
काठमाडौं : साहित्यकार तथा गीतकार कादम्बरी दाना श्रेष्ठको नयाँ साहित्यिक कृति ‘इमा’ सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंस्थित चलचित्र विकास बोर्ड परिसरमा आयोजित कार्यक्रममा विभिन्न साहित्यिक, सांगीतिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूको सहभागिताबीच कृतिको लोकार्पण गरिएको हो ।
कार्यक्रममा राष्ट्रियसभा सदस्य अञ्जना शाक्य प्रमुख अतिथि रहेकी थिइन् भने इजरायली राजदूत स्मुलिक आरि बासलगायत विभिन्न स्रष्टा तथा कलाकारहरूको उपस्थिति रहेको थियो । अतिथिहरूले संयुक्त रूपमा ‘इमा’ कृतिको लोकार्पण गर्दै लेखिका कादम्बरी दाना श्रेष्ठको सिर्जनात्मक यात्राको प्रशंसा गरेका थिए ।

कार्यक्रममा बोल्दै लेखिका श्रेष्ठले इजरायलमा केयर गिभरका रूपमा काम गर्ने क्रममा भोगेका अनुभव, संघर्ष र आत्मीय सम्बन्धलाई पुस्तकमा समेटिएको बताइन् । उनका अनुसार ‘इमा’ इजरायली शब्द हो, जसको अर्थ नेपालीमा ‘आमा’ हुन्छ । पुस्तकमा वैदेशिक भूमिमा रहेका नेपाली कामदारको भावनात्मक संघर्ष, आमाप्रतिको माया र मानवीय संवेदनाका विविध पक्ष समेटिएका छन् ।
लेखिकाले उक्त कृति आफ्नी दिवंगत रोजगारदाता माया वाइनको स्मृतिमा तयार गरिएको जानकारी पनि दिइन् । लामो समयसँगै बिताएका अनुभव, सम्बन्ध र सम्झनालाई पुस्तकमार्फत शब्दमा उतार्ने प्रयास गरिएको उनको भनाइ थियो ।
प्रमुख अतिथि शाक्यले ‘इमा’ लाई इजरायलमा कार्यरत नेपाली केयर गिभरहरूको साझा अनुभव र संवेदनाको दस्तावेजका रूपमा चित्रण गरिन् । इजरायली राजदूत स्मुलिकले नेपाल–इजरायलबीचको सांस्कृतिक तथा मानवीय सम्बन्धलाई यस्ता कृतिले थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।


