२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

शिव सर्किटमा महारुद्रेश्वर

Nada
रमेशप्रसाद तिमल्सिना
२०८३ जेठ २ गते ०६:१०
Shares
शिव सर्किटमा महारुद्रेश्वर

नेपाल तपोभूमि हो । यहाँ हरेक क्षेत्रमा आध्यात्मिक स्पन्दन अनुभूत हुन्छ । हिमालको काखमा अवस्थित यस पवित्र भूमिमा भगवान् शिवको अनन्त महिमा युगौंदेखि गुन्जिरहेको छ । आराध्यदेव ‘भोलेनाथ’प्रति नेपाली जनमानसको आस्था केवल पूजाअर्चनामा सीमित छैन, यो जीवनशैली, संस्कार र आत्मिक यात्रासँग गहिरो रूपमा जोडिएको छ । यही भावभूमिमा ‘शिव सर्किट’को अवधारणा सरकारी तवरबाटै तर्जुमा गरिएको छ । बागमती प्रदेश सरकारले अघि सारेको शिव सर्किटको अवधारणासहित बजेट र कार्यक्रमले यसलाई मूर्त रूप दिन्छ ।

ncell

महेश सन्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरिको सत्संकल्पले बागमती प्रदेशभित्रका ६४ सिद्धज्योतिर्लिंग दर्शन र पूजा–आराधनाका लागि पदयात्रा कार्यक्रम अहिले पनि जारी छ । बागमती प्रदेश सरकारले शिव सर्किटको अवधारणा ल्याउनु र धर्मगुरुहरू बृहत् पाशुपत पदयात्रामा निस्कनुले यहाँको शिवमहिमाबारे प्रस्ट्याउँछ । यो यात्रा पर्यटनको योजनासँगै एक दिव्य आध्यात्मिक मार्गको पुनर्जागरण रहेको बृहत् पाशुपत पदयात्राका संयोजक धर्मगुरु कपिल सुवेदीले बताउनुभयो । यहाँको दिव्यभूमिमा पशुपतिलाई केन्द्रमा राखी शिव सर्किट यात्राले भक्तलाई आत्मशुद्धि र परम शान्तितर्फ डोर्‍याउँछ भन्ने विश्वास छ ।

शिव, सृष्टिको आरम्भ र अन्त्यबीचको मौन सत्य हुन् । शिवका जटाबाट बगेकी गंगा मोक्षको प्रतीक हो । उनको त्रिनेत्र चेतनाको जागरण हो । यिनै शिवका विभिन्न रूप र शक्तिको साक्षात्कार गर्न नेपालका विविध शिवधामहरू सदियौंदेखि तपस्वी, योगी र श्रद्धालुहरूको आश्रयस्थल बनेका छन् । तीर्थयात्रीले एक धामबाट अर्को धामतर्फ पाइला चालेसँगै अन्तरात्मासँगको यात्राको अनुभूति गर्छन् ।

मन्दिरै मन्दिरको सहर काठमाडौं र नेपालका सबै क्षेत्र यस्तै यात्राका लागि प्रसिद्ध छन् । यहाँ एक क्षेत्रको मात्रै वर्णनले यात्रा पूरा हुँदैन । तर, यो पशुपतिलाई केन्द्रमा राखेर गरिने शिव सर्किटले धार्मिक पर्यटनसँगै आध्यात्मिक चिन्तन पक्कै बढाउँछ । भगवान् शिवसँग सम्बन्धित मन्दिर देशैभरि छन् । बागमती प्रदेशमा रहेका विभिन्न शिवधामहरू उत्तिकै विशेष र चर्चित छन् । यिनैमध्ये ६४ सिद्धज्योतिर्लिंगलाई आधार मानेर र आराध्यदेव पशुपतिनाथलाई केन्द्रमा राखेर ‘शिव सर्किट’ निर्माण गरी राजधानीवरपरको धार्मिक पर्यटन बढाउनु जरुरी छ । शिव सर्किटबाट स्थानीय अर्थतन्त्र सुदृढ हुने, सांस्कृतिक सम्पदाको संरक्षण हुने र आन्तरिक तथा बाह्य पर्यटकको बसाइ अवधि बढ्ने कुरामा द्विविधा छैन ।

पौराणिक कथनअनुसार देवी सती (सतिदेवी)को शरीर खण्डित भई पृथ्वीका विभिन्न स्थानमा पतन भएपछि शक्तिपीठहरूको स्थापना भएको हो र त्यस वेदनामा डुबेका शिवको ताण्डवले सृष्टिको सन्तुलन नै हल्लिएको थियो । यही घटनाले शक्ति र शिवको अद्वैत सम्बन्धलाई झल्काउँछ । जहाँ शक्ति छ, त्यहाँ शिव छन्, जहाँ शिव छन्, त्यहाँ ऊर्जा र चेतनाको अनन्त प्रवाह छ । यसैले शक्तिपीठ र शिवधामहरूको संयुक्त दर्शनले भक्तलाई केवल पुण्य मात्र होइन, जीवनको गहिरो अर्थ बुझ्ने अवसर प्रदान गर्छ । यो अवसरका लागि शिव सर्किट उपयुक्त हुन सक्छ ।

बागमती प्रदेशका ६४ सिद्धज्योतिर्लिंग

१. कुशेश्वर महादेव, दुम्जा, सिन्धुली, २. भीमेश्वर महादेव, दोलखा, ३. काफीश्वर महादेव, बाह्रबिसे, सिन्धुपाल्चोक, ४. कश्यपेश्वर महादेव, मण्डन, काभ्रेपलाञ्चोक, ५. स्फटिकेश्वर महादेव, फटकशीला, सिन्धुपाल्चोक, ६. चण्डेश्वर महादेव, बनेपा, काभ्रेपलाञ्चोक, ७. धनेश्वर महादेव, बनेपा, काभ्रेपलाञ्चोक, ८. विकटेश्वर महादेव, साँगा, काभ्रेपलाञ्चोक, ९. इन्द्रेश्वर महादेव, पनौती, काभ्रेपलाञ्चोक, १०. भालेश्वर महादेव, रोसी, काभ्रेपलाञ्चोक, ११. गुप्तेश्वर महादेव, भारदेउ, ललितपुर, १२. तिलेश्वर महादेव, लेले, ललितपुर, १३. चम्पकेश्वर महादेव, लेले, ललितपुर, १४. रामेश्वर महादेव, टीकाभैरव, ललितपुर, १५. कालेश्वर महादेव, गोटीखेल, ललितपुर, १६. नटारम्भेश्वर महादेव, ठिंगन, मकवानपुर, १७. उद्दालकेश्वर महादेव, छैमले, काठमाडौं, १८. गोपालेश्वर महादेव, फर्पिङ, काठमाडौं, १९. चम्पेश्वर महादेव, विसखेल, मकवानपुर, २०. उन्मत्तेश्वर महादेव, टिस्टुङ, मकवानपुर, २१. नन्दिकेश्वर महादेव, टिस्टुङ, मकवानपुर, २२. गोखुरेश्वर महादेव, कुन्छाल, मकवानपुर, २३. पाण्डुकेश्वर महादेव, पालुङ, मकवानपुर, २४. कूटेश्वर महादेव, महादेवखर्क, मकवानपुर, २५. असितेश्वर महादेव, अम्लेश्वर, धादिङ, २६. भैरवेश्वर महादेव, देवीघाट, नुवाकोट, २७. ब्रह्मेश्वर महादेव, कविलास, नुवाकोट, २८. कार्तिकेश्वर महादेव, कविलास, नुवाकोट, २९. शतरुद्रेश्वर महादेव, शिवपुरी, काठमाडौं, ३०. काकेश्वर महादेव, गागलफेदी, काठमाडौं, ३१. मणिचूडेश्वर महादेव, मणिचूड पर्वत, काठमाडौं, ३२. योगेश्वर महादेव, बज्रयोगिनी, काठमाडौं, ३३. नारायणेश्वर महादेव, लप्सीफेदी, काठमाडौं, ३४. ज्योतिर्लिंगेश्वर, साँखु, काठमाडौं, ३५. रत्नचूडेश्वर महादेव, नगरकोट, भक्तपुर, ३६. वागीश्वर महादेव, वागीश्वर, भक्तपुर, ३७. कीलेश्वर महादेव, चाँगुनारायण, भक्तपुर, ३८. वाल्मीकेश्वर महादेव, भक्तपुर, ३९. मंगलेश्वर महादेव, उलाछें, भक्तपुर, ४०. विमलेश्वर महादेव, सिपाडोल, भक्तपुर, ४१. अनन्तलिंगेश्वर महादेव, भक्तपुर, ४२. विश्वरूपेश्वर महादेव, भक्तपुर, ४३. सोमेश्वर महादेव, गुण्डुखोला, भक्तपुर, ४४. गोभराटेश्वर महादेव, लुभु, ललितपुर, ४५. भृंगेश्वर महादेव, सुनाकोठी, ललितपुर, ४६. त्रिलिंगेश्वर महादेव, पाटन, ललितपुर, ४७. कुपितेश्वर महादेव, पाटन, ललितपुर, ४८. सर्वेश्वर महादेव, पाटन, ललितपुर, ४९. गोलोकेश्वर महादेव, नैकाप, काठमाडौं, ५०. चन्दनभराटेश्वर महादेव, थानकोट, काठमाडौं, ५१. यक्षेश्वर महादेव, सीतापाइला, काठमाडौं, ५२. चण्डिकेश्वर महादेव, टोखा, काठमाडौं, ५३. धर्मेश्वर महादेव, टोखा, काठमाडौं, ५४. गोकर्णेश्वर महादेव, गोकर्ण, काठमाडौं, ५५. कोटीश्वर महादेव, कोटेश्वर, काठमाडौं, ५६. वाणेश्वर महादेव, बानेश्वर, काठमाडौं, ५७. ज्ञानेश्वर महादेव, ज्ञानेश्वर, काठमाडौं, ५८. पर्वतेश्वर महादेव, पशुपति, काठमाडौं, ५९. जलेश्वर महादेव, पशुपति, काठमाडौं, ६०. गुह्येश्वर महादेव, गुह्येश्वरी, काठमाडौं, ६१. किरातेश्वर महादेव, मृगस्थली, काठमाडौं, ६२. भस्मेश्वर महादेव, पशुपति, काठमाडौं, ६३. भुवनेश्वर महादेव, पशुपति, काठमाडौं, ६४. रुद्रागारेश्वर महादेव, पशुपति, काठमाडौं ।

उल्लिखित ६४ सिद्धज्योतिर्लिंगसँगै ललितपुरको महारुद्रेश्वर, ललितपुरकै सन्तानेश्वर, काठमाडौंका बौडेश्वरलगायत अन्य ठाउँमा रहेका चर्चित मन्दिरहरू उपयुक्त शिवधाम हुन् । यी धामहरू कुनै एकै समयमा निर्माण भएका होइनन् । यिनमा समाहित आस्था, विश्वास र ऊर्जा कालातीत छन् । जब यी सबैलाई एउटै आध्यात्मिक मार्गमा जोडिन्छ, तब ‘शिव सर्किट’को महत्व बढ्न जान्छ । यी धाम धार्मिक यात्रासँगै एक गहिरो साधनाका लागि उपयुक्त क्षेत्र हुन् । यी धाममा प्रत्येक पाइलाले भक्तलाई आत्मबोधको नजिक पुर्‍याउँछ ।

महारुद्रेश्वर महादेवको महिमा

धार्मिक शास्त्रअनुसार कुनै कल्पमा माझखण्डमा देवाधिदेव महादेवले रौद्र रूप धारण गरेका थिए । जसका कारण महादेव रौद्रेश्वर अर्थात् रुद्रेश्वर नामले विराजमान छन् । शास्त्रमा वर्णित दक्ष प्रजापतिको महायज्ञस्थलका यथेष्ट प्रमाण यहाँ छन् । सतीदेवीले पिता दक्ष प्रजापतिको अपमान सहन नसकी यज्ञकुण्डमा प्राण आहुति गरेपछि महादेव यहाँ स्वयं प्रकट भई रौद्ररूप धारण गरेका थिए । यज्ञ विध्वंस गर्दै दक्षको शिर छेदन गरेको शास्त्रमा वर्णित छ । यो त्यही स्थल हो भन्ने स्थलगत अवशेष र शास्त्रीय प्रमाणका तथ्य छन् । त्यसपछि महादेव क्रोधित भई सतीदेवीको मृत शरीर यज्ञकुण्डबाट बोकी पृथ्वी परिक्रमामा हिँडेका थिए ।

यही वर्णनअनुसार नै पुण्यभूमि माझखण्डमा शिव र पार्वतीको जोडा शीला अद्भुत शक्तिपीठको रूपमा विराजमान छन् । साथै शिवपाञ्चायनका साक्षात् रूप एकै शीलामा सँगै छन् । शिव, पार्वती, गणेश, सूर्य र विष्णुका प्राकृतिक शीला एकै स्थलमा विराजमान हुनु दुर्लभ हो । त्यसैले यही ऐतिहासिक र पौराणिक विशिष्टताकै कारणले रुद्रेश्वर मात्रै होइन, महारुद्रेश्वर भनिनुपर्छ भन्ने धार्मिक अध्येताहरूको मत छ । महारुद्रेश्वरको वरिपरि गौरीकुण्ड, ऋषिखल, भद्रकाली गुफा, भैरवस्थान, देवीस्थानजस्ता ऐतिहासिक स्थल हुनु थप दृष्टान्त हो ।

महारुद्रेश्वरमा शिवरात्रिका दिन विशेष आराधना र अनुष्ठानसहित मेला लाग्छ भने हरिबोधिनी एकादशीका दिन पनि परम्परागत रूपमा पौराणिक कालदेखि नै जात्रा लाग्दै आएको छ । लामो समयसम्म वर्षा भएन भने यहाँ आएर पूजा–आराधना गर्दा वर्षा हुने, बालबच्चाको बोली फुटेन भने यहाँ पूजापाठ गर्दा बोली फुट्ने, जंगलमा गाईबस्तु चरनमा लैजाँदा हरायो भने यहाँ पाती चढाउँदा गाईवस्तु घर आउने, अन्य बाधा–विघ्न हट्ने जनविश्वास रहँदै आएको छ । महारुद्रेश्वरको खोज तथा अध्ययन नहुँदा यो ओझेलमा परेको हो । ६४ ज्योतिर्लिंगभन्दा पनि ज्यादै ठुलो शक्तिपीठ र महिमाका रूपमा महारुद्रेश्वर रहेका छन् ।

गौरीकुण्ड महारुद्रेश्वर मन्दिरभन्दा करिब ३ किमि दूरीमा अवस्थित छ । गौरी माताले स्नान गरेको हुनाले नै यो कुण्डको नाम गौरीकुण्ड रहन गएको पौराणिक भनाइ छ । चुवारखोल्सोमा झन्डै दुई सय मिटर अग्लो पहराको चट्टानकै मुखमा कुण्ड निर्मित छ । ठाडो खोल्सोमा वर्षाको समयमा ढुंगा, माटो तथा अन्य जैविक वस्तुले कुण्ड कहिल्यै भरिँदैन । यो कुण्ड भरिएर पानी बग्दा पहरामा सुन्दर झरना निर्मित हुन्छ ।

प्राकृतिक जोडा शीला भएकाले र शिवपाञ्चायन शीला भएकाले यहाँको मन्दिरको चर्चा अरूभन्दा विशिष्ट हुने धर्मगुरु चण्डी पौडेलको कथन छ । त्यसैगरी धर्मगुरु विष्णु पौडेल पनि आध्यात्मिक ऊर्जाले भरिएको माझखण्डको महारुद्रेश्वर साक्षात् शिवको रूप भएको बताउँछन् । महेश सन्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरी माझखण्डमा बृहत् शिवधाम बनाएर शिव सर्किटमा जोड्नुपर्ने बताउँछन् ।

यस दिव्य यात्राको शिखरका रूपमा उभिएको पशुपतिनाथ मन्दिरमा स्वयं शिवको जीवित उपस्थिति अनुभूत हुन्छ । आस्थाको केन्द्र तथा मुख्य धामकै रूपमा विश्वभरका हिन्दुहरू आराध्यदेव पशुपतिको पूजाअर्चनाका लागि आउने गर्छन् । बागमती किनारमा अवस्थित यस धाममा गुन्जिने मन्त्र, धूपको सुगन्ध र आरतीको ज्योतिले हरेक भक्तको मनमा एक प्रकारको अलौकिक शान्ति भरिदिन्छ । यहाँ आइपुग्दा तीर्थयात्रीको यात्राको बाह्य रूप अन्त्य भई अन्तर्मनको गहिराइसम्म पुग्छ ।

शिव सर्किटको विकासले नेपाललाई धार्मिक पर्यटनको नयाँ उचाइमा पुर्‍याउन सक्छ । तर, यसको वास्तविक सार आर्थिक लाभभन्दा पर छ । यो हाम्रो सांस्कृतिक पहिचानको संरक्षण, परम्पराको निरन्तरता र आत्मिक चेतनाको प्रसारसँग सम्बन्धित छ । जब विश्वका विभिन्न कुनाबाट आएका भक्तजनहरूले यस पवित्र मार्गमा यात्रा गर्छन्, उनीहरूले केवल नेपाल देख्दैनन्, उनीहरूले शिवत्वको अनुभूति गर्छन् । बागमती प्रदेश सरकारको पनि अवधारणा रहेको र हिन्दु धर्मगुरुहरूको कर्मले पनि यतैतर्फ डोर्‍याइरहेका कारण शिव सर्किटले मूर्त रूप पाउनेछ । यसरी बनाइएको शिव सर्किट एक यस्तो आध्यात्मिक सेतु बन्न सक्छ, जसले भौतिक संसार र आध्यात्मिक चेतनाबीचको दूरी घटाउँछ । यो यात्रा देवदर्शनसँगै आत्मदर्शन हो । पूजासँगै अनुभूति हो । गन्तव्यसँगै अनन्त यात्राको आरम्भ हो ।

(पत्रकारितामा क्रियाशील तिमल्सिना पर्यटन प्रवर्धनमा पनि सक्रिय छन् ।)

सम्बन्धित खबर