२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

तमिलनाडुमा बाबु-छोराको हिरासतमा मृत्यु : ९ प्रहरीलाई मृत्युदण्डको सजाय

Nada
२०८२ चैत २४ गते १४:५२
Shares
तमिलनाडुमा बाबु-छोराको हिरासतमा मृत्यु : ९ प्रहरीलाई मृत्युदण्डको सजाय

एजेन्सी : सन् २०२० को कोरोना महामारीका बेला पक्राउ परेका एक व्यापारी र उनका छोराको प्रहरी हिरासतमा भएको मृत्यु प्रकरणमा भारतको मदुरैस्थित एक अदालतले ९ जना प्रहरी अधिकारीलाई मृत्युदण्डको सजाय सुनाएको छ । ६ अप्रिल मा सुनाइएको यस फैसलामा अदालतले अभियुक्तहरूलाई 'दोहोरो मृत्युदण्ड'का साथै भारी जरिवाना समेत तोकेको छ ।

ncell

तमिलनाडुको तुतीकोरिन जिल्लास्थित सातानुकुलमका व्यापारी जयराज र उनका छोरा बेनिक्सलाई १९ जुन २०२० मा कोरोना कालमा लकडाउनको नियम उल्लंघन गरी आफ्नो मोबाइल पसल खोलेको आरोपमा प्रहरीले हिरासतमा लिएको थियो । हिरासतमा उनीहरूलाई प्रहरीले निर्घात कुटपिट गरेको थियो । गम्भीर कुटपिटका कारण २२ जुनको राति छोरा बेनिक्स र २३ जुनको बिहान बुबा जयराजको कोविलपट्टी जेलमा मृत्यु भएको थियो ।

यो घटनाले भारतभर ठुलो आक्रोश पैदा गरेको थियो, जसका कारण मद्रास उच्च अदालतले आफैंले चासो देखाउँदै प्रतिवेदन मागेको थियो र पछि यो मुद्दा सिबिआईलाई सुम्पिएको थियो । सिबिआईले यस मामिलामा २ हजार ४ सय २७ पानाको आरोपपत्र पेस गरेको थियो ।

मदुरैको पहिलो अतिरिक्त सेसन कोर्टका न्यायाधीश मुथुकुमारनले फैसला सुनाउनुअघि घटनाको कडा शब्दमा निन्दा गरेका छन् । उनले यसलाई 'मानवीय गरिमाको पूर्ण उल्लंघन'को संज्ञा दिएका छन् ।

अदालतले पीडित परिवारको पीडालाई सम्बोधन गर्दै भनेको छ, 'एउटा परिवार उजाडिएको छ । बेनिक्सकी आमाको दुःख कसैले कम गर्न सक्दैन । उनीहरूका लागि आजीवन कारावास पनि पर्याप्त हुने छैन ।' न्यायाधीशले यो एक दुर्लभ मामिला भएको र यस्ता घटना दोहोरिन नहुने आशा समेत व्यक्त गरे ।

मुख्य अभियुक्त सातानुकुलम थानाका तत्कालीन इन्स्पेक्टर श्रीधरसहित ९ जनालाई दोहोरो फाँसीको सजाय सुनाइएको छ । अदालतले इन्स्पेक्टर श्रीधरलाई २४.१० लाख रुपैयाँ, सहायक निरीक्षक बालकृष्णनलाई १६.८० लाख रुपैयाँ तथा अन्य सात प्रहरी (रघुगणेश, मुरुगन, सामदुरई, मुथुराजा, सेल्लादुरई, थोमस फ्रान्सिस र वेलुमुथु)लाई दोहोरो मृत्युदण्ड र विभिन्न दरको जरिवाना तोकेको छ । यस मामिलाका १०औं अभियुक्त पालदुरईको भने सन् २०२० मै कोभिडका कारण मृत्यु भइसकेको थियो ।

फैसलापछि बेनिक्सकी बहिनीले सञ्चारकर्मीसँग कुरा गर्दै भनिन्, '६ वर्षपछि अन्ततः हामीले न्याय पायौं । यो हाम्रो परिवारका लागि मात्र होइन, आम जनताका लागि पनि न्याय हो ।' उनले दोषीहरूले पुनरावेदन गरेमा आफूहरू अन्तिम साससम्म लड्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

uae

सम्बन्धित खबर