२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

किष्ट शिक्षण अस्पतालद्वारा ‘अंगदाता सम्मान कार्यक्रम’ सम्पन्न, २०० भन्दा बढी सम्मानित

Nada
२०८३ जेठ १४ गते १५:३७
Shares
किष्ट शिक्षण अस्पतालद्वारा ‘अंगदाता सम्मान कार्यक्रम’ सम्पन्न, २०० भन्दा बढी सम्मानित

काठमाडौं : किष्ट शिक्षण अस्पतालअन्तर्गत सञ्चालनमा रहेको किष्ट प्रत्यारोपण केन्द्रले ‘अंगदाता सम्मान कार्यक्रम’ भव्य रूपमा सम्पन्न गरेको छ । मानव जीवन बचाउन महत्वपूर्ण योगदान पुर्‍याउने अंगदाताप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने उद्देश्यले आयोजित कार्यक्रममा २०० भन्दा बढी अंगदातालाई सम्मान गरिएको अस्पतालले जनाएको छ ।

ncell

कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, स्वास्थ्यकर्मी, प्रत्यारोपण विशेषज्ञ, बिरामी तथा अंगदाताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन ललितपुर महानगरपालिकाका नगरप्रमुख तथा उपत्यका मेयर फोरमका अध्यक्ष चिरिबाबु महर्जनले गरेका थिए । उनले अंगदानलाई मानवताको उत्कृष्ट उदाहरणको रूपमा व्याख्या गर्दै अंगदाताहरू समाजका वास्तविक नायक भएको बताए । “एक व्यक्तिको अंगदानले अर्को व्यक्तिलाई नयाँ जीवन दिन सक्छ, त्यसैले यस्तो कार्यलाई समाजभर प्रोत्साहन गर्न आवश्यक छ,” उनले उल्लेख गरे ।

महर्जनले किष्ट शिक्षण अस्पतालले निजी क्षेत्रबाट प्रत्यारोपण सेवामा पुर्‍याएको योगदानको पनि प्रशंसा गरे ।

अस्पतालका अनुसार ग्वार्कोस्थित किष्ट शिक्षण अस्पताल विगत पाँच वर्षदेखि निजी क्षेत्रमै उच्च सफलता दरसहित प्रत्यारोपण सेवामा अग्रणी रहँदै आएको छ । हालसम्म २०२ जनामा मिर्गौला र १५ जनामा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिएको अस्पतालले जनाएको छ । यससँगै, निजी अस्पतालमध्ये सबैभन्दा बढी अंग प्रत्यारोपण गर्ने संस्थाका रूपमा आफूलाई स्थापित गरेको दाबी अस्पतालले गरेको छ ।

अस्पतालले आफ्नो सेवा अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित गराउँदै एनएबीएच प्रमाणीकरण प्राप्त गरेको जनाएको छ । अत्याधुनिक प्रविधिको प्रयोगमार्फत एकैसाथ मिर्गौला र कलेजो प्रत्यारोपण, दुई परिवारबीच आपसी सहमतिमा गरिने अंग प्रत्यारोपण तथा दूरबिन प्रविधिबाट गरिने शल्यक्रियाहरू सफलतापूर्वक सञ्चालन हुँदै आएको अस्पतालले जानकारी दिएको छ ।

नेपालमै पहिलोपटक एकैसाथ मिर्गौला र कलेजो प्रत्यारोपण शल्यक्रिया सम्पन्न गरेको दाबी गर्दै उक्त उपलब्धि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय संयुक्त वार्षिक समीक्षा प्रतिवेदन २०७९/८० मा समेत समावेश गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार प्रत्यारोपण गरिएका बिरामीहरूमध्ये सबैभन्दा बढी उमेरका ८० वर्ष र सबैभन्दा कम उमेरका १९ वर्षका रहेका छन् । क्यान्सर पहिचान भएकी ८० वर्षीया एक महिलाले चिकित्सकीय रूपमा अंगदान योग्य ठहरिएपछि उनको अंगदानबाट आफन्तको जीवन बचाउन सफल भएको उदाहरण पनि प्रस्तुत गरिएको छ ।

कार्यक्रममा उपत्यकाका विभिन्न नगरप्रमुख तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको पनि उपस्थिति रहेको अस्पतालले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर