
काठमाडौं : प्रख्यात वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठद्वारा लिखित गैरआख्यान कृति ‘नेपाल गाथा’ लाई २०८२ सालको ‘उत्तम शान्ति पुरस्कार’ प्रदान गरिने भएको छ ।
‘उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ले वर्षभरि प्रकाशित निबन्ध, संस्मरण, जीवनी, आत्मकथा लगायतका गैरआख्यान कृतिमध्ये उत्कृष्ट एक कृतिलाई २०४४ सालदेखि एक लाख रुपैयाँ राशिको ‘उत्तम शान्ति पुरस्कार’ प्रदान गर्दै आएको छ ।
गुठीका अध्यक्ष डा. पार्थिवेश्वरप्रसाद तिमिल्सिना को अध्यक्षतामा बसेको पुरस्कार चयन समितिले ‘नेपाल गाथा’लाई यस वर्षको पुरस्कारका लागि छनोट गरेको हो । गुठीद्वारा जारी विज्ञप्तिअनुसार उक्त कृतिमा नेपालको विविध संस्कृति, गौरवशाली इतिहास, जातीयता तथा पर्यावरणीय विशेषतालाई रोचक, सरल र प्रवाहपूर्ण शैलीमा प्रस्तुत गरिएको उल्लेख गरिएको छ ।
यसअघि ‘उत्तम शान्ति पुरस्कार’बाट सत्यमोहन जोशी, अम्बर गुरुङ, सरुभक्त, झमक घिमिरे, कर्ण शाक्य, डा. नवराज के.सी लगायतका स्रष्टा सम्मानित भइसकेका छन् ।
पुरस्कार समर्पण कार्यक्रम आगामी जेठ १२ गते मंगलबार आयोजना गरिने जनाइएको छ ।