२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

मध्यपूर्वमा आक्रमण गर्नु इरानको गलत निर्णय : कतारी प्रधानमन्त्री थानी

Nada
तिलु शर्मा पौडेल
२०८२ फागुन २६ गते १४:५२
Shares
मध्यपूर्वमा आक्रमण गर्नु इरानको गलत निर्णय : कतारी प्रधानमन्त्री थानी

दोहा, कतार : कतारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सेख मोहम्मद बिन अब्दुल रहमान बिन जासिम अल थानीले खाडी देशहरूमा आक्रमण गर्नु इरानको “गलत निर्णय” भएको बताउँदै कडा निन्दा गरेका छन् । एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री थानीले आक्रमणलाई विश्वासघातको संज्ञा दिँदै सबै पक्ष मिलेर वर्तमान संकटलाई समाधान गर्नुपर्ने दिशामा अघि बढ्नुपर्ने बताएका छन् ।

ncell

प्रधानमन्त्री थानीले कतार अहिले “धेरै कठिन समय”बाट गुज्रिरहेको बताउँदै देशमाथि पटक-पटक मिसाइल र ड्रोन आक्रमण भएको बताए । उनले कतारका सुरक्षा तथा रक्षा बलहरूको कार्यसम्पादनको प्रशंसा पनि गरेका छन् । प्रधानमन्त्रीका अनुसार युद्ध सुरु भएको एक घण्टाभित्रै कतार र अन्य खाडी देशहरूमा आक्रमण भएको बताउँदै कतार छिमेकी देशहरूविरुद्ध हुने कुनै युद्धमा सहभागी नहुने स्पष्ट पारे ।

“यो ठुलो विश्वासघात जस्तो लाग्यो, युद्ध सुरु भएको एक घण्टामै कतार र अन्य खाडी देशहरूमा आक्रमण भयो,” प्रधानमन्त्री थानीले भनेका छन् । उनले कतारको लामो समयदेखि इरानसँग राम्रो सम्बन्ध कायम राख्ने प्रयास गर्दै आएको पनि बताए । “हामीले सधैं इरानसँग राम्रो सम्बन्ध कायम राख्ने प्रयास गरेका थियौं, तर उनीहरूले दिएको "कारण र बहाना" पूर्ण रूपमा अस्वीकार्य छन् ।” प्रधानमन्त्रीले यो संकट सैन्य कारबाही बढाएर समाधान नहुने पनि स्पष्ट पारे ।

प्रधानमन्त्री थानीले इरानले सैन्य इलाकामा मात्र नभई नागरिक पूर्वाधार, ऊर्जा केन्द्र, औद्योगिक क्षेत्र र खानेपानी प्रणालीमा समेत आक्रमण गर्दा संरचनामा क्षति पुर्‍याएको बताए । कतारले विश्वको कुल २० प्रतिशत ऊर्जा आपूर्ति गर्दछ । आक्रमणले गर्दा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा प्रभाव परेको छ । कतार विश्वको दोस्रो ठुलो युरिया (मल) उत्पादक हो । यसले विश्वको कृषि र खाद्य सुरक्षामा जोखिम निम्त्याएको बताउँदै थानीले चिकित्सा उपकरणका लागि अति आवश्यक पर्ने हिलियम कतारले  ३५ प्रतिशत उत्पादन गर्ने हुँदा विश्वको स्वास्थ्य क्षेत्रमा पारेको असर प्रति चिन्ता व्यक्त गरे । खाडी क्षेत्र विश्वको प्रमुख ट्रान्जिट हब भएको र वार्षिक ३५-३६ करोड यात्रुहरूको आवागमन हुने यस क्षेत्रमा भएको आक्रमणका कारण पनि उडान प्रभावित भएको स्पष्ट पारे ।

इरानी राष्ट्रपतिले आक्रमण रोक्ने आश्वासन दिएको १० मिनेटमै पुनः आक्रमण हुनुले "विश्वासको वातावरण" गम्भीर रूपमा बिग्रिए पनि इरान छिमेकी राष्ट्र भएकाले समस्या कूटनीतिक संवादबाटै समाधान गर्नुपर्ने बताउँदै अमेरिकालाई पनि क्षेत्रीय समस्या समाधान  गर्न सहयोग गर्न आह्वान गरेका छन् । उनका अनुसार अहिलेको द्वन्द्वले पूरै मध्यपूर्व क्षेत्रमा ठुलो युद्ध फैलिन सक्ने जोखिम बढाएको बताउँदै चिन्ता व्यक्त गरे । प्रधानमन्त्री थानीले खाडी देशहरूमा आक्रमण गर्नु इरानको गलत निर्णय भएको दोहोराउँदै यसले असहजता बढाएको स्पष्ट पार्दै पुनः वार्ता सुरु गर्नु अत्यन्त आवश्यक रहेको बताए ।

uae

सम्बन्धित खबर