेष पुरस्कार पनि हो । दौड पूरा गर्ने प्रत्येक धाविकालाई फ्रान्सेली लक्जरी ब्रान्ड बाकारातले प्रतियोगिताका लागि तयार पारेको विशेष क्रिस्टल टम्बलर प्रदान गरिन्छ । सन् २०२७ को टम्बलरको डिजाइन भने दौडको अघिल्लो दिन आयोजना हुने म्याराथन एक्स्पोमा सार्वजनिक गरिनेछ ।
प्रतियोगिताले महिला धाविकालाई सुरक्षित र सहज वातावरण उपलब्ध गराउने उद्देश्यले पर्याप्त चिकित्सकीय सहायता, ठूलो संख्यामा सफा शौचालय र फराकिलो चेन्जिङ सुविधाको व्यवस्था गर्दै आएको छ । सात घण्टाको समयसीमा, तुलनात्मक रूपमा समथर दौडमार्ग तथा एउटै स्थानबाट सुरु र समाप्त हुने व्यवस्थाले नयाँ धाविकालाई समेत सहज बनाउने आयोजकको भनाइ छ ।

दौडको सुरुवात र समापन भेन्टेलिन डोम नागोयामा हुनेछ । यो ढाकिएको बेसबल रंगशाला भएकाले मौसम प्रतिकूल भए पनि धाविकालाई केही हदसम्म सुरक्षित वातावरण उपलब्ध हुन्छ । सन् २०२६ को संस्करणमा ९६.६ प्रतिशत सहभागीले दौड पूरा गरेका थिए ।
म्याराथन सप्ताहन्तमा धाविकासँगै परिवार तथा समर्थकका लागि पनि विभिन्न कार्यक्रम आयोजना हुनेछन् । शुक्रबारदेखि सुरु हुने म्याराथन एक्स्पोमा ‘गो रनवे’ फेसन शो तथा लोकप्रिय गायक–गायिकाको विशेष प्रस्तुति लगायतका कार्यक्रम हुनेछन् ।
महिलाका लागि मुख्य म्याराथन आयोजना भइरहँदा पुरुष धावकलाई पनि सोही दिन हुने नागोया सिटी म्याराथनमा सहभागी हुने अवसर छ । पुरुषसहित अन्य इच्छुक धावकले हाफ म्याराथन वा ८.५ किलोमिटरको नागोया रनमा भाग लिन सक्नेछन् ।

अन्तर्राष्ट्रिय प्रवेशका लागि शुल्क र समय
नागोया वुमेन्स म्याराथन २०२७ को अन्तर्राष्ट्रिय प्रवेशका लागि प्रारम्भिक आवेदन अगस्ट ११ देखि २४, २०२६ सम्म खुला रहनेछ । प्रारम्भिक प्रवेश शुल्क २४ हजार जापानी येन तोकिएको छ । नियमित आवेदन अगस्ट २५ देखि सेप्टेम्बर २३ सम्म खुला रहनेछ, जसको शुल्क २५ हजार येन हुनेछ । दुवै शुल्कमा अतिरिक्त प्रशोधन शुल्क लाग्नेछ ।
अन्तर्राष्ट्रिय धाविकाका लागि ३ हजार ५०० स्थान छुट्याइएको छ । आवेदन ‘पहिलो आउनेलाई पहिलो प्राथमिकता’का आधारमा स्वीकार गरिनेछ ।

त्यसैगरी नागोया सिटी म्याराथनका लागि अन्तर्राष्ट्रिय आवेदन पनि अगस्ट ११ देखि सेप्टेम्बर २३ सम्म खुला रहनेछ । हाफ म्याराथनको शुल्क १७ हजार येन र ८.५ किलोमिटरको नागोया रनको शुल्क १३ हजार येन तोकिएको छ । हाफ म्याराथनमा ३०० र नागोया रनमा १०० अन्तर्राष्ट्रिय धावकका लागि स्थान उपलब्ध गराइएको छ ।
आयोजकका अनुसार नागोया वुमेन्स म्याराथन महिला धाविकाका लागि पहिलोपटक म्याराथन दौडनेदेखि विश्वस्तरीय प्रतिस्पर्धासम्मको साझा मञ्चका रूपमा विकास हुँदै आएको छ । नेपाली महिला धाविकाका लागि पनि अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुँदै नयाँ अनुभव र व्यक्तिगत लक्ष्य हासिल गर्ने अवसरका रूपमा यसलाई लिन सकिनेछ ।
