
नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनले लामो समयदेखि जनताको आशा र भरोसाको प्रतिनिधित्व गर्दै आएको छ । निरंकुशताविरुद्धका संघर्ष, वर्गसंघर्ष र व्यवस्था परिवर्तनका आन्दोलनमा कम्युनिस्ट शक्तिले खेलेको भूमिका अविस्मरणीय छ । तर, विगत केही वर्षयता नेपाली कम्युनिस्ट आन्दोलन जुन दिशाहीनता, वैचारिक स्खलन र विभाजनको दुष्चक्रमा फस्यो, यसले सिंगो आन्दोलनलाई गम्भीर दुर्घटनातर्फ धकेलिदिएको छ । आज नेपालमा कम्युनिस्टहरू वैचारिक रूपमा सबल र जनताप्रति उत्तरदायी हुनुको सट्टा पद, शक्ति र गुटीय स्वार्थको बन्धक बन्दा आन्दोलन दिनप्रतिदिन कमजोर र भुत्ते भएका छन् ।
यसको सबैभन्दा ठुलो ऐतिहासिक प्रस्थान विन्दु २०७४ सालको आमनिर्वाचन र त्यसपछिको राजनीतिक घटनाक्रम हो । तत्कालीन समयमा देशका प्रमुख वामपन्थी शक्तिहरू मिलेर बनेको वामगठबन्धनले संघीय संसदमा झन्डै दुईतिहाइको अभूतपूर्व बहुमत हासिल गर्यो । त्यो मत कुनै नेता विशेषको व्यक्तिगत महत्वाकांक्षा पूरा गर्नका लागि नभई राजनीतिक स्थिरता, आर्थिक समृद्धि र समाजवादको आधार निर्माणका लागि नेपाली जनताले दिएको अमूल्य अवसर थियो । जनअपेक्षाअनुरूप तत्कालीन दुई ठुला पार्टीबीच एकता पनि भयो । तर, विडम्बना ! त्यो पार्टी एकता देश र जनताको बृहत्तर हित वा माक्र्सवादी सिद्धान्तनिष्ठतामा आधारित थिएन । त्यो त केबल दुई शीर्ष नेताबीच ‘आलोपालो प्रधानमन्त्री हुने’ एउटा बन्द कोठाभित्रको गोप्य र अपारदर्शी लेनदेनको जगमा उभिएको थियो । सिद्धान्तका नाममा गरिएको स्वार्थको त्यो गठजोडले अन्ततः पार्टीलाई त फुटाउने काम गर्यो नै, सँगै देश र कम्युनिस्ट आन्दोलन दुवैलाई गम्भीर संकटको खाडलमा पुर्यायो ।
त्यसबेला सत्ता र कुर्सीको लुछाचुँडी चल्दै गर्दा पार्टीभित्रका इमानदार पंक्तिले पार्टीलाई फुटबाट बचाउन र जनताले सुम्पेको पाँच वर्षको म्यान्डेटलाई जोगाउन अथक प्रयास गरेका थिए । सरकारलाई स्थिरता दिन र आन्दोलनको साख जोगाउन गरिएका ती निष्ठावान् प्रयासलाई उल्टै संकीर्ण स्वार्थ बोकेका नेतृत्व तहबाट गलत व्याख्या गरियो, भ्रम फैलाइयो र इमानदार कार्यकर्तामाथि षड्यन्त्रको जालो बुनियो । नेतृत्वको अहंकार, व्यक्तिवादी चरित्र र गैर–माक्र्सवादी कार्यशैलीकै कारण इतिहासकै बलियो भनिएको कम्युनिस्ट सत्ता र पार्टी तासको महलझैं ढल्न पुग्यो ।
आफ्नै अदूरदर्शिता र गल्तीका कारण आज त्यही असफल नेतृत्व पार्टी र आम जनता दुवैबाट नराम्ररी अलगथलग परेको छ । राजनीतिक रूपमा कमजोर र नैतिक रूपमा स्खलित भइसकेपछि अहिले फेरि तिनै पात्रहरूले बजारमा ‘कम्युनिस्ट एकता’को नयाँ राग अलाप्न थालेका छन् । हिजो झन्डै दुईतिहाइको बहुमतलाई लात हान्ने, आफ्नै सहयोद्धालाई शत्रु देख्ने र सत्ताका लागि दक्षिणपन्थीसँग आत्मसमर्पण गर्नेले आज कुन नैतिकताका आधारमा कम्युनिस्ट एकताको कुरा गरिरहेका छन् ? यो सर्वथा हास्यास्पद र विडम्बनापूर्ण छ । यो एकताको नारा जनता र कार्यकर्तालाई फेरि एकपटक भ्रमित पार्ने, आफ्नो गुमेको साख फिर्ता गर्ने र सत्ताको बार्गेनिङ गर्ने एउटा नयाँ प्रपञ्च मात्र हो ।
नेपालमा कम्युनिस्ट कमजोर हुनुको मुख्य कारण विचारको खडेरी र संसद्वादको दलदल हो । जब कम्युनिस्ट पार्टीहरूले सर्वहारा वर्गको हित, उत्पादन सम्बन्धको रूपान्तरण र क्रान्तिकारी आदर्शलाई बिर्सेर केबल चुनाव जित्ने र सत्तामा पुग्ने खेललाई नै आफ्नो अन्तिम गन्तव्य बनाउँछन्, तब उनीहरूको पतन निश्चित हुन्छ । हालै सम्पन्न २१ फागुनको प्रतिनिधिसभा निर्वाचनको परिणामले कम्युनिस्ट आन्दोलनमाथि जनताको संशय र वितृष्णालाई छताछुल्ल पारिदिएको छ । यो निर्वाचनमा कम्युनिस्ट पार्टीहरूले व्यहोर्नुपरेको धक्का र जनमतको संकुचनले स्पष्ट सन्देश दिएको छ कि अब जनता केबल ‘कम्युनिस्ट’ नामको लेबुल र खोक्रो नाराबाट भ्रमित हुनेवाला छैनन् । नेतृत्वको सत्तालिप्सा र अकर्मण्यतालाई जनताले मतपेटिकामार्फत सजाय दिइसकेका छन् ।
यदि अझै पनि चेत नखुल्ने हो भने नेपाली कम्युनिस्टहरूको हविगत छिमेकी राष्ट्र भारतको पश्चिम बंगालको जस्तै हुने निश्चित छ । पश्चिम बंगालमा निरन्तर ३४ वर्षसम्म एकछत्र शासन गरेको वामपन्थी मोर्चा कसरी एकाएक शून्यमा झर्यो र आजसम्म तंग्रिन सकेको छैन भन्ने उदाहरण हाम्रासामु जीवन्त छ । सत्ताको मातमा जनतासँगको सम्बन्ध टुट्नु, नोकरशाही प्रवृत्ति हाबी हुनु, आन्तरिक लोकतन्त्र समाप्त हुनु र सैद्धान्तिक विचलन आउनु नै बंगालका कम्युनिस्टहरूको पतनको कारण थियो । आज नेपालका प्रमुख कम्युनिस्ट पार्टीहरू ठ्याक्कै त्यही बंगालकै आत्मघाती बाटोमा दौडिरहेका छन् ।
त्यसैले, अबको वास्तविक समाधान हिजोकै असफल र नीतिहीन नेताहरूलाई बोकेर फेरि त्यही सडिसकेको सत्तामुखी एकताको कुबाटोमा हिँड्नु कदापि सही हुन सक्दैन । अबको पहिलो प्रस्थानविन्दु भनेको आन्दोलनलाई यो दूरावस्थामा पुर्याउने असफल र अवसरवादी नेतृत्वले आफ्ना ऐतिहासिक गल्तीहरूप्रति इमानदार आत्मालोचना गर्नु र प्रायश्चितको भावसहित नेतृत्वबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नु हो । अबको निकास सबै वामपन्थी पार्टीहरूभित्र रहेका सापेक्षिक रूपमा क्रान्तिकारी, इमानदार र परिवर्तनकामी शक्तिहरू एकजुट हुनुमा छ । विचार, नीति र जनसरोकारका मुद्दामा आधारित बृहत् वाम ध्रुवीकरण र सिद्धान्तनिष्ठ पार्टी एकताका लागि नयाँ पुस्ता र निष्ठावान् कार्यकर्ता जुर्मुराएर अघि बढ्नुपर्छ । खोक्रा नारा र सत्ताको लेनदेन गर्ने कुबाटोलाई सदाका लागि बन्द गरौं र देशलाई समाजवादतर्फ डोर्याउने क्रान्तिकारी एकताको मूलबाटो समातौं ।