
रुकुम पश्चिम : सानीभेरी गाउँपालिका–११ का २१ वर्षीय नरबहादुर बुढाथोकीको उपचारका लागि संकलन गरिएको ५ लाख ५१ हजार ५७० रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
विगत तीन वर्षदेखि ब्लड क्यान्सरबाट पीडित नरबहादुरको ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकका अनुसार उनको जीवन बचाउन बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएकाले थप उपचारका लागि भारत लैजानुपर्ने अवस्था रहेको छ । भारतमा उपचारका लागि करिब ३५ देखि ४० लाख रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको छ ।
नरबहादुरको पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएपछि स्थानीय समाजसेवी तुलसीराम बुढाथोकी, जगदीश ओली र मानबहादुर ओलीको संयुक्त पहलमा आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो ।
अभियानमार्फत स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्ति, संस्था र शुभेच्छुकबाट सहयोग रकम संकलन गरिएको हो । यसरी संकलित ५ लाख ५१ हजार ५७० रुपैयाँ शनिबार पाटन अस्पतालमै पुगेर नरबहादुरका बुबा लालवीर बुढाथोकीलाई हस्तान्तरण गरिएको हो ।
समाजसेवी हरिचन्द्र शाहले उक्त रकम हस्तान्तरण गरेका थिए। रकम हस्तान्तरण कार्यक्रममा सानीभेरी गाउँपालिका–११ का लालबहादुर ओली तथा सहयोग संकलन अभियानका अभियन्ता तुलसीराम बुढाथोकी, जगदीश ओली र मानबहादुर ओलीको उपस्थिति थियो ।
अभियानका अभियन्ता जगदीश ओलीले नरबहादुरको उपचारका लागि स्वदेश तथा विदेशबाट आर्थिक सहयोग गर्ने सम्पूर्ण दाता तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरे । उनले संकलित सहयोग रकमले नरबहादुरको थप उपचारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नरबहादुरका बुबा लालवीर बुढाथोकीले छोराको उपचारका लागि आर्थिक तथा अन्य सहयोग गर्ने स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाता, शुभेच्छुक तथा सहयोग अभियानमा सक्रिय अभियन्ताप्रति आभार व्यक्त गरेका छन् ।