
काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।
आइतबार मन्त्रालयका सञ्चारकर्मीहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले स्वास्थ्य बिमा सुधार कार्यक्रमका लागि ऐन संशोधन गरेर नै अघि बढ्न आवश्यक रहेको बताएका हुन् ।
उनले सरकारले बिमा क्षेत्रमा देखिएको गुनासोहरू तत्काल सम्बोधन गर्नुपर्ने अवस्था आएको पनि बताए । सचिव देवकोटाले सरकारले स्वास्थ्य विमा कार्यक्रमलाई उच्च प्राथमिकता राखेको दाबी समेत गरे ।
सरकारले विगतका वर्षहरूमा भन्दा उक्त कार्यक्रमका लागि दोब्बर बजेट विनियोजन गरेकाले स्वास्थ्य बिमा कार्यक्रम सुधारमा फडको मार्ने अवस्था रहेको सचिव देवकोटाको जिकिर थियो ।
सचिव देवकोटाले सरकारले आगामी ३ वर्षभित्र आधार स्वास्थ्य सेवा आम नागरिकलाई पुर्याउने गरी सरकारले काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।