
रौतहट : नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित गौर आँखा अस्पतालमा पछिल्लो समय बिरामीको चाप उल्लेखनीय रूपमा बढेको छ । अस्पताल प्रशासनका अनुसार सोमबार एकै दिन करिब ८०० जनाले आँखाको परीक्षण तथा उपचार सेवा लिएका छन्, जुन यस वर्षकै सबैभन्दा उच्च संख्या हो ।
अस्पतालले बढ्दो गर्मी, धुलोधुवाँ र वातावरणीय प्रभावका कारण आँखासम्बन्धी समस्या लिएर आउने बिरामीको संख्या बढेको अनुमान गरेको छ । बिरामीको चाप बढेसँगै सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाइएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालका प्रशासक नागेश्वर प्रसाद चौधरीका अनुसार सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले सातै दिन बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन भइरहेको छ । साथै शनिबारबाहेक हप्ताको छ दिन नियमित शल्यक्रिया सेवा प्रदान गरिँदै आएको छ भने दुर्घटना तथा गम्भीर अवस्थाका बिरामीका लागि २४सै घण्टा आकस्मिक सेवा उपलब्ध छ ।
नेपाल–भारत सीमावर्ती क्षेत्रमा अवस्थित गौर आँखा अस्पतालमा उपचारका लागि भारतीय नागरिकको समेत उल्लेखनीय उपस्थिति रहने गरेको छ । अस्पताल प्रशासनले भारतीय बिरामीहरूको सहज पहुँच सुनिश्चित गर्न विशेष व्यवस्था मिलाएको जनाएको छ । भारतबाट आउने बिरामीलाई अस्पतालसम्म पुग्न कुनै कानुनी वा व्यावहारिक कठिनाइ नहोस् भन्ने उद्देश्यले भारतीय नम्बर प्लेटका सवारीसाधनलाई पनि अस्पताल परिसरसम्म सहज आवतजावतको व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।

लामो समयदेखि गुणस्तरीय तथा सुलभ आँखा उपचार सेवा प्रदान गर्दै आएको गौर आँखा अस्पताल सीमावर्ती क्षेत्रका सर्वसाधारण तथा न्यून आय भएका नागरिकका लागि भरोसायोग्य स्वास्थ्य संस्था बन्दै गएको छ । अत्याधुनिक प्रविधि र दक्ष चिकित्सकको सहयोगमा मोतियाबिन्दुसहित विभिन्न जटिल आँखा रोगको उपचार गर्दै आएको अस्पतालले अन्धोपन न्यूनीकरणमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
अस्पतालमा सेवाग्राहीको संख्या निरन्तर बढ्दै जानुले संस्थाप्रति आम नागरिकको विश्वास अझ मजबुत बन्दै गएको अस्पताल प्रशासनको भनाइ छ ।
