२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

अमेरिका-इरान युद्धविराम : 'आंशिक विजय'का लागि ट्रम्पले चुकाउनपर्‍यो ठुलो मूल्य

'इरानी सभ्यतालाई सधैंका लागि नामेट पारिदिने' जस्तो धम्की आधुनिक अमेरिकी इतिहासमा कुनै पनि राष्ट्रपतिले नदिएको स्तरको उत्तेजक र आपत्तिजनक मानिएको छ

Nada
२०८२ चैत २५ गते १३:२४
Shares
अमेरिका-इरान युद्धविराम : 'आंशिक विजय'का लागि ट्रम्पले चुकाउनपर्‍यो ठुलो मूल्य

काठमाडौं : वासिङ्टनको समय अनुसार मंगलबार साँझ ८ बज्न लागेको थियो । विश्वभर एउटै ढुकढुकी थियो- के अब अमेरिकाले इरानमाथि ठुलो आक्रमण गर्छ ? अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको अन्तिम समयसीमा सकिन मात्र डेढ घण्टा बाँकी छँदा ६:३२ बजे सामाजिक सञ्जालमा एउटा सन्देश सार्वजनिक भयो, जसले तत्कालका लागि युद्धको कालो बादललाई केही मत्थर पारिदियो ।

ncell

ट्रम्पले घोषणा गरे- 'अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम भएको छ र दुवै देश एउटा 'निश्चित' शान्ति सम्झौताको धेरै नजिक पुगेका छन् ।' तर यो सम्झौता जति राहतपूर्ण देखिएको छ, यसले निम्त्याएको राजनीतिक र नैतिक मूल्य भने निकै भारी देखिन्छ ।

यो युद्धविरामले राष्ट्रपति ट्रम्पलाई एउटा खतरनाक छनोटबाट उम्कने बाटो दिएको छ । एकातिर उनले 'एउटा सिंगो सभ्यता आज राति समाप्त हुनेछ' भनी गरेको भीषण आक्रमणको प्रतिज्ञा पूरा गर्नुपर्ने दबाब थियो भने अर्कोतिर युद्ध लम्बिँदै जाँदा आफ्नो विश्वसनीयता गुम्ने डर । दुई हप्ताको यो समयले उनलाई तत्कालका लागि आफ्नो कदम फिर्ता नलिई युद्ध टार्ने मौका दिएको छ ।

ह्वाइट हाउसले यसलाई आफ्नो दबाब दिने क्षमताको सफलता मान्न सक्छ, किनकि ट्रम्पको कडा धम्कीपछि मात्र इरान वार्ताको टेबलमा आएको तर्क गर्न सकिन्छ ।

युद्धविरामको खबर सार्वजनिक हुनेबित्तिकै विश्व बजारमा उत्साह देखियो । केही दिनदेखि आकासिएको तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा तल झर्‍यो र अमेरिकी स्टक फ्युचर्समा उछाल आयो । खस्कँदो लोकप्रियता र महँगो इन्धनका कारण दबाबमा रहेका ट्रम्पका लागि यो एउटा ठुलो आर्थिक राहत हो ।

तर यो 'जित' सँगै ट्रम्पले प्रयोग गरेको भाषाले अमेरिकाको अन्तर्राष्ट्रिय साखमा भने गम्भीर चोट पुर्‍याएको छ । 'इरानी सभ्यतालाई सधैंका लागि नामेट पारिदिने' जस्तो धम्की आधुनिक अमेरिकी इतिहासमा कुनै पनि राष्ट्रपतिले नदिएको स्तरको उत्तेजक र आपत्तिजनक मानिएको छ । एक समय विश्व व्यवस्थाको संरक्षक मानिने राष्ट्रले नै यसरी अन्तर्राष्ट्रिय मर्यादाका सीमाहरू नाघ्दा बाँकी विश्वले अमेरिकालाई हेर्ने दृष्टिकोण सधैंका लागि बदलिएको विश्लेषण गर्न थालिएको छ ।

ट्रम्पको यो शैलीलाई लिएर विपक्षी डेमोक्र्याटहरूले मात्र होइन, उनकै रिपब्लिकन पार्टीका प्रभावशाली नेताहरूले पनि आलोचना गरेका छन् । सिनेट सदस्य लिसा मर्कोस्कीले यसलाई 'बार्गेनिङ चिप'का रूपमा स्वीकार गर्न नसकिने बताइन् भने सिनेटर रोन जोन्सनले आक्रमणको धम्कीलाई 'ठुलो गल्ती' भनेका छन् ।

टेक्ससका रिपब्लिकन सांसद नथनेल मोरनले सामाजिक सञ्जालमा लेखेका छन्, 'एउटा सिंगो सभ्यताको विनाशलाई म समर्थन गर्दिनँ । यो हामी (अमेरिकी) को पहिचान होइन ।'

यो युद्धविराम केवल एउटा अल्पकालीन राहत मात्र हो । इरानले हर्मुज जलसन्धि खोल्ने र सैन्य कारबाही रोक्ने सहमति त जनाएको छ, तर उसले अघि सारेको १० बुँदे योजना, जसमा अमेरिकी सेनाको फिर्ती र युद्धको क्षतिपूर्ति माग गरिएको छ ट्रम्पका लागि स्वीकार गर्न असम्भव जस्तै छ ।

इरानको सैन्य क्षमतामा क्षति पुगेको र धेरै नेताहरू मारिएको दाबी गरिए पनि उसको परमाणु कार्यक्रम (युरेनियमको अवस्था) र क्षेत्रीय प्रोक्सी समूहहरूमाथिको प्रभाव अझै कायमै छ । पाकिस्तानको मध्यस्थतामा भएको यो 'कमजोर' युद्धविरामले दुई हप्ताभित्र कुनै ठोस नतिजा देला वा यो अर्को एउटा ठुलो विष्फोटअघिको सन्नाटा मात्र हो ? विश्वको ध्यान अब ती दुई साताको वार्तामा केन्द्रित छ ।

uae

सम्बन्धित खबर