
काठमाडौं : क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ औषधिको देशभर अभाव भएको छ । विगत एक महिनादेखि यी औषधि बजारमा नपाइँदा सयौं क्यान्सर बिरामीको उपचार प्रभावित भएको चिकित्सकहरूले बताएका छन् ।
फोक्सो, अण्डकोष, अण्डाशय, मूत्राशय, मिर्गौला, पाठेघर तथा टाउको–घाँटीको क्यान्सर उपचारमा प्रयोग हुने यी औषधिको अभावले किमोथेरापी सेवा नै प्रभावित बनेको छ । चिकित्सकहरूका अनुसार यी औषधिको विकल्पसमेत उपलब्ध छैन ।
क्यान्सर रोगसँग संघर्ष गरिरहेका बिरामीका लागि किमोथेरापीको प्रत्येक डोज अत्यन्त महत्वपूर्ण हुने भएकाले उपचारमा केही दिनको ढिलाइले समेत रोग फैलिने जोखिम बढाउने चिकित्सकहरू बताउँछन् । तर बजारमा औषधि अभाव हुँदा बिरामी र चिकित्सक दुवै तनावमा छन् ।
सयौं बिरामीको उपचार प्रभावित
क्यान्सर रोग विशेषज्ञहरूका अनुसार ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ किमोथेरापीमा अत्यधिक प्रयोग हुने औषधि हुन् । ती अभाव हुँदा देशभरका सयौं बिरामीको उपचार प्रक्रिया रोकिएको छ ।
भक्तपुर क्यान्सर अस्पतालका निर्देशक तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. उज्ज्वल चालिसेका अनुसार अस्पतालमा दैनिक १०० भन्दा बढी बिरामीले किमोथेरापी सेवा लिन्छन् । तीमध्ये करिब ५० देखि ६० जनासम्मलाई ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ आवश्यक पर्ने भए पनि हाल औषधि अभावले उपचार व्यवस्थापन गर्न कठिन भएको उनले बताए । उनले भने, ‘दैनिक धेरै बिरामीलाई यी औषधि आवश्यक पर्छन् । तर औषधि नपाउँदा उपचार कसरी गर्ने भन्ने ठुलो समस्या भएको छ ।’
विकल्प नभएको औषधि
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अन्कोलोजी वार्ड प्रमुख डा. गुरुशरण शाहका अनुसार यी औषधि क्यान्सर उपचारका लागि अत्यावश्यक जीवनरक्षक औषधि हुन् । उनले भने, ‘किमोथेरापीमा ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ अत्यन्त आवश्यक पर्छ । तर हाल यी दुवै औषधिको अभाव छ । बिरामीले पाउनुपर्ने उपचार पाएका छैनन् ।’
उनका अनुसार यी औषधिको प्रभावकारी वैकल्पिक औषधि उपलब्ध छैन । समयमै औषधि नपाउँदा क्यान्सरका कोष पुनः सक्रिय हुने, रोग फैलिने र बिरामीको ज्यान जोखिममा पर्ने सम्भावना रहन्छ । डा. शाहले सरकारले औषधि उत्पादक कम्पनीसँग समन्वय गरी आपूर्ति सहज बनाउनुपर्ने बताए ।
आपूर्तिका लागि छलफल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीले करिब एक महिनादेखि ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ अभाव भएको स्वीकार गरे । उनले भने, ‘स्वास्थ्य संस्थाबाट औषधि अभावको जानकारी आएको छ । आपूर्ति सहज बनाउन सम्बन्धित पक्षसँग छलफल भइरहेको छ ।’
उनका अनुसार बजारमा कालोबजारी भएको भन्ने पुष्टि नभए पनि निगरानी बढाइएको छ । भारतबाट औषधि आयात हुने भएकाले आपूर्तिमा समस्या आएको र विश्वव्यापी रूपमा कच्चा पदार्थ अभावका कारण उत्पादन नै प्रभावित भएको जानकारी आएको उनले बताए ।
मूल्य समायोजन नहुँदा समस्या
औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यले कच्चापदार्थ अभावका कारण अन्तर्राष्ट्रिय बजारमै औषधिको मूल्य बढेको बताए । तर नेपाल सरकारले मूल्य समायोजन नगर्दा आयात प्रभावित भएको उनको भनाइ छ ।
उनले भने, ‘विदेशमा औषधिको मूल्य बढेको छ । तर नेपालमा मूल्य नियन्त्रण भएकाले आयात सहज हुन सकेन । भारतमै औषधिको अभाव छ ।’
उनका अनुसार बंगलादेशबाट ८०० भाइल ‘कार्बोप्लाटिन’ ल्याइएको छ । तर आवश्यक परिमाणमा ‘सिस्प्लाटिन’ ल्याउन सम्भावना न्यून छ ।
नेपालमा वार्षिक १२ देखि १५ हजार भाइल ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ खपत हुने गरेको उनले बताए । सरकारसँग अधिकतम तीन सातासम्मका लागि मात्र औषधि व्यवस्थापन गर्न सकिने प्रतिबद्धता गरिएको उनको भनाइ छ ।
के हो ‘कार्बोप्लाटिन’ ?
क्यान्सर रोग विशेषज्ञ डा. गुरुशरण शाहका अनुसार ‘कार्बोप्लाटिन’ क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम–आधारित किमोथेरापी औषधि हो । यसले क्यान्सर कोषको डिएनएमा असर पुर्याएर कोष विभाजन रोक्ने काम गर्छ ।
यो औषधि विशेषगरी फोक्सो, अण्डाशय, डिम्बाशय, टाउको–घाँटी तथा पाठेघरको मुखको क्यान्सर उपचारमा प्रयोग गरिन्छ । औषधि नसामार्फत शरीरमा प्रवाह गरिन्छ ।
के हो ‘सिस्प्लाटिन’?
‘सिस्प्लाटिन’ पनि प्लाटिनम–आधारित किमोथेरापी औषधि हो । यसले क्यान्सर कोशिकाको वृद्धि रोक्दै तिनलाई नष्ट गर्ने काम गर्छ ।
यो औषधि मुख्यतया फोक्सो, अण्डकोष, मूत्राशय, पाठेघर, टाउको–घाँटीलगायत क्यान्सर उपचारमा प्रयोग गरिन्छ । यो पनि नसामार्फत बिरामीलाई दिइने औषधि हो ।