
काठमाडौं : स्वास्थ्य बिमा बोर्डले बढ्दो वित्तीय संकटको कारण देखाउँदै निजी स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेकका स्वास्थ्य बिमा सेवा स्थगित गर्ने निर्णय गरेको छ ।
बोर्डकी निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिद्वारा जारी सूचनाअनुसार आगामी जेठ १६ गतेदेखि लागू हुने गरी निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक बाहेकका सबै स्वास्थ्य बिमा सेवा बन्द गरिने भएको हो ।
बोर्डले अर्को निर्णय नभएसम्मका लागि यो व्यवस्था लागू रहने स्पष्ट पारेको छ ।
बोर्डद्वारा जारी सूचनामा नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा भने यथावत सञ्चालन हुने उल्लेख गरिएको छ ।
यस निर्णयसँगै स्वास्थ्य बिमा सेवा लिँदै आएका सेवाग्राहीहरू प्रभावित हुने देखिएको छ ।
