२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

१०० युरोमा पिकासो जित्ने अवसर

Nada
२०८३ वैशाख १ गते १८:३१
Shares
१०० युरोमा पिकासो जित्ने अवसर

काठमाडौंः अल्जाइमर अनुसन्धानका लागि कोष जुटाउने उद्देश्यले फ्रान्समा आयोजना गरिएको एक विशेष राफलमार्फत केवल १०० युरोमा करोडौँ मूल्यको पाब्लो पिकासोको चित्रकला जित्ने अवसर प्रदान गरिएको छ । यसले कला र परोपकारलाई अनौठो ढङ्गले जोडेको छ ।

ncell

मङ्गलबार पेरिसस्थित क्रिस्टीको लिलामी घरमा हुने ड्रबाट एक भाग्यशाली व्यक्तिले करिब १० लाख डलर मूल्यको पिकासोको चित्रकला आफ्नो बनाउन सक्नेछन् । आयोजकहरूले ‘१०० युरोमा एक पिकासो’ नाम दिइएको यो अभियानको तेस्रो संस्करण सञ्चालन गरेका हुन् ।

यसपटक राफलमा राखिएको चित्र ‘हेड अफ अ वुमन’ शीर्षकको हो, जसलाई पिकासोले सन् १९४१ मा कागजमा गौचे माध्यम प्रयोग गरी सिर्जना गरेका थिए । यस अभियानबाट उठ्ने रकम पूर्ण रूपमा अल्जाइमरसम्बन्धी अनुसन्धानमा खर्च गरिनेछ ।

यसअघि सन् २०१३ मा आयोजित पहिलो राफलमा अमेरिकाको पेन्सिलभेनियाका एक व्यक्तिले ‘म्यान इन द ओपेरा ह्याट’ शीर्षकको चित्र जितेका थिए । उक्त चित्र पिकासोको क्युबिस्ट कालखण्ड (सन् १९१४) को प्रतिनिधि कृति हो । त्यसैगरी, सन् २०२० मा आयोजित दोस्रो राफलमा ‘स्टिल लाइफ’ नामक चित्र इटालीकी एक लेखापालकी आमाले जितेकी थिइन्, जुन उनका छोराले क्रिसमस उपहारस्वरूप टिकट किनिदिएका थिए ।

सन् १९२१ मा बनाइएको उक्त ‘स्टिल लाइफ’ चित्र अर्बपति कला सङ्कलक डेभिड नहमादबाट खरिद गरिएको थियो । नहमादले पिकासो जीवित भएको भए यस्ता परोपकारी प्रयोजनका लागि आफ्नो कृति प्रयोग गर्न सहमति जनाउने विश्वास व्यक्त गरेका थिए । पिकासोको सन् १९७३ मा निधन भएको थियो ।

यो राफल अल्जाइमर रिसर्च फाउन्डेसनद्वारा आयोजना गरिएको हो, जुन पेरिसका प्रमुख सार्वजनिक अस्पतालमध्ये एकसँग आबद्ध संस्था हो । सन् २००४ मा स्थापना भएको यो संस्था हाल फ्रान्समा अल्जाइमरसम्बन्धी अनुसन्धानका लागि निजी क्षेत्रबाट सबैभन्दा ठूलो लगानीकर्ता बनेको छ ।

आयोजकहरूले अनलाइन प्लेटफर्ममार्फत टिकट सङ्ख्या एक लाख २० हजारमा सीमित गरेका छन् । सबै टिकट बिक्री भएमा कुल एक करोड २० लाख युरो (करिब एक करोड ४० लाख डलर) सङ्कलन हुने अनुमान गरिएको छ । यसमध्ये १० लाख युरो चित्रको स्वामित्व राख्ने अन्तर्राष्ट्रिय आर्ट डिलरसिप ओपेरा ग्यालरीलाई प्रदान गरिनेछ ।

यसअघि सम्पन्न दुई संस्करणबाट सङ्कलित रकम लेबनानमा सांस्कृतिक कार्यक्रम र अफ्रिकामा पानी तथा सरसफाइ परियोजनामा खर्च गरिएको थियो, जसबाट एक करोड युरोभन्दा बढी रकम उठाइएको आयोजकहरूले जनाएका छन् । कला, भाग्य र सामाजिक उत्तरदायित्वलाई जोड्ने यस अभियानले विश्वभरका सहभागीलाई आकर्षित गरिरहेको छ र सानो लगानीमा ठुलो कृति जित्ने सम्भावनासँगै मानवीय सेवामा योगदान गर्ने अवसर पनि दिएको छ । 

uae

सम्बन्धित खबर