
एजेन्सी : अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै मंगलबार राति 'एउटा पूरै सभ्यताको अन्त्य हुन लागेको' बताएका छन् । ट्रम्पले इरानलाई सम्झौताका लागि वासिङ्टन समय अनुसार मंगलबार राति ८ बजेसम्मको अन्तिम समय सीमा दिएका छन् ।
आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल'मा पोस्ट गर्दै ट्रम्पले लेखेका छन्, 'एउटा पूरै सभ्यताको आज राति समाप्त हुनेछ र त्यो फेरि कहिल्यै फर्किएर आउने छैन । म यस्तो होस् भन्ने चाहन्न तर सायद यस्तो हुन सक्छ ।' उनले ४७ वर्षदेखिको जबरजस्ती असुली, भ्रष्टाचार र मृत्युको युग अब समाप्त हुने दाबी गर्दै यसलाई इतिहासकै सबैभन्दा महत्त्वपूर्ण क्षणमध्येको एक बताएका छन् ।
ट्रम्पको सम्झौताको मुख्य सर्त इरानले 'स्ट्रेट अफ हर्मोज' खोल्नुपर्ने रहेको छ, जहाँबाट विश्वभरको कुल तेल आपूर्तिको २० प्रतिशत हिस्सा ओसारपसार हुने गर्दछ । ट्रम्पले इरानलाई एकै रातमा समाप्त गर्न सकिने चेतावनी दिँदै यदि तोकिएको समयभित्र सम्झौता नभएमा कारबाही सुरु हुने संकेत दिएका छन् ।
अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले पनि अब 'बल इरानको कोर्टमा' रहेको बताएका छन् । उनले इरानबाट सकारात्मक वा नकारात्मक जस्तो सुकै जवाफ आए पनि निर्धारित समयसम्ममा प्राप्त हुने र आफूहरू तेल र ग्यासको सहज आपूर्ति हुने संसारको पक्षमा रहेको स्पष्ट पारेका छन् ।
इरानले ट्रम्पको पछिल्लो 'सभ्यताको अन्त्य' सम्बन्धी बयानमा सिधै कुनै प्रतिक्रिया दिएको छैन । तर इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले एक नयाँ विज्ञप्ति जारी गर्दै अहिलेसम्म आफूहरूले 'काफी संयम' देखाएको उल्लेख गरेको छ ।
इस्लामिक रिभोलुसनरीले चेतावनी दिँदै भनेको छ, 'अबदेखि यस्ता सबै कुराहरूलाई किनारा लगाइनेछ ।' यदि अमेरिकी सेनाले 'सीमा रेखा' पार गरेमा इरानको जवाफ उक्त क्षेत्रभन्दा बाहिरसम्म पुग्ने र अमेरिका तथा उसका सहयोगीहरूको पूर्वाधारलाई निशाना बनाइने उनीहरूको भनाइ छ । इरानले तेल र ग्यासको आपूर्तिलाई धेरै वर्षसम्म अवरुद्ध पारिदिने धम्की समेत दिएको छ ।
वासिङ्टनमा मंगलबार राति ८ बजे (नेपाली समय अनुसार बुधबार बिहान ५:४५ बजे) यो डेडलाइन समाप्त हुँदैछ । यस प्रेस कन्फरेन्समा ट्रम्पसँगै अमेरिकी रक्षा मन्त्री पीट हेगसेथ र जोइन्ट चिफ अफ स्टाफका अध्यक्ष जनरल डन केन पनि सहभागी थिए ।