
चुनावी अभियानको यात्रामा
यो पटक म फेरि पुगेँ
बस्तीका गाउँ रुम्टा टोलतिर।
सालपाटा, कुयपानी, डाडिगणे
पहिलो पटक पुगेका ठाउँहरू।
छ वर्षपछि ,
फेरि बस्तीको गाउँमा फर्किएको थिएँ।
बालेबुढा, बुढासैन, बुढाबाडा, बिजाडा, बाडा
बीस वर्षपछि
फेरि छोएको त्यही परिचित भूगोल थियो।
उहिले चौतारीहरू जीवन्त हुन्थे
गाउँको भीड त्यहीँ जुट्थ्यो।
कोही खबर सुनाउँथे,
कोही थकान बिसाउँथे,
कोही बाटो कुरिरहन्थे।
आजभोलि भने
चौतारीहरू मौन छन्
धारा , नाउलाले आफ्नो काम बिर्सिसकेका छन्,
वनहरूमा हावाले मात्र बाटो सोध्छ।
चाइरागाढको छालमा पुग्दा
मयुरको आवाज मात्रै साथमा हुन्छ
सेती लोडेघाट पुग्दा
सबै कुरा झन् सुनसानझैँ लाग्छ।
सेति लोडेको पुल अझै उभिएको छ
पीडित जस्तै मौन।
राइजु परिवारको नरसंहार
र कलु कामीको हत्याको
साक्षी बनेर बसेको छ।
बाउपट्टादेखि चाइरासम्म
अब खरक हरुको छाया पनि छैन।
खरमजुरका फाँटमा
कुरि र बनमारा उम्रिएको छ।
भत्किए कुला, बगाए बाढीले, पानी छैन,
चाइरामा अचेल बोजेरु पनि पाइँदैन,
पाखुराहरू हराए पसिना बगाउने,
फाँटहरूमा उहिले जस्तो अन्न फल्दैन।
चाइरा पारिको फाटमा
कपास अब फुल्दैन,
सिर्फ स्मृतिका धागाहरू
हावामा अल्झिरहन्छन्।
लेखहरूमा अचेल
काफल खानेहरूको लर्को देखिँदैन,
राताम्य हाँगाहरू त उस्तै छन्
तर त्यहा जाने मान्छे छैनन्।
लामा दिनहरूमा
चाइराको त्यो फराकिलो फाँटमा
डम्म खेल्नेहरू पनि
उहिले जस्तो कतै भेटिँदैनन्।
लेकदेखि अवलसम्म
युवा-युवतीका स्वर हराए,
मेर लाग्ने ठाँडीभाका हराए,
वनमा भैँसीको घाँडो पनि बज्दैन,
सिर्फ चराचुरुङ्गी सुनिन्छन्।
आजभोलि सेतीपारि पलचौण जाने
ती पुराना बाटाहरूमा
गमारे ( यात्री) हरू भेटिँदैनन्।
भट्टे, पिठिबान्ना हुँदै मेल्टा, पान्सा,
द्वारिगडासम्म
न हाटको पदचाप छ,
न बम्बई मलबार पस्ने लस्कर।
घरहरू छन्
तर घरहरूले मानिस बिर्सिसकेका छन्।
विद्यालय छन्
तर बाल्यकाल पातलो हुँदै गएको छ।
सालपाटा, कुयपानी, डाडिगढे,
बालेबुढा, बुढासैन, बुढाबाडा,
बिजाडा, लोडेघाट, बाडा
सबैतिर एउटै मौन कथा
रित्तिँदो बस्ती।
परिवर्तन यत्ति भएको रहेछ
उहिले पैदल यात्रा थियो,
आज मोटरसाइकल र गाडी छ।
तर बस्ती गाउँ खाली छ।
रहरले होइन,
बाध्यताले
साङली, कोलापुर, सतारा, पुना, हैदराबादतिर
बगिरहेका छन्
बस्तीभित्रका बस्तीहरू।
बसाइँसराइ र
पलायनको व्यथा
केवल बस्तीको मात्र होइन।
यो त सिङ्गो अछामको साझा घाउ हो,
उजाडिएका छन् आँगनहरू, निभ्दै छन् सपनाहरू,
तर विडम्बना !
यो पहाडको पीडा सुनाउने,
आज कतै कुनै ठाउँ पो छैन !
तर
बस्ती र बस्ती जस्तै
अछामका गाउँहरूको आवाज
कसले सुनिदिने ?
अनि कसलाई सुनाउने ?
सुन्ने
र सुनाउने
दुवैको अभाव छ।
यहाँ अब
सुन्ने र सुनाउने
दुवै लापता छन्।