२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

निर्दोषलाई जेल कोच्ने फौजदारी न्याय प्रणाली

देशभरका कारागारमा झन्डै १० हजार व्यक्ति पुर्पक्षका लागि थुनामा छन् । जो दोषी ठहर नभए पनि वर्षौंदेखि जेलमा छन् । महान्यायाधिवक्ताको कार्यालयका अनुसार, बितेका तीन वर्षमा फौजदारी अपराधका ४९ प्रतिशत अभियुक्तले अदालतबाट सफाइ पाए । ‘पहिले थुन, पछि सुन’ प्रवृत्तिले न्याय प्रक्रिया आफैं सजाय बनेको देखाउँछ ।

Nada
तेजप्रकाश दीक्षित
२०८३ जेठ १२ गते ०६:२५
Shares
निर्दोषलाई जेल कोच्ने फौजदारी न्याय प्रणाली

आधुनिक लोकतान्त्रिक कानुनको सर्वमान्य विधिशास्त्रीय मान्यता छ, ‘हजारौं दोषी छुटून्, तर एउटै पनि निर्दोषले सजाय नपाओस् ।’ 

ncell

फौजदारी न्यायको आधारभूत मान्यताअनुसार अदालतबाट कसुर प्रमाणित नभएसम्म प्रत्येक अभियुक्त निर्दोष मानिन्छ । त्यसअर्थमा पुर्पक्षका लागि थुनामा राख्ने विषय अपवाद हुनुपर्ने हो । तर नेपालको हकमा यो सिद्धान्त ठिक उल्टो भएको देखिन्छ । हाम्रो अभियोजन र न्यायिक अभ्यास ‘पहिले थुन, अनि सुन’को प्रतिशोधात्मक मानसिकताबाट मुक्त हुन सकेको छैन । 

यस परिपाटीले हाम्रो न्याय प्रणालीमा एउटा भाष्य निर्माण गरेको छ– द प्रोसेस इज द पनिसमेन्ट । अर्थात् न्यायिक प्रक्रिया नै आफैंमा एउटा सजाय हो ।’ अदालतले अन्तिम फैसला सुनाएर दोषी करार गर्नु त धेरै टाढाको कुरा, न्याय पाउने आशामा अदालतको ढोका ढकढक्याउनु र अनुसन्धानको चक्रव्युहमा पस्नु नै नागरिकका लागि कष्टकर सजाय बनिदिन्छ । प्रहरी हिरासत, लामो र झन्झटिलो अदालती तारिख, न्यायिक प्रक्रियाका खर्च र आरोपितलाई समाजले हेर्ने नकारात्मक दृष्टिकोणका कारण आमनागरिक फैसला आउनुअगावै मानसिक, आर्थिक र सामाजिक रूपमा क्षतविक्षत भइसकेको हुन्छ । त्यसमाथि न्याय पाउन लाग्ने वर्षौंको प्रक्रियाले कसुर प्रमाणित नहुँदै अपराधीलाई झैं वैधानिक सजाय बन्न जान्छ । 

यसको सिधा प्रभाव देशभरका कारागारमा परेको छ । राज्यको कमजोर अनुसन्धान, पूर्वाग्रही मानसिकता र फितलो अभियोजनका कारण हजारौं नागरिकले आफ्नो जीवनका अमूल्य वर्षहरू अनाहकमा जेलका चिसो पर्खालभित्र बिताउनुपरिरहेको छ । अदालतबाट निर्दोष साबित हुँदा न त तिनको गुमेको युवावस्था, आँसु र मानसिक सास्ती फिर्ता आउँछ, न राज्यले तिनीहरूलाई कुनै सम्मान वा क्षतिपूर्ति नै दिन्छ । महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन र कारागार व्यवस्थापन विभागको हालैको तथ्यांकले यो भयावह अवस्था देखाएको छ । 

खचाखच कारागार

सबैभन्दा पहिले कारागार व्यवस्थापन विभागको तथ्यांकलाई हेरौं । २०८२ चैतसम्मको आँकडाअनुसार नेपालका कारागारमा २६ हजार ८४३ कैदी बन्दी राखिएका छन् । त्यसको झन्डै ३८ प्रतिशत थुनुवा छन् । १० हजार ६० थुनुवालाई पुर्पक्षका लागि भन्दै थुनामा राखिएको छ । जसको कसुर अदालतबाट प्रमाणित भइसकेको छैन । उनीहरू दोषी हुन् या निर्दोष अदालतको फैसला आउन बाँकी नै छ ।

त्यसै त नेपालका कारागारको भौतिक क्षमता सीमित र निकै जीर्ण छ । कारागारहरू वास्तविक क्षमताभन्दा दुई–तीन गुणा बढी भार खेपिरहेका छन् । न्यूनतम मानव अधिकारसमेत नपाई कैदीबन्दी साँघुरा र अव्यवस्थित झ्यालखानामा बस्न बाध्य छन् । त्यसरी कोचाकोच गरेर राखिएकामध्ये ३८ प्रतिशत व्यक्तिहरू आरोप, शंका वा ‘पुर्पक्ष’का नाममा थुनिएका हुन् । तीमध्ये आधाभन्दा धेरै निर्दोष भएर छुट्ने तथ्यांकले नै देखाउँछ । त्यसअर्थमा पुर्पक्ष थुनालाई राज्यले नागरिकमाथि गरिरहेको वैधानिक अत्याचार हो भन्दा फरक नपर्ला । 

गम्भीर अपराधको तीनवर्षे तथ्यांक

फौजदारी मुद्दामा राज्य आफैं वादी हुन्छ र सरकारी वकिलले आरोप प्रमाणित गर्ने दायित्व बोक्छ । राज्यले कति सजिलै मुद्दा दायर गर्छ र अदालतले सहजै पुर्पक्षका लागि थुनामा पठाउँछ भन्ने कुरा बुझ्न महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन हेरे पुग्छ । आठवटा जघन्य कसुरको तीनवर्षे तथ्यांकले थुप्रै निर्दोषले कसुर ठहर नहुँदै सजायँ भोग्नुपरेको देखाउँछ । 

फौजदारी अपराधको तीन वर्षको एकीकृत सरकारी तथ्यांकलाई केलाउँदा एउटा सत्य प्रस्ट हुन्छ, नेपालमा राज्यले चलाउने मुख्य गम्भीर मुद्दामध्ये औसतमा झन्डै ४९ प्रतिशत मुद्दामा अभियुक्तले पूर्ण सफाइ पाउँछन् । विशेषगरी ज्यान मार्ने उद्योगजस्तो गम्भीर मुद्दामा त सफाइ प्रतिशत पछिल्ला तीन वर्षमा ६५ देखि ७१ प्रतिशत देखिन्छ । यसको अर्थ यदि प्रहरीले ज्यान मार्ने उद्योगमा एक सय व्यक्तिलाई पक्राउ गरेर मुद्दा चलाउँछ भने तीमध्ये ६८ प्रतिशत आरोपित निर्दोष ठहरिन्छन् । त्यस्तै, जबर्जस्ती करणी उद्योगमा औसतमा ४९ प्रतिशत र मानव ओसारपसार ५३ प्रतिशतभन्दा धेरै आरोपितलाई अदालतले अभियोग दाबी पुग्न नसक्ने भन्दै सफाइ दिएको छ ।

सबैभन्दा महत्वपूर्ण पक्ष यी मुद्दा कुनै सानातिना झै–झगडा वा देवानी मुद्दाको होइन । यी राज्यकै सबैभन्दा जघन्य र कडा सजाय हुने फौजदारी कसुरसम्बन्धी मुद्दा हुन् । अन्य सामान्य प्रकृतिका मुद्दामा कसुर ठहर हुने दर झन् कम छ । महान्यायाधिवक्ता कार्यालय स्वयंले स्विकारेको छ कि रिट निवेदन र अन्य सबै मुद्दासमेत जोड्दा पनि राज्यले केवल ५० प्रतिशतजति मुद्दामा मात्रै सफलता हासिल गर्न सकेको छ ।

थुनुवाको रोदन

बितेका तीन वर्षमा जघन्य अपराधमा सफाइ पाउने औसत ४९ प्रतिशतको ट्रेन्ड हेर्दा जिल्ला अदालतले फैसला गर्दा यी १० हजार ८० थुनुवामध्ये कम्तीमा ४ हजार ९३० जनाले मुद्दामा सफाइ पाउँछन् । सम्झौं त, अहिले कारागारमा पुर्पक्षका नाममा थुनिएका झन्डै ५ हजार व्यक्तिहरू ढिलोचाँडो निर्दोष साबित हुने लाइनमा छन् । तर, तिनको दुर्भाग्य, मुद्दाको फैसला हुनै वर्षौं लाग्छ । त्यतिन्जेल उनीहरू अपराधीसरह जेलमा बस्न बाध्य छन् । कसैको तीन वर्ष, कसैको ५ वर्ष त कसैको त्योभन्दा बढी समय पुर्पक्षमै बित्छ । थुप्रै थुनुवाको हकमा कसुर ठहरिएकै भए पनि जति सजाय हुन्थ्यो, त्योभन्दा बढी समय पुर्पक्षका क्रममा जेलमै बिताइसकेका हुन्छन् ।

उल्टिने फैसलाहरू

जिल्ला अदालतले दोषी ठहर गरेका अभियुक्तका लागि माथिल्ला अदालतको ढोका खुलै रहन्छ । जिल्ला अदालतबाट कसुर ठहर भएका १६ हजार ७६३ अभियुक्तको पछिल्लो तीन वर्षको तथ्यांक केलाउँदा तीमध्ये झन्डै ४९ प्रतिशतले उच्च र सर्वोच्च अदालत पुगेर सफाइ पाएका छन् । यसको सिधा अर्थ हुन्छ, सुरुवाती अदालतले प्रमाणको गहिरो मूल्यांकन नगरी, वा जनदबाब, मिडिया ट्रायल र प्रहरीको प्रतिवेदनकै भरमा कतिपय व्यक्तिलाई दोषी करार गरिदिन्छ । पछि जब मुद्दा उच्च वा सर्वोच्च अदालतमा पुग्छ, त्यहाँ प्रमाणको मिहीन ढंगले परीक्षण हुँदा जिल्लाको फैसला त्रुटिपूर्ण देखिन्छ र उनीहरूले सफाइ पाउँछन् ।

हाम्रो फौजदारी न्याय प्रणाली यसरी पथभ्रष्ट हुनुमा प्रहरी वा सरकारी वकिललाई मात्र दोष दिन मिल्दैन । यसका पछाडि संकुचित सामाजिक चेतना, राजनीतिक दबाब, अधिकारकर्मी र मिडियाको प्रभावले पनि काम गरेको हुन्छ । पहिलो, समाजमा कुनै पनि घटना घटेपछि अनुसन्धानको गहिराइ वा प्रमाणको पर्याप्तता हेरिँदैन । समाजको नजरमा प्रहरीले अभियुक्तलाई तुरुन्तै हत्कडी लगाएर थुनेमा मात्र काम गरेको मानिन्छ । नत्र प्रहरीले आर्थिक चलखेल गरेको वा अभियुक्तलाई भगाएको आरोप लाग्छ । ‘हत्कडी नै न्याय हो’ भन्ने भाष्यले अनुसन्धान अधिकृतहरू दबाबमा पर्छन् । त्यसैले शंकाकै भरमा निर्दोष व्यक्तिलाई पनि जघन्य अपराधको आरोप लगाउँछन् । 

दोस्रो, अधिकारकर्मीको एकपक्षीय दबाबले अनुसन्धान प्रभावित हुन्छ । मानवअधिकार र न्यायका नाममा खुलेका एनजिओहरूले जबर्जस्ती करणी, महिला हिंसाजस्ता संवेदनशील मुद्दामा पीडितको पक्षमा वकालत गर्छन् । तर, निष्पक्ष अनुसन्धानको पर्खिन सक्दैनन् । त्यसमाथि प्रहरी÷प्रशासनप्रति विश्वास देखिँदैन । उनीहरू सडक आन्दोलन, डेलिगेसन र मिडियामार्फत अभियुक्तलाई तत्काल पक्राउ गरेर मुद्दा चलाउन दबाब दिन्छन् । सडकबाटै दबाब दिन थालेपछि अनुसन्धान अधिकृतले शंकाको घेरामा रहेका सबैलाई एउटै डालोमा राखेर मुद्दा अघि बढाउँछ ।  

अर्को कारण मिडिया ट्रायल हो । सञ्चारमाध्यमले पनि आफ्नो व्यावसायिक मर्यादा बिर्सेर अभियुक्त पक्राउ पर्नासाथ उसलाई अपराधी साबित गरिसकेका हुन्छन् । अदालतले फैसला गर्नुअगावैको मिडिया ट्रायलका कारण न्यायाधीश र सरकारी वकिल पनि प्रभावित हुनसक्छन् । सामाजिक दबाबले अभियुक्तलाई राम्ररी नसुनेरै मुद्दा टुंगोमा पुग्ने स्थिति हुन्छ । यदि हामी साँच्चै न्याय चाहन्छौं भने समाज, अधिकारकर्मी, एनजिओकर्मी र मिडियाले अनुसन्धान भइरहेका मुद्दामा दबाब दिन छाड्नुपर्छ । 

फेरि पनि फौजदारी मुद्दाको मियो सरकारी वकिल कार्यालय हो । तर, हाम्रो अभ्यासमा सरकारी वकिलहरू प्रहरी अनुसन्धानले टुंग्याएको मुद्दाका हस्ताक्षरकर्ताजस्ता मात्र देखिएका छन् । प्रहरीले जस्तो फाइल बनायो, त्यस्तै अभियोजन गर्ने परिपाटी छ । सरकारी वकिलले पूर्ण व्यावसायिक हिम्मत देखाउने हो अधुरो अनुसन्धानकै भरमा भइरहेका अभियोजन ह्वात्तै घट्नेछ । अनुसन्धानमा प्रमाण नपुगेको, रिसइबीका कारण फसाइएको वा पूर्वाग्रह राखिएकोजस्तो देखिएमा सरकारी वकिलले ‘म यो मुद्दा चलाउँदिनँ’ भनेर रोक्ने हिम्मत देखाउनुपर्छ । कानुनी रूपमा प्राप्त यो अधिकारको विवेकपूर्ण प्रयोग भएमा मात्रै पनि सयौं निर्दोष नागरिक अनाहकमा जेल जानबाट जोगिनेछन् । अदालतको कार्यबोझ पनि घट्नेछ ।

यो भयावह स्थिति र ‘न्यायिक ज्यादती’लाई रोक्न अब सानातिना सुधारले पुग्दैन । अनुसन्धान अधिकृत, सरकारी वकिल र न्यायाधीशलाई नै जवाफदेही बनाउनुपर्ने देखिन्छ । निर्दोष व्यक्तिले अनाहकमा थुनामा बस्नुप¥यो भने उसले क्षतिपूर्ति पाउनुपर्ने व्यवस्था हुनुपर्छ । यदि कुनै व्यक्ति पुर्पक्षका लागि जेल बस्यो र पछि अदालतबाट निर्दोष सफाइ पाएमा उसले जेलमा बिताएको अवधिको क्षतिपूर्ति राज्यले व्यहोर्नुपर्छ । 

निर्दोष फस्ने परिपाटी अन्त्य गर्न ‘जवाफदेही सजाय’को व्यवस्था हुनुपर्छ । यदि अदालतबाट अभियुक्तले सफाइ पायो र अनुसन्धानमा बदनियत वा पूर्वाग्रह देखियो भने सम्बद्ध अधिकारीमाथि कारबाही हुने प्रस्ट कानुनी व्यवस्था हुनुपर्छ । कुनै अनुसन्धान अधिकारीले चलाएका मुद्दामध्ये २० प्रतिशतभन्दा बढी मुद्दामा अभियुक्तले अदालतबाट सफाइ पाएमा त्यस्ता अधिकृतलाई नयाँ मुद्दा अनुसन्धान हेर्न दिनुहुँदैन । 

यदि कुनै जिल्ला वा उच्च अदालतका न्यायाधीशले थुनामा पठाएका वा दोषी ठहर गरेका मुद्दामध्ये २५ प्रतिशतभन्दा बढी मुद्दा माथिल्लो अदालतबाट उल्टिएर अभियुक्तले सफाइ पाएमा, त्यस्ता न्यायाधीशको वृत्तिविकास रोक्नेगरी जवाफदेही बनाउनुपर्छ । किनभने, गलत अनुसन्धान, अभियोजन र फैसलाले कारागार निर्दोष व्यक्तिले भरिएका छन् । ३८ प्रतिशत थुनुवालाई फैसलाबिना नै जेलमा राख्नु र राज्य आफैंले चलाएका जघन्य अपराधका ५० प्रतिशतभन्दा अधिक मुद्दामा अभियुक्तले सफाइ पाउनुले स्वस्थ न्याय प्रणाली देखाउँदैन । यसले हाम्रो न्याय प्रणाली असफल भइरहेको सन्देश दिइरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर