२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

दुईदिने बिदाले अस्तव्यस्त अस्पताल, सातै दिन ओपिडी खोल्न दबाब

Nada
सपना बोहरा
२०८३ जेठ १३ गते ०६:२५
Shares
दुईदिने बिदाले अस्तव्यस्त अस्पताल, सातै दिन ओपिडी खोल्न दबाब

काठमाडौं : धुलिखेल अस्पतालमा शनिबार र आइतबारको बिदापछि सोमबार ओपिडी सेवा खुल्दा अत्यधिक भिडका कारण तनावपूर्ण अवस्था सिर्जना भयो । ओपिडी खुल्नुभन्दा एक घण्टाअघि नै बिरामीहरू नाम दर्ताका लागि लाममा बसेका थिए । चर्को गर्मीका बीच सेवाग्राही कष्टकर अवस्थामा थिए । त्यही समयमा अस्पतालको सर्भर डाउन भएपछि दुई दिनदेखि पालो कुरिरहेका बिरामी आक्रोशित बने । केही समय बिरामी र कर्मचारीबीच भनाभनसमेत भयो ।

ncell

दुई दिने बिदापछि अस्पतालमा अत्यधिक भिड भएर तनाव सिर्जना भएको यो पहिलो घटना भने होइन । केन्द्र तथा प्रदेशस्तरीय रिफरल अस्पतालहरूमा हरेक सोमबार यस्तै समस्या दोहोरिने गरेको छ ।

सिभिल अस्पतालमा स्वास्थ्य परीक्षण गराउन आएकी पनौतीकी शर्मिला थापाले सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै भनिन्,‘बिहान ११ बज्न नपाउँदै नाम दर्ताको नम्बर ६ सय ९२ पुगिसकेको छ । यस्तो भिड र लाइनको व्यवस्थापन सरकारले किन गर्दैन ?’

उनले अनलाइन नाम दर्ता प्रणाली भए भिड केही कम हुने बताइन् । ‘कम्तीमा अनलाइनबाटै नाम दर्ता गर्ने व्यवस्था भए यति धेरै भिड हुने थिएन,’ उनले भनिन् । नियमित उपचारका लागि अस्पताल धाउनुपर्ने बिरामीहरू दुईदिने बिदाका कारण थप मर्कामा परेको उनको गुनासो थियो ।

नियमित उपचार आवश्यक पर्ने बिरामीका लागि दुई दिन ओपिडी बन्द हुनु ठुलो समस्या बनेको छ । कालीमाटीकी मुना शाहीले प्रश्न गरिन्, ‘अस्पतालमा दुई दिन बिदा दिने निर्णय गर्ने, तर त्यसपछि हुने भिडको व्यवस्थापन कसले गर्ने ?’

सरकारले सातामा दुई दिन बिदा लागू गरेपछि यसको सबैभन्दा बढी प्रभाव स्वास्थ्य क्षेत्रमा परेको देखिन्छ । विशेषगरी रिफरल अस्पतालमा समस्या झन् जटिल बनेको छ । विभिन्न जिल्लाबाट उपचारका लागि संघीय राजधानी आउने बिरामी थप समस्यामा परेका छन् ।

कञ्चनपुरकी पूर्णिका चौधरी मिर्गौलासम्बन्धी समस्याको उपचार गराउन काठमाडौं आएकी थिइन् । एकै दिनमा उपचार सकिने अपेक्षा गरेकी उनी सार्वजनिक बिदा र पालो नआएका कारण चार दिन होटलमा बस्न बाध्य भइन् ।

स्वास्थ्य क्षेत्रमा सीमित स्रोतसाधन, चिकित्सकअभाव र बढ्दो बिदाका कारण अस्पताल र बिरामीबीच तालमेल मिल्न कठिन भएको देखिन्छ । दुईदिने बिदासँगै सार्वजनिक बिदा थपिँदा अस्पतालमा थेगिनसक्नु भिड हुने गरेको छ । यही साता गणतन्त्र दिवस र इदका कारण लगातार चार दिन बिदा परेको छ ।

त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसायरा बिरामीको चाप व्यवस्थापनबारे छलफल भइरहेको बताउँछन् । ‘बिरामीको चाप अत्यधिक छ । यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे हामी सोचिरहेका छौं,’ उनले भने ।

उनले दुईदिने बिदा र सार्वजनिक बिदाका कारण बिरामीको चाप बढेको स्वीकार गर्दै भने,‘भिडभाड भए पनि हामी व्यवस्थापन गर्ने प्रयासमा छौं, किनभने हामी पेसागत जिम्मेवारीमा रहेका चिकित्सक हौं ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीले दुईदिने बिदा लागू भएपछि अस्पतालमा बिरामीको चाप बढेको बताए । ‘चौतर्फी विरोधसमेत हुन थालेको छ । अस्पतालमा बिरामीको भिडकै कारण तनावपूर्ण अवस्था सिर्जना भइरहेको छ । तर यो सरकारको निर्णय भएकाले अस्पतालहरूलाई चाप व्यवस्थापन गर्न निर्देशन दिएका छौं,’ उनले भने ।

उनका अनुसार अस्पतालमा भिड कम गर्न अनलाइन नाम दर्ता, अनलाइन ल्याब रिपोर्ट तथा अस्पताल सेवाको डिजिटल प्रणाली विकास आवश्यक छ । तर अधिकांश सरकारी अस्पतालमा अझै यस्ता सुविधा उपलब्ध छैनन् ।

‘ओपिडी सेवा सुरु हुने पहिलो दिन बिलिङ काउन्टर थप्ने र भिड व्यवस्थापन गर्न निर्देशन दिएका छौं,’ उनले भने, ‘अब लगातार चार दिन बिदा हुँदै छ, कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती छ ।’

बिरामीलाई परेको असुविधाका विषयमा मन्त्रालयले छलफलको तयारी गरिरहेको उनले जानकारी दिए । स्वास्थ्य सचिव विदेश भ्रमणमा रहेकाले स्वदेश फर्किएपछि यस विषयमा बैठक बस्ने उनले बताए ।

सरकारले दुईदिने बिदा लागू गरेपछि ९१४ चिकित्सकको दरबन्दी थपिएको जानकारी दिँदै उनले भने, ‘यो दरबन्दी केवल दुईदिने बिदाका लागि थपिएको होइन । २०४९ सालदेखिको दरबन्दी समायोजन आवश्यक भएकाले थप गरिएको हो ।’ उनका अनुसार अझै २० देखि २५ हजार दरबन्दी मिलान गर्न बाँकी छ ।

मन्त्रिपरिषद्ले २०८२ चैत २२ गते सबै सरकारी कर्मचारीलाई सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । त्यसपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा आइतबार पनि ओपिडी सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो । तर स्वास्थ्यकर्मीहरूले विरोध जनाउँदै संयुक्त आन्दोलनको चेतावनी दिएपछि सरकारले अस्पतालहरूमा पनि दुई दिने बिदा लागू ग¥यो ।

यद्यपि, सेवाग्राहीले भने आलोपालो प्रणाली मिलाएर सातै दिन ओपिडी सेवा सञ्चालन गर्न सरकारमाथि दबाब दिँदै आएका छन् ।

ताजा खबर

सम्बन्धित खबर